सूचना प्रविधि विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड 

काठमाडोैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सूचना प्रविधिको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिइएको बताउनु भएको छ ।

सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले शासकीय प्रणालीलाई जनताप्रति जिम्मेवार, जवाफदेही र पारदर्शी बनाउनेगरी सूचना प्रविधिको विकास गर्न पनि यसको पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेर अघि बढाउनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो ।

गैर सरकारी संस्था महासंघ नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको ‘खुला सरकारः नागरिक साझेदारी’ सम्बन्धी ‘भर्चुअल’ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नागरिक साझेदारी मोडलको माध्यामबाट मुलुकलाई समृद्ध बनाउने गरी सूचना प्रविधिको विकास गर्न सबै स्थानीय तहमा ‘एकीकृत मोबाइल एप’ सञ्चालनको कामलाई अघि बढाएको पनि स्मरण गराउनु भयो ।

‘सबै स्थानीय तहमा नागरिकसँग सम्बन्धित कामलाई प्रभावकारी बनाउन मोबाइल एप सञ्चालनको काम भईरहेको छ,’ मन्त्री गुरुङले भन्नुभयो, ‘यसले सेवा प्रवाहको कामलाई प्रविधिको माध्यमबाट प्रभावकारी ढङ्गले संचालन गर्न र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन महत्वपूणर् भूमिका निर्वाह गर्न योगदान पुर्‍याउने छ ।’

मन्त्री गुरुङले विकट क्षेत्रमा रहेका नागरिकहरुलाई सूचना प्रविधिको पहुँचमा पुर्‍याउनका लागि स्थानीय तहको वडासम्मनै इन्टरनेटको सहज पहुँच पुर्‍याउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गर्नुभयो । मुलुकको समृद्धिका लागि सरकारले नागरिकसँगको साझेदारीलाई जोड दिइरहेको पनि मन्त्री गुरुङको भनाई थियो ।

मन्त्री गुरुङले सार्वजनिक सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

Facebook Comments
Comments (0)
Add Comment