विश्व इतिहासमा पहिलोपल्ट रेडियो प्रसारण आजैका दिन अर्थात् डिसेम्बर २४ मा भएको थियो । इतिहासलाई सम्झने र रेडियो प्रसारण गर्ने पहिलो व्यक्तिलाई सम्मान गर्ने अर्थमा आज विश्व रेडियो दिवस मनाइनुपर्ने थियो । तर हामी रेडियो दिवस डिसेम्बर २४ को सट्टामा फेब्रुअरी १३ मा मनाइरहेका छौँ । त्यो पनि राष्ट्रसंघको अगुवाइमा सन् २०१२ देखि फेब्रुअरी १३ लाई विश्व रेडियो दिवस मनाइरहेका छौँ । आज डिसेम्बर २४ तारिखका दिन, पहिलोपल्ट वास्तविक रेडियो प्रसारण गरेका ऐतिहासिक व्यक्तित्व रेजिनाल्ड फेस्सेन्डेनलाई सम्झिरहँदा उनैको सम्मान र सम्झनामा रेडियो दिवस मनाउने प्रस्ताव युनेस्कोले राखेको भए के हुन्थ्यो होला भन्ने जिज्ञासा मेरा मनमा खेलिरहेको छ। फेब्रुअरी १३ मा रेडियो दिवस मनाउँदा पनि मेरा मनमा यी कुरा आउने गर्छन् । आज सन्दर्भ परेका दिन फेस्सेन्डेनलाई सम्झँदै गर्दा कतै राष्ट्रसंघको रेडियो दिवसले उनलाई र इतिहासलाई अन्याय त गरेन भन्ने प्रश्न पनि उठ्ने गर्छ ।
क्यानाडाबाट अमेरिका बसाइ सरेका इन्जिनियर रेजिनाल्ड फेस्सेन्डेनले सन् १९०६ मा क्रिसमसको अघिल्लो बेलुका डिसेम्बर २४ मा पहिलोपल्ट करिब एक घण्टाको कार्यक्रम सहित रेडियो प्रसारण गरेका थिए । उनले जतिबेला रेडियो टेलिफोनी किन सम्भव छैन भनेर सोच्न थालेका थिए, त्यतिबेला मार्कोनीको एक विन्दुबाट अर्को विन्दुमा प्रसार हुने वायरलेस टेलिग्राफी व्यापक प्रचलनमा थियो । वैज्ञानिक जगत, लगानीकर्ता, जान्नेमान्ने र पत्रकारिता क्षेत्र मार्कोनीको वायरलेस टेलिग्राफी प्रविधिलाई नै इतिहासको सबैभन्दा उन्नत सञ्चार प्रविधि मानिरहेका थिए ।
मार्कोनीको छायाँः समयले पत्याएन
हुन पनि इटालियन युवा आविष्कारक मार्कोनीले १८९५ मा मोर्सकोडका सङ्केतहरूलाई बिना तार एक स्थानबाट अर्को स्थानमा प्रसार गर्न सफल भएदेखि यस क्षेत्रमा एकपछि अर्को चमत्कार गर्दै आइरहेका थिए । मार्कोनीेले रसियन वैज्ञानिक अलेक्जेण्डर स्टेपनोभिच पोपोभ, बेलायती वैज्ञानिक ओलिभर लज र भारतीय वैज्ञानिक जगदीशचन्द्र बोसलाई लामो दूरीको विद्युतीय चुम्बकीय तरङ्ग प्रसार गर्ने परीक्षणमा पछाडि पारिसकेका थिए । हुन पनि सन् १८९९ मा उनले ५६० किलोमिटर चौडा इङ्ग्लिस च्यानल वारपार बिना तार मोर्सकोड प्रसार गरेर सबैलाई चकित बनाइदिएका थिए । १५–२० किलोमिटरभन्दा टाढा वायरलेस तरङ्ग प्रसार गर्न असमर्थ अरुको तुलनामा उनको यो सफल परीक्षण विष्मयकारी थियो । सन् १९०१ को डिसेम्बरमा मार्कोनीले बेलायतको समुद्री किनारस्थित पोल्धु स्टेसनबाट ३५०० किलोमिटर टाढा क्यानाडाको न्युफाउण्डल्याण्डस्थित समुद्री किनारमा रहेको स्टेसनमा बिना तार मोर्सकोड प्रसार गर्न सक्षम भएपछि त उनको प्रतिस्पर्धी कोही पनि देखिने अवस्थै रहेन ।
मार्कोनीले बेलायत र अमेरिकामा मार्कोनी कम्पनी खोलेर धमाधम वायरलेस टेलिग्राफी विस्तार गर्न थालिसकेका थिए । उनले अमेरिकी, बेलायती लगायतका कैयौँ देशका नौसेनाका लागि वायरलेस टेलिग्राफ सेवा उपलब्ध गराउन सुरु गरिसकेका थिए । समकालीन पत्रपत्रिका, वैज्ञानिक जगत, लगानीकर्ता र सचेत व्यक्तिहरूबीच उनकै र उनको टेलिग्राफकै मात्र चर्चा थियो । सन् १८३५ मा फिन्ली जे. मोर्सले आविष्कार गरेको तारवाला विद्यतीय टेलिगाफ मार्कोनीकै कारण बेतार बनेको थियो । ठूला ठूला शक्तिशाली स्टेसन र टावर मार्फत् लामो दूरीको सञ्चार बिना तार प्रसार हुँदा समुद्रका जहाजहरू र नौसेनामा यसको झनै आकर्षण बढेको थियो । सन् १८७६ मा ग्राहम बेलले आविष्कार गरेको टेलिफोन पनि बेतार गर्न सकिन्छ भनेर फेस्सेन्डेनले सोचे । उनले यो कुरा आफ्ना काकालाई सुनाए । काकाले वास्ता गरेनन् । यही कुरा उनले त्यसबेलाका महान् वैज्ञानिक थोमस एल्बा एडिसनलाई सुनाए । एडिसनले यस्ता हावा कुरा नगर्न सुझाए । फेस्सेन्डेनलाई सम्झाउँदै उनले भने, जसरी मान्छे उफ्रिएर चन्द्रमामा पुग्न सक्दैन, त्यसैगरी बिना तार आवाज पनि प्रसार हुन सक्दैन । उल्टै एडिसनले अरु मान्छे जस्तै सामान्य तरिकाले सोच्न फेस्सेन्डेनलाई सल्लाह दिए ।
चुनौतीः निरन्तर तरङ्ग फ्याँक्ने टान्समिटर विकासको
तर फेस्सेन्डेनले हिम्मत हारेनन् । मार्कोनीको वायरलेस ट्रान्समिटर निकोला टेस्लाले आविष्कार गरेको टेस्ला क्वायललाई परिमार्जन गरी बनाइएको थियो भने रिसिभर फ्रान्सेली वैज्ञानिक इडौड ब्रान्लीको फिलिङ ट्युवलाई परिमार्जन गरी विकास गरिएको थियो । मार्कोनीवाला ट्रान्समिटरलाई स्पार्क ग्याप ट्रान्समिटर भनिन्थ्यो । यसले हल्ला धेर गर्ने भएर न्वाइजी पनि नाम दिइएको थियो । यो ट्रान्समिटरको विशेषता भनेको ट्रान्समिटिङ सेटमा राखिएका कुञ्जी थिच्दा यो करेन्टबाट स्पार्क हुन्थ्यो इलेक्ट्रो म्याग्नेटिक तरङ्ग उत्पन्न हुन्थ्यो र कुन्जी थिचेको केही क्षणमै तरङ्ग हराएर जान्थ्यो । यसमा अहिलेका रेडियो प्रसारण स्टेसनका जस्ता निरन्तर विद्युतीय–चुम्बकीय तरङ्ग पैदा हुन सक्दैनथ्यो । – र . सङ्केत मात्रै यसबाट प्रसार हुन सक्थे । तिनै – र . मिलाएर मोर्सले टेलिग्राफीको साङ्केतिक भाषा मोर्स कोड बनाएका थिए । त्यो – र . कुञ्जी थिचेका भरमा अर्कोपट्टिको रिसिभरमा ट्याँट्याँ टुँटुँ को सङ्केत प्राप्त हुन्थ्यो । . को आवाज एक बिप बराबरको हुन्थ्यो भने ड्यासको तीन बिप बराबरको हुन्थ्यो । त्यो आवाज पहिचान गरेर तालिमप्राप्त प्राविधिकले सन्देश उतार गर्थे र सम्बन्धितलाई उपलब्ध गराउँथे । एउटा सेटमा एक पल्टमा एक सन्देश मात्रै प्राप्त हुन सक्थ्यो । यो बहुच्यानलयुक्त नभई केबल एक च्यानलवाला वायरलेस प्रविधि थियो । साथै, यसमा आवाज बोक्न सक्नेगरीको निरन्तर विद्युतीय–चुम्बकीय तरङ्ग उत्पन्न हुन सक्दैनथ्यो ।
रेजिनाल्ड फेस्सेन्डेन वायरलेस प्रविधिबाट टेलिग्राफीको सट्टा टेलिफोनी वा आवाज र सङ्गीत प्रसार गर्न चाहन्थे । त्यसका लागि मौजूदा प्रविधिले सहयोग गर्न सक्दैनथ्यो । समकालीन समाज त उनलाई यसबारे कुरा गर्नासाथ मार्कोनीले चर्चा कमाएको देखेर यिनलाई पनि चर्चा बटुल्न मन लागेछ भनेर खिस्सी गर्थ्यो। फेस्सेन्डेनले त्यही निरन्तर तरङ्ग उत्पादन गर्न नसक्ने स्पार्क ग्याप ट्रान्समिटरलाई रोटरी ट्रान्समिटरमा परिणत गरे र निरन्तर विद्युतीय–चुम्बकीय तरङ्ग उत्पादन गर्न सक्ने क्षमता विकास गरे । शक्तिशाली एन्टेना राखे ।
प्रसारणको सफल पाइलो
सन् १९०० मा फेस्सेन्डनले गरेको परीक्षणबाट बिना तार १.६ किलोमिटर टाढासम्म आवाज प्रसार गर्न सम्भव भयो । डेनमार्कका वैज्ञानिक भाल्दमिर पौल्सेनले आविष्कार गरेको घुम्रेको (आर्क) ट्रान्समिटरमा फेस्सेन्डेनले सुधार गरी अल्टरनेटर ट्रानसमिटरको विकास गरे । गोलाकार एन्टेना विकास गरे । टेलिग्राफी प्रसारका लागि बनाएको युनाइटेड फ्रुट कम्पनीको ४०० फिट अग्लो टावरबाट रेडियो तरङ्ग प्रसारण गर्न उनी सफल भए ।
फलतः सन् १९०६, डिसेम्बर २४, आजैको बेलुकी उनले इतिहासमै पहिलो रेडियो प्रसारण गरे । करीब ९ बजे बेलुका सुरु भएको उनको प्रसारण अमेरिकाको ब्रान्ट रक मासाचुसेट्सस्थित प्रसारण केन्द्रबाट गरिएको थियो । उनको यो प्रसारणमा रेकर्डेड गीत, भ्वाइलेन वादन र बाइबलका हरफहरू प्रस्तुत गरिएका थिए । करीब एक घण्टाको यो प्रसारण स्वयं फेस्सेन्डेनले सञ्चालन गरेका थिए भने भ्वाइलिन पनि उनैले बजाएका थिए । उनले आफ्नो निर्धारित प्रसारणबारे समुद्री जहाजहरूलाई मार्कोनीको वायरलेस टेलिग्राफीको प्रयोग गरी पूर्व जानकारी गराएका थिए ।
आन्ध्र महासागरस्थित सयौँ कोश टाढा न्युजिल्याण्ड आसपास रहेको जहाजले पनि मानव आवाज र सुनेको प्रतिक्रिया तत्कालै जहाजमा लागेको वायरलेस टेलिग्राफी प्रविधिमार्फत् जानकारी दियो । सधैँ खाली . र – को ट्याँट्याँटुँटुँ आवाज सुनेका जहाजका वायरलेस प्राविधिकहरूआकस्मिक रूपमा मानव आवाज र सङ्गीत प्रसार हुँदा आश्चर्यचकित हुँदै खुशीले झुम्दै एक अर्कालाई हेडफोन हस्तान्तरण गर्ने गरे । त्यसबेला स्पिकर बनिनसकेकाले आवाज हेडफोनमै सुन्नुपथ्र्यो । फेस्सेन्डेनको प्रसारण अमेचुअर रेडियो अभ्यासकर्ताहरूले पनि सुनेका थिए भनिन्छ ।
समयको माथः पलायन
प्रसारणमा यति सफलता सन् १९०६ मै प्राप्त भएको भए तापनि फेस्सेन्डेन यसको थप विकास र सुधारबाट पछि हट्न बाध्य भए । किनभने उनले आफूले सफलतापूर्वक आवाज र सङ्गीत प्रसारण गरेको भनेर सुनाउँदा न त उनका लगानीकर्ता यसको भविष्यप्रति आशावादी बन्न सके, न वैज्ञानिक जगतले उनलाई पत्यायो न त पत्रकारिता जगतले नै । आखिरमा निराश भएर उनले रेडियो प्रसारण प्रविधि चटक्कै छोडेर अन्य आविष्कारमा संलग्न भए ।
सन् १९३२ मा फेस्सेन्डेन मर्नुअघि उनीसँग कुराकानी गरिएको सामग्री छापिएपछि मात्रै उनको यो प्रसारणबारे जनमानसमा जानकारी भएको हो । मलाई ऊबेला रेडियो प्रसारण सम्भव छ भन्दा उडाउनेहरू अहिले नयाँ नयाँ रेडियो सेट बटार्दै समाचार र मौसम सुनिरहेका छन् भन्ने तीतो प्रतिक्रिया पनि उनले त्यसताका दिएका थिए । फेस्सेन्डेनको पहिलो प्रसारणबारे खुलासा नहुइन्जेल लि डे फोरेष्टलाई पहिलो प्रसारक मान्ने गरिएको थियो जब कि फोरेष्टले सन् १९०७ मा मात्रै सङ्गीत प्रेक्षालयबाट प्रसारण गरेका थिए । फेस्सेन्डेनले हेटेरोडाइन आविष्कार गरेर विविध रेडियो स्टेसन समात्न सक्ने रेडियो सेट र रेडियो उद्योगको विकासलाई जन्म दिए । पछि त्यही हेटेरोडाइनलाई परिमार्जन गरेर अर्का प्रसिद्ध इन्जिनियर इडविन हवार्ड आर्मस्ट्रोङ (जसले पछि सन् १९३४ मा एफएम रेडियो आविष्कार गरे) ले सुपर हेटेरोडाइनको आविष्कार गरेर रेडियो प्रसारणलाई मानक बनाउन सघाए ।
राष्ट्रसंघको राजनीति
तर, संयुक्त राष्ट्रसंघले सन् १९४६ मा पहिलोपल्ट आफ्नो रेडियो कार्यक्रम प्रसारण भएको दिन फेब्रुअरी १३ लाई विश्व रेडियो दिवस प्रस्ताव ग¥यो । विभिन्न छलफलपछि यही मिति पारित भयो र सन् २०१२ देखि विश्व रेडियो दिवस फेब्रुअरी १३ मा मनाउन थालियो । जब कि फेस्सेन्डेनको प्रसारणपछि चार्ल्स डक हेरोल्डको सन् १९०९ देखि बजेको सानजोसे रेडियो (क्यालिफोर्निया, अमेरिका), सन् १९१९ देखि बजेको निदरल्यान्डको पीसीजीजी रेडियो, सन् १९२० देखि बजेकोअमेरिकाको केडिकेए रेडियो लगायत युरोप, अमेरिका, एशिया, अफ्रिका जताततै सन् १९२० को दशकदेखि आम प्रचलनमा रेडियो प्रसारण आइसकेको थियो ।
यस्तो अवस्थामा दोस्रो विश्वयुद्धपछि गठन भएको राष्ट्रसंघले १९४६ मा बजेको आफ्नो एउटा रेडियो कार्यक्रमको सट्टा विश्वमा पहिलोपल्ट रेडियो प्रसारण भएको दिनलाई सम्झेर रेडियो दिवस राखको भए वास्तविक इतिहास र पात्रको सम्मान पछिल्लो पुस्ताले गरेको देखिने थियो । तर राष्ट्रसंघले आत्मकेन्द्रित राजनीतिका कारण फेस्सेन्डन र पहिलो रेडियो प्रसारणको महत्त्वलाई बिर्सियो । तथापि, पहिलो मानव आवाज र सङ्गीत प्रसारण गर्ने फेस्सेन्डेनका साथै त्यो ऐतिहासिक दिनलाई इतिहासले भने भुलेको छैन । हामी रेडियोका अभ्यासकर्ता र सञ्चारका विद्यार्थीले पनि भुलेका छैनौँ । आउनुस्, आजको यो बेलुकी यिनै रेडियो प्रसारणका जनक रेजिनाल्ड फेस्सेन्डेनको सम्झनामा रेडियोको पहिलो प्रसारण दिवस मनाऔँ ।