अब राम जपेर दिन बित्छ हरि !

बुढ्यौली कविता (शृङ्खला -१६)

भवको जलधी छ निकै गहिरो

भुमरी अझ पर्न यता सुरु भो

अभिलाष सधैं अझ बढ्छ निकै

सुखमा म रमौँ मन खोज्छ सधैं ।१

 

अघि बालक काल थियो रसिलो

तब खेल गरेर पला बितिगो

जननीसित माग गरेर लिँदा

सँगका सब साथ बसी गफिँदा ।२

 

कविता

घनश्याम रेग्मी

घर गोठ जता पनि खेल हुने

गर काम भने पछि छेल हुने

कति जुक्ति झिकी तन खेल्न जुटे

मुटुमा घटमा धुन शान्त थिए ।३

 

जब बढ्न पुगें मन पढ्न थियो

कति दूर हरे शिव सो स्कुल हो

घरमा रुपिया धन छैन जहाँ

पढ लेख भयो सब दूर तहाँ ।४

 

न पढाइ भयो न त सीप भयो

घर धान्न अहो तब दुःख भयो

परदेश गएँ घरदेश छुटे

अनि खेलकुदी कति तार चुटे।५

 

कति वर्ष उतै दुखमा म लुकेँ

पर कर्म गरेँ घर बन्न चुकेँ

तनमा जबसम्म थियोे बल जो

परदेश बसी सब काम भयो ।६

 

पहरा बसियो कति साल उता

परका घरमा पशु हेर्न जता

कति स्याउ ढुवान र बाकस रे

घर होटल थाल छ माज्न हरे ।७

 

कपडा गहना र रुमाल किनेँ

टिनका कति बाकस साथ फिरेँ

घर फर्कन लाग्छ निकै मनमा

धन डुल्छ उता अझ यै मनमा।८

 

ल बहादुर भन्छ खुसी छ भने

रिसमा घर जा अझ भन्छ मने

जति काम गरे जस छैन उता

घर छाउन खै जन छैन यता ।९

 

कति वर्ष बसेर फिरें घरमा

दुलही पनि खोज गरेँ पुरमा

अलि वर्ष सँगै दुलही रहदा

तर फूल खिलेन कतै कुटिमा ।१०

 

अघि भारतमा बलराम भयो

जिमिदार कुनै शिवराम थियो

घरमा जुन बस्दछ नाम दिए

बरु लुक्न खुदै कहिँ अन्त गए ।११

 

शिवराम कृपा छ हराम मुली

नश बन्द चल्यो अनिवार्य भनी

बलराम फसाइन गो बिचरा

गरिबै पिसिने नियमै छ यता।१२

 

अब दिन्न कसै कन दुःख भनी

तबदेखि विदा छ तँ जा ल भनि

परदेश हिडें बलराम यता

पर साथ गइन् गृहकि ललिता ।१३

 

अलि वर्ष पुनः परदेश बसी

अब छैन कुनै बल बाहु बसी

घर जा तँ भनी शिवराम फुके

घर फर्किइ फेरि बसेँ म झुकेँ ।१४

 

घर भाइ थियो कति मान दियो

सुन फूल फुलेसरि जून थियो

कलिला चिचिला प्रिय छन् घरमा

घर गोठ भरी सब छन् दुहुना ।१५

 

अलि घाँस र पात दियो वनको

अभिभावक ता बलराम भयो

दिन धेर बिते वन पात गरी

मनमा अझ खै छ कि छैन हरि ?१६

 

अब छैन हरे मन चैन किन

दिन छैन अरे अब छेल हुन

कति रक्त थियो तनमा छ कता

सब देह भयो अब ता जड हा ।१७

 

कर कर्कर गर्छ दुखेर यता

पद चल्न पनि अब हुन्छ ढिला

सब दाँत गए टुहुरो रसना

छ कडा रसदै छ कडा डसना ।१८

 

जननी र बुवा सब जानुभयो

प्रिय बन्धु हिँडे सुनसान भयो

पहिले बलराम सुखी कि थियो

तन बृद्ध भयो मन खिन्न भयो ।१९

 

न त सन्तति छन् घरबार कुनै

न त मोह मुलाहिज बन्धन नै

न त नेत्र र कर्ण रहे सबल

अब भोक खटी बलराम ढल ।२०

 

कति भार उठाउन सक्छ भनी

लिइ घाँस र काठ दगुर्न पनि

बलराम थियो बलराम सरि

अब राम जपेर दिन बित्छ हरि !२१

 

(भारतमा रोजगारी गर्न जाँदा इन्दिरा अभियानमा फसाइएका बृद्ध एकल पुरुषको जीवनीमा आधारित )

छन्द :- तोटक

Facebook Comments
GhanaShyam
Comments (0)
Add Comment