दिव्य आह्वान मेरो

कविता

छोडौं इच्छा अब दिनदिनै देश छोडेर जाने

यै माटोमा श्रम दिन सके फल्छ अमृत खाने

फालौं हामी सब जन मिली देश डस्ने अँधेरो

हाम्रा प्यारा नवयुवकमा दिव्य आह्वान मेरो॥१

 

इच्छा जागेपछि सब कुरा मिल्छ नेपाल भित्र

पाई दातापन प्रकृतिको सौम्य शोभा विचित्र

यो माटोमा नव रङ भरौँ सज्न पाखा पखेरो

हाम्रा प्यारा नवयुवकमा दिव्य आह्वान मेरो॥२

 

केही गर्ने मनसुव भए यत्नले खुल्छ बाटो

शिल्पी भर्दा श्रम कुशलले बन्छ पाषाण माटो

कर्मैले हो मनुज सबमा भाग्यले मार्छ फेरो

हाम्रा प्यारा नवयुवकमा दिव्य आह्वान मेरो॥३

 

माटो हाम्रो श्रम र पसिना मात्र रोजी रहेछ

नेपालीको दिल बिच सदा फुल्न खोजी रहेछ

उद्योगी भै सब जन जुटौं पूर्व खुल्दैछ फेरो

हाम्रा प्यारा नवयुवकमा दिव्य आह्वान मेरो॥४

 

धर्ती हाम्रो बहुत मलिलो अन्न बेजोड फल्ने

गाई बाख्रा घरघर भरे जिन्दगी नै बदल्ने

मोती झुल्ने रुख छ फलको दूध मिल्ने पँधेरो

हाम्रा प्यारा नवयुवकमा दिव्य आह्वान मेरो॥५

 

भ्रष्टाचारी जति दिनदिनै फैलिए हाल्न बाधा

रित्तोपारे मुलुक ऋणमा होमिए लोक ज्यादा

घाती पापीकन दिन सकौँ दण्ड हालेर घेरो

हाम्रा प्यारा नवयुवकमा दिव्य आह्वान मेरो॥६

(छन्द: मन्दाक्रान्ता)

Facebook Comments
ramsharan
Comments (0)
Add Comment