क्यात्तुके र थुँगे फूलको अन्तर छुट्याउने त्यो ज्ञान

जीवनका खुड्किला १२

विक्रम सम्बत् २०२० साल जस्तो लाग्छ । सात आठ वर्षको उमेर । दन्तकाली मन्दिरको पाटीमा सञ्चालित प्राथमिक विद्यालयको विद्यार्थी हुँदाको क्षण । हाम्रो पालको विद्यार्थी हुनुको मजा सिधै एक कक्षामा भर्ना हुन पाइने । शिशु कक्षाको चलन शुरु भएको थिएन। नर्सरी, के.जी. को चलन त अझ त्योभन्दा पनि पछि शायद । म पढ्ने स्कूललई दन्तकाली स्कूलको नामले चिनिन्थ्यो । ठेगाना धरान नगर मञ्चालयतको वडा नं ११ विजयपुर । धरानमा ११ वटा वडा थिए । नगर पञ्चायतमा शिक्षा हेर्ने छुट्टै बोर्ड हुन्थ्यो । स्कूल सञ्चालन सम्बन्धी सम्पूणर् काम त्यसैले गथ्र्यो । हरेक वडामा एक एकका हिसाबमा जम्मा ११ वटा स्कूल त्यो बोर्डले सञ्चालन गथ्र्यो

हाम्रो स्कूल अफिसको माथि बाहिरपट्टी टांसिएको चिन्हपाटीमा पञ्चायत प्राथमिक विद्यालय नं ५ को तलतिर कोष्ठमा निःशुल्क तथा अनिवार्य लेखिएको थियो । प्राथमिक तहमा पढ्नेले शुल्क तिर्नु पर्दैनथ्यो । पाँच वर्ष पुगेका केटाकेटी पढ्नका लागि अनिवार्य रुपमा पढ्न पठाउनै पर्ने अभियान थियो नगरपालिकाको त्यस बेला । मान बहादुर भन्ने सरले दिदी प्रभा र मेरो नाम घरमै आएर टिपेर लानुभएको सम्झना मलाई अभैm आउँछ । सान्दाजुले नगरपालिकाको शिक्षा शाखामा आप्mना भाइबहिनी स्कूल जाने उमेरका छन् भनेर टिपाउनु भएको मान बहादुर सरले हाम्रो घर आएका बेला भन्नुहुन्थ्यो । बोर्डिङ्ग स्कूलमा हाम्रा दौंतर कोही गएको मेरो हेक्कामा छैन । त्यतिबेला धरानमा बोर्डिङ्ग स्क्ूलको चलन नै आएको थिएन कि? नगरपालिकाको शिक्षा बोर्ड अन्तर्गत पढाई हुने सबै स्कूलमा कक्षागत रुपमा पाठ्यक्रम पनि एकै हुन्थ्यो । अर्धवार्षिक परीक्षा स्कूलले नै चलाउँथ्यो । हामी सानो जाँच भन्थ्यौं त्यस्लाई । वार्षिक परीक्षा भने शिक्षा बोर्डले नै चलाउथ्यौं, हाम्रो चल्तीका भाषाको ठूलो जाँच । प्रश्नपत्र बोर्डबाट नै आउने, परीक्षा तालिका पनि बोर्डले नै प्रकाशित गर्ने । प्रश्नपत्र मूठा बाँधिएर स्कूलमा नै आउँथ्यो, परीक्षा शुरु हुनुभन्दा एक वा आधा घण्टा अगाडि । कहिले छापेको, कहिले लिथो गरेको ।

हामी फुच्चेहरु ‘गांउछ गीत नेपाली, ज्योतीको पंखा उचाली’ भन्ने बोलको प्रार्थना गाइसकेर लाम लागेर दन्तकालीका दुइटा पाटीमा ब्ल्याक बोर्डले छुट्याएर बनाएका चार खण्डमा परीक्षा लेख्न बस्थ्यौं बेञ्चमा । सरहरुले पहिला कपी बाँड्नुहुन्थ्यो, त्यसपछि प्रश्नपत्र । प्रश्नपत्र अनुसारको उत्तर कापीमा लेखेर तोकिएको समयभित्र उत्तर कापी बुझाउनु पथ्र्यो । त्यसपछि आ आफ्ना घर लागिन्थ्यो । कापी बुझाउने समय तोकिएको हुन्थ्यो । परीक्षा शुरु भएको आधी घण्टा नभई बुझाउन नपाइने, अन्तिम घण्टी बजिसकेपछि भने बुझाउनै पर्ने । डेढ घण्टे परीक्षा भए एक चोटी, तीन घण्टे भए बढीमा दई चोटी बाहिर निस्किन (दिसा वा पिसाब गर्न जान) पाइने । बाहिर निस्किने ठाउँ त्यतिबेला, मन्दिर हाता बाहिरको असुरोको घारी । हाम्रा हेडसर धुर्वजंग राणा हातमा छडी लिएर ओहोर दोहोर गरिरहनु हुन्थ्यो । तोकिएको समय पाँच वा दश मिनेट भित्र फर्किसक्थे बाहिर जानेहरु पनि ।

तीन कक्षामा पढ्नेमध्ये सबैभन्दा फुच्चे म नै थिएँ जस्तो लाग्छ । लेखी सकेदेखि कपी बुझाउन अन्तिम घण्टी बजुन्जेलसम्म नपर्खिनु पर्ने भएकोले, म लेखिसकेर कपी बुझाइवरी सिधै घरतिर कुद्थें । केटाकेटी बेला भोक छिटै लाग्थ्यो । घर पुग्नेबित्तिकै खाजा खान पाउने । जांच लेख्नु पर्ने बाध्यता, खाजा खान पाउने लोभ वा रहर । क्या मज्जा त्यो बेलाको ।

मंसीर अन्तिमतिर वार्षिक जाँच हुन्थ्यो । त्यसपछि झण्डै एक हप्ता स्कूल छुट्टी हुन्थ्यो । स्कूल छुटेपछि खेल्न पाइने निस्फिक्री साथीसंगीसंग । डण्डी बियो, गुच्चा, डोल बगंैचा (रुखको हाँगा हांगामा कुदेर एक अर्कालाई छुने खेल) हामी बीच लोकप्रिय खेल थिए तिनताका । बाको कडा अनुशासनमा गुच्चा खेल्न अनुमति प्राप्त थिएन, दौंतर मध्ये अलिक सोझो गनिने हुनाले विशेष गरी बाँकी खेलमा मात्र म सहभागी हुन्थें ।

जाँच सकेको २ देखि ३ हप्तापछि रिजल्ट आउँथ्यो । पास फेल सुन्ने दिन किन हो मन त्यसै त्यसै ढक्क फुल्थ्यो । अफिस कोठाको झ्यालबाट हेडसरले कक्षागत रुपमा रिजल्ट पढेर सुनाउनुहन्थ्यो । अनि पछि जाली लगाएको सूचना पाटीमा त्यो रिजल्ट टाँसिन्थ्यो, रोल नम्बर वा योग्यता क्रमानुसार । कति हाँस्दै फर्किन्थ्यौं, कति रुंदै ।

हेड सरले सबैलाई झ्यालको वरपर जम्मा हुने उर्दी जारी गर्नुभयो, घण्टी लगाएपछि । धुर्वसरको स्वर नै ठूलो, अनुशासन पालना गराउनु भएकोले सबै शान्त भएर सुन्ने भइहाले । १ कक्षाबाट शुरु भयो रिजल्ट सुनाउन । तीन बाट चार कक्षा जानेमा प्रथम हुनेमा मेरो नाम सुनाउनुभयो । ११ वटै स्कूलको कक्षागत रिजल्ट हुनेहुँदा समग्रमा म प्रथम भएको रहेछु, तीन कक्षाबाट चारमा जाँदा । हेड सरले “स्याबास अझ राम्रो पढ्नु तिमी होल फस्ट भएछौ” भन्नुभयो । धुर्वसरको स्याबास पाउनु म फुच्चेलाई ठुलै उपलव्धी भयो र मेरो खुसीको कुनै सीमा रहेन ।

सदा झैं घर तिर कुदें म, खाना खान पाउने रहर र लोभ दुबैले । रिजल्ट आज आउने भनेर घरमा थाहा थियो । बाल सुलभ जिज्ञासाका धेरै प्रश्न म सानी भाउजुसंग सोध्ने गर्थें । जस्तैः “कांक्राको खल्पी हुन्छ, घिरौंलाको किन हुँदैन? धानको चिउरा हुन्छ, मकैको किन नबनाएको?” यस्ता मेरो जिज्ञासालाई भाउजुले झर्को नमानीकन या त अथ्र्याइदिनु हुन्थ्यो, नत्र पछि पढ्दा यसको कारण खोज्नु भनी चित्त बुझाइदिनुहुन्थ्यो ।

तघारो खोलेर म भित्र पस्दा भाउजु दलानमा बसेर आरीमा टाप ((भोगटे) साँध्दै हुनुहुन्थ्यो । भाउजुले सोध्नु भयो “रिजल्ट भयो त ठुलोभाई?” मलाई घरमा ठुलोभाई भनेर बोलाइने गरिन्थ्यो ।

‘भायो भाउजु’ मैले जवाफ दिएँ ।

‘के हुनुभयो त ? पास कि फेल?’

‘पास, फस्ट भएछु सानी भाउजु ।’

‘लु, लु ठूलो मान्छे हुनु, अझ धेरै पढ्नु’, शायद बधाई अर्थ लाग्ने यस्तै केही भन्नुभयो । मेरो शब्द ज्ञानले ठम्याउन सकेन ।

सानी भाउजुले, ‘ए दिदी’ भन्दै ठुलीभाउजुलाई बोलाउनु भयो । लु ठूलोभाई फस्ट हुनुभएछ । शीरमा फूल लगाइदिनु त भन्नु भयो ।

ठुली भाउजुले छेउकै बोटबाट टिपेर एउटा फूल मेरो टाउका माथि राखिदिनु भयो ।

‘छ्या मोरी । सयपत्री त लगाइदिनु, क्यात्तुके पो लगाइदिइछन् ।’

ठूलीभाउजु, सानीभाउजु दौंतरी हुनुभएकाले गर्दा बोलीचालीमा कहिलेकाँही साथीसाथीको व्यवहार गर्नुहुन्थ्यो ।

तीनताका आमा निरन्तर बिरामी पर्न थाल्नु भएकोले, बा र सान्दाजु आमालाई उपचारका लागि कहिले धरान, घोपा कहिले बिराटनगर लानुपर्ने भएकोले घरको काममा भाउजुहरु बढी संलग्न रहनु पथ्र्यो ।

मेरो मनोविज्ञान र शब्द ज्ञानमा तिहारमा फुल्ने फूलमा मखमली, चांगे र सयपत्रीका तीन प्रकार मात्र थिए । सयपत्रीमा थुंगे वा क्यात्तुकेको भेद पसेको थिएन । यमपञ्चकका पाँच दिनमा तीनताका विजयपुर धरानको परीवेशमा पाइने फूलका भिन्न प्रयोजन रहेको कुरा पछि मात्रै खुल्दै आए ।

निर्वाहमुखी कृषि प्रणाली वा परिवार संख्याको आधारमा जमीनको पर्याप्तता केले हो दैनिकीसंग सम्बद्ध बाली चक्रीय प्रणाली सबैको बारीमा हुन्थ्यो । चैत बैशाखमा लगाएको मकै भाँचे सकेपछि लगाइएको कोदो पाक्ने समयमा हरेकका बारी छेउ र मकैको ढोड थुपारेको बारीको मध्य भागमा सयपत्री फुलेर पहँेलपुर देखिन्थ्यो । मखमली र चांगेको हारले सबैका बारीमा आकर्षक कलाकारीता देखिन्थ्यो प्रकृतिको । पहँेलिन लागेको कोदाको पातमाथि पाक्न लागेका राता, काला बाला, सयपत्री फूलको ब्यास र घेरा ठाँउठाँउमा मिलाएर रोपेका चांगेको गाढा कलेजी रंग अनि मखमली फूल कुनै राता अनि कुनै सेता ।

शिक्षाको आधारभूत तहमा बाल मनोविज्ञानमा नै पारिवारिक परीवेशमा सयपत्री फूलमा थूंगे र क्यात्तुके एकसरोको जुन अन्तर छुट्याउने परिभाषा मेरो मस्तिष्कमा पर्यो, यसको वैज्ञानिक नामाकरण वा विरुवाको आकार वा स्वरुप औपचारिक शिक्षामा विद्यमान विज्ञानका सबै तह पढिसक्दा पनि त्यत्तिको गहन, सिर्जनात्मक र गाढा छापलाई मेरो पछिल्लो पढाईले विस्थापित गर्न सकेको छैन ।

वर्तमान अवस्थामा विकसित हुँदै गएको र उदाहरणका स्वरुपमा अभिव्यक्त गरिने शिक्षा प्रणालीको सन्दर्भमा, सयपत्री फूलका क्यात्तुके र थुँगे फूल छुट्याउन सक्ने परिवेशजन्य ज्ञानलाई सम्झन लायक ठानेको छु ।

Facebook Comments
Madan
Comments (0)
Add Comment