आजसम्म पनि म खुसी छु । कोरोनाले धेरै समय घरमा कोचिएर बस्नु पर्दा दिक्क लागेको थियो । अस्ति २०७७ साल माघ अन्तिम साता मेरो स्कुलबाट हामीलाई घुम्नका लागि काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज नजिकै रहेको सूर्य चौरमा लगियो । मसंगै कक्षा ३ देखि ७ कक्षासम्मका हामी विद्यार्थी र शिक्षक गरी ८० जना थियौं । स्कुलका गुरुआमा र गुरुवाहरु पनि जानु भएकाले घुमघाम रमाइलो भएको थियो ।
हाम्रो स्कुल बालाजुबाट सूर्यचौर जान एक घन्टाको गाडी यात्रा र त्यस्तै दुई घन्टा जति पैदल यात्रा गरेपछि पुगिँदो रहेछ । हामी विहान ९ बजे नै स्कुलबाट गाडी चड्यौं । दुई तीनवटा गाडी लस्करै अघि बढे । गाडीबाट ओर्लिएपछि हामी निकैवेर हिड्यौं । बाटो कतै उकालो त कतै सिंढी चड्नु पर्ने थियो । हामी सूर्य चौर पुग्दा दिनको १२ बजिसकेको थियो ।
हामीले खानका लागि घरबाटै खानेकुराहरु लगेका थियौं । सूर्य चौरको डाडाबाट काठमाडौं वरपरिका क्षेत्रहरु गज्जवले देखिँदो रहेछ । अनि उत्तरतर्फको सेताम्मे हिमाल पनि मजाले देख्न पाइयो । मनै आनन्द आउने सुन्दर हिमाल हेर्न पाउँदा रमाइलो लाग्यो । हिमाल हेर्दै र सूर्य चौर घुम्दै हामीले खाने कुराहरु खायौं । निकैवेर रमाइलो गरेपछि फर्किने वेलामा अलिअलि हिउँ पनि परेको थियो । जाडो भएपनि हिउँ पर्दाको अर्कै रमाइलो भयो । वेलुकी घर आइपुग्दा ४ बजिसकेको थियो । दिनभरि त रमाइलो भयो, केही थाहा पाइनँ तर वेलुका चाल पाएँ निकै थाकेछु । जे भएपनि मलाई यो यात्राको रमाइलो पछिसम्म पनि याद आइरहने छ ।
कक्षा –३
बालबाटिका इन्टरनेशनल स्कुल