चुनाव आयो रे !

व्यङ्ग्य
अब चुनाव हुन्छ रे, नेताले धन झिक्छ  रे 
मासु–भात रक्सी अब खान दिन्छ रे 
मेरो गाउँ–घरमा अब नेता आउछ रे 
हल्ला खुबै चलेको छ चुनाव हुन्छ रे !

चट्याङ–प्रहार

चट्याङमास्टर

 

मलाई पनि नेताले अब भने चिन्छ रे 
जे मागे नि हुन्छ भन्दै दिन्छु भन्छ  रे 
हामीसँग नेताले मिठो भाषा बोल्छ रे 
मुस्काउँदै हात जोडी भोट माग्छ रे !

 

गाउँका ती गुण्डालाई पैसा पनि दिन्छ रे 
गाउँमा लौ स्कुल, कलेज, बाटो खुल्छ रे 
रेल पनि आउँछ रे, एयरपोर्ट नि बन्छ रे
गाउँ घरका सप्पैलाई जागिर मिल्छ  रे !

 

गाउँ सहर बन्छ रे,अस्पताल नि खुल्छ रे 
खानापिना औषधी सब सित्तै हुन्छ रे 
नेताजी ले गाउँमा अझ केके ल्याउँछ रे 
सुती बसे पनि घरमा पैसा आउछ रे !

 

तिर्न पनि नपर्ने त्यस्तो ऋण दिन्छ रे 
पढ्न पनि नपरी सबै पास हुन्छ रे 
ठिटाठिटी सबैको बिहे गराइदिन्छ रे 
गाई–भैंसी, भेडा–बाख्रा सप्पै ब्याउँछ रे !

 

नेताजीको समर्थनमा जुलुस जानु पर्छ रे 
नेताजीका विरोधीलाई कुट्नु पर्छ रे 
धनी सबको श्रीसम्पत्ति हाम्रो हुन्छ रे
समर्थनमा मर्ने सिँधै स्वर्गै जान्छ रे !!
Facebook Comments
chatyang
Comments (0)
Add Comment