बडो दुःखले आर्जिएको छ जेथा
खपेका अनेकौं थियौं पीर बेथा
उठेका निकै नै थिए धेर ठेला
गरेका सबै काम धन्दा र मेला ।१
पहाडी गरामा सधैं खोस्र माटो
उकाला र ठाडा सधैं हिँड्न बाटो
समस्या सधैं चाङ पर्दै खडा छन्
हिजोआज भोग्छौं निकै नै कडा झन् ।२
कविता
भयो देह यो शुष्क झन् आजभोलि
तिमी निम्ति सुक्का बनायौं परेली
वृथा ज्यानको ताडना पो गरेछौँ
अरूकै बनेको छ बेकार भा छौँ ।३
सिँडी उक्लनै पर्छ गाह्राे असाध्यै
कटी कट्कटी गर्छ जाने परानै
म पानी पुगाऊँ उकालो छ ठाडै
निकै नै छ पीडा दुखेको छ ढाडै ।४
बिहानै नुहाएर पानी न बोकी
कहाँ बन्छ खाना म आफैं न जोती
र भान्सा उतार्ने सबै बन्द बस्त
खुदै गर्नु पर्ने सबै सुत्न मस्त ।५
भए म्लेच्छ जस्तै सबै सर्बहारी
जुनै खाद्य खान्छन् न केही विचारी
बुहारी बनेकी सबैकी पियारी
यता भात भान्सा म गर्दै छु फेरि ।६
न गर्छन् कुनै रीत संस्कार निष्ठा
न राख्छन् कतै इज्जतादि प्रतिष्ठा
विकासे जमाना भने दौडिएर
सबै झोलका मोलमा पौडिएर ।७
कुनै जात भातै भनी गर्छ खेदो
कुनै जाँच्न थाल्छन् यही हो हलेदो
म दोधारमा खै निकै दुःख पाएँ
अहो धान्न गाह्रो बडा कष्ट पाएँ ।८
सबै जात औ धर्म एकै म मान्छु
सबै साथ जाऊँ मिली लौ न भन्छु
कहाँ हुन्छ यस्तो भनी भाग्छ कोही
हुनैपर्छ भन्दै अडेको छ कोही ।९
बहाना यिनै भातका जातका छन्
यिनै नै समस्या निकै नै कडा झन्
म बाटो समाऊँ कता कौन फेरो
त्यसैले बुढ्याइँ दुखेको छ मेरो ।१०
कुनै काममा साथ दिन्नन् बुहारी
भने देखि चल्ने छ गाली जुहारी
पकायो खुवायो मिठो छैन भन्छन्
उता बाहिरै टन्न खाएर फिर्छन् ।११
म आफ्नो कुरा राख्न सक्ने कहाँ छु
समस्या सयौं चाङमा छन् खडा छु
सबै थात बासै दिँदा नाम तिम्रो
न बस्ने न छोड्ने भयो हाल हाम्रो ।१२
(७० वर्षीया पन्डितनी बज्यैको गुनासो )
Facebook Comments