भेडी-गोठ

छन्द: शार्दूलविक्रीडित

मान्छेभित्र पसेन चेत जहिले खाएर धोका पनि

पैसाको पछि दौडिए सब जना भेडा र बाख्रा बनी

देखी घाँस समान नोट हरियो छोपिदिँदा र्‍यालले

भेडी-गोठ हुँदै गयो मुलक यो धावा दिने स्यालले॥१

 

कविता

रामशरण नयौपाने

ज्ञानी योग्य हटे अटेन पदमा समृद्धशाली कुनै

नातेदार पुगे विशिष्ट पदमा लौ काँध हाली उनै

छैनन् उत्तम शृङ्खला प्रगतिको गुज्रेर बेहालले

भेडी-गोठ हुँदै गयो मुलक यो धावा दिने स्यालले॥२

 

ज्ञानीको गुणको भएन महिमा बिर्सेर उल्कै गरे

मालामाल भएर फैलिन पुगे पापी र झेली अरे

जाने हो कतिसम्म खै तलतलै भासेर बेतालले

भेडी-गोठ हुँदै गयो मुलक यो धावा दिने स्यालले॥३

 

खोज्नैपर्छ सबै जुटेर अब ता यो रोगको ओखती

रोगीतुल्य भयो समाज सहसा बिग्रेर साह्रै गति

जालीका छलमा परे मनुज हा! बेर्दै गयो जालले

भेडी-गोठ हुँदै गयो मुलक यो धावा दिने स्यालले॥४

 

गर्दा आपसको सधैँ कलहले नासिन्छ आस्था बरु

चाहन्छन् सब गर्न दक्खल यहाँ आई विदेशी अरु

के फैलिन्छ र राष्ट्र गौरव बसे नामर्दको चालले

भेडी-गोठ हुँदै गयो मुलक यो धावादिने स्यालले॥५

 

नेपालीबिच ज्ञानको विषयको प्रारूप आयो ढिलो

सारा वैभव वज्र-स्वाँठहरुको पेवा भयो यो बिलो

यो नेपाल दिगो हुँदैन सहसा बस्दा यसै ख्यालले

भेडी-गोठ हुँदै गयो मुलक यो धावा दिने स्यालले॥६

Facebook Comments
ramsharan
Comments (0)
Add Comment