मिलेन दक्ष सारथी

ढलेर देशको मियो हुँदैछ ताडना अति
समर्थवान छैन क्वै गरेर लोकसम्मति
चुनावबाट तोकिने भए रथी अदक्ष ती
उतार्न देश कक्षमा मिलेन दक्ष सारथि॥१

 

कविता

रामशरण नयौपाने
गराउँछन् ठुला बडा अदम्य देशकै खती
पुरिन्न घाउ साँधको दुखीरहन्छ है अति
रुँदारुँदै निदाउँछन् व्यथा पिएर आर्त ती
भएन देश फक्रिने विशिष्ट उच्च पद्धति॥२

 

परीरहन्छ लोकले सदैव भोग्न सासना
जताततै छ भ्रष्टको दलालको प्रताडना
गरेर दोहनै लुटे फसी अक्षेम्य लोभमा
बनेन मूर्खको हरे! अचूक ओखती यहाँ॥३

 

अपार स्रोत देशको पुगेन लोक माझमा
मुना मुना घिचीसके किरा पसेर गाँजमा
हिजो विकार जे थियो सुधारिएन आजमा
गरीब भासिदै गए चुलो बलेन साँझमा॥४

 

लुटेर खान तम्सिए भँडारमा पुगे जति
भएन बाँडफाँड यो समान स्रोतको रती
बगीरहेछ रक्तको र आँसुको सधैँ नदी
बनेन देशमा अझै सुधारको महौषधि॥५

छन्द: पञ्चचामर

Facebook Comments
ramsharan
Comments (0)
Add Comment