सन्यास नै लिन्छु म

रामै बन्छु म कृष्ण बन्छु सहसा बुद्धै बनीदिन्छु म

धोई दोष कलङ्क नै विगतको साखुल्य देखिन्छु म

प्रायश्चित्त गरेर पाप सब यो फालेर चोखिन्छु म

पापीको घर राजनीति हुन गो सन्यास नै लिन्छु म॥१

 

कविता

रामशरण नयौपाने

सारा वैभव घूसको कलुष यो फिर्ता बुझाई वरी

आमातुल्य पुजेर देशकन नै श्रद्धा र आस्था धरी

छाडा दोहनकार्य देश जनको छोडी सबै दिन्छु म

पापीको घर राजनीति हुन गो सन्यास नै लिन्छु म॥२

 

आलो रक्त चुसेर हा! गरीबको व्यर्थै रमाई बसेँ

सम्झिन्थेँ म पुगेँ उचा शिखरमा त्यो रौरवैमा खसेँ

यो पापी तन धुन्छु आज पयले चाँडै सुधारिन्छु म

पापीको घर राजनीति हुन गो सन्यास नै लिन्छु म॥३

 

चोला मानवको अमूल्य छ यहाँ सत्कर्मले फक्रिने

बाटो उत्तम छान्नुपर्छ नरले देवत्व नै पक्रिने

सारा विश्व भरी उदाहरण यो आफैँ बनीदिन्छु म

पापीको घर राजनीति हुन गो सन्यास नै लिन्छु म॥४

 

पूजा गर्छु म देशको दिन दिनै आफैँ पुजारी बनी

नेपाली जनता उदार सबको कल्याण होओस् भनी

आफैँ फूल बनी सुवास मधुरो फालेर पोखिन्छु म

पापीको घर राजनीति हुन गो सन्यास नै लिन्छु म॥५

 

खेती मात्र सधैँ गरेर झूटको झुक्याउने हो कति

आफ्नै सुन्दर देशका मनुजको पार्दै उछित्तो अति

पोल्यो भत्भत आँसुले गरिबको छाती मडारिन्छु म

पापीको घर राजनीति हुन गो सन्यास नै लिन्छु म॥६

छन्द: शार्दूलविक्रीडित

Facebook Comments
ramsharan
Comments (0)
Add Comment