नेपाली साहित्य आकाशमा “शेक्सपियर“ को स्थानमा रहेका महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारेमा केही लेख्नु वा बोल्नु मेरो वसको कुरा होइन। किनभने म साहित्यानुरागी होइन र साहित्य सृजनातर्फको मेरो योगदान लगभग शुन्यप्राय नै ठान्दछु । तर एउटा राष्ट्र समृद्ध कहलिन आवश्यक तत्त्वहरुमध्ये साहित्य एक हो । यसको “भूमिका र महत्त्व” कति हुन सक्छ भन्ने ज्ञानबारे स्वमुल्यांकन गर्नु आवश्यक हुन्छ भन्ने मेरो ठम्याई छ । यही ठम्याईका आधारमा नै मैले यो सानो आलेख प्रस्तुत गर्ने प्रयास गरिरहेकोछु।
म निरन्तर काठमाडौं बस्न थालेको १५ वर्ष भयो। यस अवधिको दुईतिहाई भन्दा बेसी समय अनामनगर घट्टेकुलो क्षेत्रमा नै बितिरहेको छ। यहाँबाट पैदलै १५ मिनेटको दुरिमा महाकवि लक्ष्मीप्रसाद देवकोटाज्यूको ऐतिहासिक घर छ । त्यो घर एकपटक हेर्ने र मिलेसम्म तस्वीर पनि खिच्ने रहर निकै अघिदेखि राखेको थिएँ तर डेढदशक सम्मपनी मिलेन। खोइ किन मिलेन मिलेन।
अनामनगरमा भेट हुँदा काठमाडौंका पुरानो बासिन्दा र मैले आदरगर्ने, मलाई विशेष माया गर्नुहुने दाजु श्री गोविन्द रेग्मीले बेलाबखत सन्दर्भ चल्दा म देखाउला तपाईंलाई महाकविको घर भनीरहनुहुन्थ्यो। हालै एकाविहानै आएर जाने हो मैतिदेवी भनी सोध्नु भयो । मैले किन दाजु भनें र उहाँले उही के त महाकविको घर हेर्न भन्नुभयो। मैले ल त जाउँ भने र हामी तत्काल हिँडी पनि हाल्यौं।
महाकविज्यूको घरमा जान दुई तिरबाट बाटो रहेछ। एउटा पुरानै बाटो जुन महाकवि देवकोटाले प्रयोग गर्नुहुन्थ्यो अर्को मैतिदेवी मन्दिर तर्फबाट नयाँ कायम गरिएको बाटो। हामी मैतिदेवी मन्दिर तर्फबाट गयौं।
घरको नजिकै पुगेर हेर्यौं, भित्र पस्नलाई तालाबन्दी थियो। बाहिरबाटै बिहङ्गम दृष्टिलगाएर केही थान तस्वीर खिचेर फर्कियौं। त्यो घरमा “राष्ट्रिय प्रज्ञा प्रतिष्ठान महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलय निर्माणस्थल” को साईनबोर्ड लागेको देख्दा थोरै भए पनि सुखानुभूती भयो।
निमेषभरमा देवकोटाबारे आफुलाई जानकारी भएका सबै कुराहरु बिजुलीको गतिमा मनमस्तिष्कमा दौडिए। अब अर्को कोणबाट हेर्ने भन्दै दाजुले हिडाउनु भयो। डिल्लीबजार पिपलबोट तर्फबाट हिड्ने पुरानो बाटो हुँदै घरसम्म पुग्यौं। उता जस्तै यता पनि गेट बन्द थियो र घाँसपातहरुले जेलिएको सानो फलामे ढोका थियो। मन अमिलो पार्दै पुनः केही तस्वीरहरु लिएँ।
दुई तर्फबाट तस्वीर लिन पाउँदा पनी मेरो मन अघाएको भने थिएन। कारण घरको खास आकृति ती दुबै कोणबाट त्यति राम्रोसंग देखिँदो रहेनछ। तै पनि मेरा लागि यो जीवनकै अभूतपूर्व पल थियो र निकै प्रशन्न मुद्रामा दुईभाइ गफिदै फर्किदै थियौं। नजिकै एकजना गोविन्द दाजुकै समकालीन भद्र ब्यक्ती आफ्नो नाति डोर्याउदै आइरहनु भएको थियो। उहाँहरुबीच एकअर्कालाई अभिवादन गर्दै हालखवर सोधखोज भयो। गोविन्द दाजुले मसंग पनि उहाँको समान्य परिचयको औपचारिकता पूरा गराउनु भयो।
उहाँ चै त्यहीँका पुरानै बासिन्दा लिलाराज विष्टका छोरा दिव्यनिधि विष्ट हुनुहुँदो रहेछ।
यत्तिकैमा मैले त फेरि घर बनाउन पो थाल्याछु त गोविन्द जी भनेर दिव्यनिधिले भन्नुभयो अनि खोइ कता? भन्ने स्वाभाविक जिज्ञासा शुरुभयो। ऊ त्यहाँ भन्दै त्यसतर्फ उहाँहरु लम्किनु भयो। मलाई त्यति चाँसोको विषय नभए पनि संगतिको कर्तब्य पुरा गर्नु नै पर्दथ्यो र पछिपछि लागें। लगभग दुई रोपनीभन्दा बढी दशकौं पुरानो पर्खालले घेरिएको त्यो जग्गाको एक छेउको पर्खाल भत्काएर कुनामा ठिकैको घरको जग सम्मको काम सकिएको रहेछ।
त्यो घरबारे उहाँहरु सामान्य कुराकानी गरिरहँदा मेरो नजरभने महाकविज्यूको घरतर्फ नै थिए। केही अग्ला रुखहरुले छेलिएको सानदार दृश्य त बल्ल पो देखियो। म चै क्यामेरा सोझ्याउँदै विष्टजीको त्यो जग्गाको भित्रैबाट अर्को छेउसम्म पुगें र इच्छा भएजति तस्वीरहरु खिच्न भ्याएँ। बल्ल मेरो मन तृप्त भयो। यदि गोविन्द रेग्मी दाजुसंग नगएको भए सायद यो अवसर मलाई मिल्ने नै थिएन, यसकारण पनि गोविन्ददाजूप्रति हार्दिक आभार प्रकट नगरिरहन सक्तिन। र, हामी अब हिड्दाको उद्देश्य पुरा गरी फर्कंदै गर्दा मेरा मनमा उब्जिएका केही तरङ्गहरुलाई तपाईसमक्ष राख्दैछु।
यो घर महाकविज्यूको निजि निवास थियो र डेढदुई वर्ष अगाडि नेपाल सरकारले त्यसलाई किनेर आज कानुनीरुपमै राष्ट्रिय सम्पतिको रुपमा कायम गरेको छ। यो प्रयास आर्फैमा राम्रो हो । तर यतिका वर्ष शासकहरुको किन यस बारेमा ध्यान गएन होला भन्ने कुराको उत्तर मैले पाउन सकेको छैन।
यो एउटा सामान्य घरमात्र हुँदै होइन। यो घर आफैंमा एउटा नेपाली धरोहर हो, विरासत हो, तीर्थस्थल हो, आस्थाको पुञ्ज हो, साधाना केन्द्र हो, अन्वेषणस्थल हो, संग्रहयोग्य सुन्दर कृति हो र साहित्यको पवित्र मन्दिर पनि।
यस्तो मलाईमात्र लाग्यो वा अरुलाई पनि लाग्दो हो! यदि लाग्दो हो भने उनीहरु के सोच्दा हुन? के मलाई जस्तै यो देशका विभिन्न प्रधानमन्त्रीहरुलाई पनि लाग्दैन होला? शिक्षामन्त्री लगायत सिङ्गो मन्त्री मण्डललाई लाग्दैन होला? प्रज्ञा प्रतिस्ठान र तमाम प्राज्ञहरुलाई लाग्दैन होला? अन्य अन्य सबै जो महाकवि, उहाँको योगदान, उहाँको गरिमा, उहाँको साहित्य र महत्त्वबारे धेरथोर ज्ञान भएकाहरुलाई पनि लाग्दैन होला? अथवा उहाँबारे ज्ञान नभएपनि जिम्मेवार हुनपुगेका (जनप्रतिनिधि) हरुलाई पनि लाग्दैन होला त?
म बबुरोलाई त यस्तो लाग्छ भने उहाँहरु कसैलाई पनि त्यस्तो लाग्दैन होला भनेर म निचोड कसरी निकालौं? उहाँहरुलाई लाग्दैन भनेर कसरी मान्ने? होइन यो कुनै नौलो कुरै होइन, सबै नेपालीहरुलाई यस्तै लाग्छ, अझ कतिपय त विदेशीहरु समेतलाई पनि लाग्छ भनेर मानौं भने यो हालत, यो बिडम्बना, यो अस्तब्यस्तता, यो हेलचेक्र्याइँ, यो महत्त्वहिनता र यो समुचित संरक्षणको अभाव चाहिँ किन त?
पूर्खाले आर्जेर हामीलाई छाडी गएको सगौरव प्राप्त विरासत यसको महत्त्व र हाम्रो दायित्त्व बारे आजको युगमा पनि नबुझ्ने हो र उचित कदम नचाल्ने हो भने हामीले गर्व गर्ने हाम्रो देशको इतिहासको भविष्य धेरैलामो समय नरहने निश्चित छ।
किन बुझ्दैनौं हामी या बुझेर पनि किन उचित समयमा उचित काम गर्दैनौं? अहम प्रश्न यही नै हो । तर प्रश्न कस्ले सुन्ने?
त्यसै पराधीनजस्तो देश बनेको त होइन रहेछ। त्यसै हामी सबैभन्दा पिछडिएको देशका नागरिक कहलिएका होइन रहेछौं। यत्तिकै हामी ऋण र अनुदानमा बाचेका होइन रहेछौं। मानव विकास सूचाङ्कहरुमा पुछारमा रहनु अरु कसैको दोष नभएर हाम्रै विधिविधाता र जिम्मेवारी सम्हालेकाहरुको कुबुद्धिले हो रहेछ, अनवा भनौं हामीले भोगेको दुर्दशा हाम्रो आफ्नै कर्मको विरासत रहेछ भन्ने अनेक उदाहरणहरुहरुको मध्येको यो एउटा ज्वलन्त उदाहरण हो भन्ने निचोडमा म पुगेँ।
यदि साहित्य र यस संग सम्बन्धित विरासतहरुको संरक्षण सम्वर्धन र विकास गर्दै लानसके विश्व जगतमा एकखाले सार्थक उपस्थिति मात्र होइन आफ्नो ओजपूणर् स्थान सुरक्षित गरी मानव सभ्यतालाई नै सम्बर्द्धन गर्न उल्लेख्य योगदान सहितको औपचारिक अभिलेखिकरण गर्न र नेतृत्व दिन सम्भव हुनेकुरा नकार्न सकिँदैन। तर खोइ कस्ले हो यो कुरा बुझी कदम चाल्ने?
महाकवि देवकोटा र सिंगो नेपाली साहित्यको महत्त्व बुझ्ने सम्बद्ध निकाय यदि यो देशमा हुन्थ्यो त यो घर लाई मात्र होइन यो घरको चारैतर्फ कम्तिमा १०-२० रोपनी जग्गा कानुनी प्रक्रिया पुरागरी अधिग्रहण गरेर सयौं मोटरहरु पार्क गर्न मिल्ने गरी हजारौं साहित्यानुरागीहरु एकैपटक भेला हुने स्थल बन्ने थियो । यो घरमा साहित्य अनुरागीहरुको अन्तरक्रिया र सम्मेलनहरु गर्न मिल्ने सभाकक्षहरु, अध्ययन-अनुन्धान अन्वेषण र रचना सिर्जनाहरुका लागि उर्जाशील कक्षहरु, प्रविधिले लैस कक्षहरु, पुष्प वाटिकाहरु लगायतका निर्माण गरी वर्षैभरी निरन्तर साहित्यकर्म र कार्यक्रमहरु सञ्चालन हुने बनाउन सकनु पर्दथ्यो। राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनहरुको आकर्षक केन्द्र बनाउन सकिन्थ्यो र अझै पनि सकिन्छ। सनै सनै आफ्नै आम्दानीमा बाँच्न सक्ने आत्मनिर्भर साहित्यिक तीर्थस्थलको रुपमा पुस्तौंपुस्ता झाँगिदै प्रसिद्धि फैलाउदै अमर राख्ने प्रवन्ध गरिनु पर्दथ्यो। यो मेरो फगत कल्पनामात्र जस्तो लाग्दछ भनेपनि असम्भव त पक्कै होइन होला।
यो जीणर् हुँदै गएको महाकविज्यूको आफ्नै घर यदि बैज्ञानिक विधिले उपचार गरी दीर्घजीवी नबनाउने हो भने अब आउने पुस्ताले यसको अवशेष समेत देख्न नपाउलान। के यो घरलाई सयौं वर्ष पछिसम्म पनि यहीरुपमा देख्न हेर्न मिल्नेगरी संरक्षण गर्न ढिला भैरहेको छैन र? यसका अतिरिक्त महाकविज्यूका सयौं हस्तलिखित अप्रकाशित पाण्डुलिपीहरु संग्रह र प्रकाशनको पर्खाईमा रहेको कुरा बेलाबखत जीवित श्रष्टाहरु लेख्ने, भन्ने गर्नुहुन्छ, तिनको पनि यसै घरमा संरक्षण र प्रदर्शन गर्नु पर्दछ।
यस्ता अन्य कैयौं विरासतहरु अरु पनि छ्न् जुन उचित संरक्षण र सम्बर्द्धनको पर्खाईमा छ्न्। छैन त केवल हाम्रो इमानदार बुझाई र प्रयास ।
स्ट्राटफोर्ड-अपन-एभोन, बेलायत (Stratford-upon-Avon, England) यो सेक्सपियरको घर भएको स्थान हो . जुन आज संसारका सबै साहित्यकार र साहित्यानुरागीहरु जीवनमा एकपल्ट मात्रै भएपनी त्यहाँ पुग्ने चहाना राख्दछ्न्।
मैतिदेवीस्थित यो महाकवि देवकोटा निवास पनि लगभग यत्तिकै महत्त्वपूणर् गन्तव्यको रुपमा विकास गर्न सकिन्छ भन्दा कसैलाई गम्भीर बनाउला त कसैलाई उडन्ते हाँसो पनि छुट्न सक्ला।
लेख्दै जाँदा निकै लामो पनि लेखिन सक्ला तर पहिलो र छोटो अवलोकन भ्रमण अनि मनमा पलाएका तरङ्गहरुको मोटामोटी प्रतिनिधित्व भएको ठानी यस पटकलाई यत्ती ।
महाकवी देवकोटा जयन्ती २०७७ को शुभअवसरमा महाकवी लक्ष्मीप्रसाद देवकोटा तथा विलियम सेक्सपियर प्रति अञ्जुलीभरी श्रद्धासुमन !
विरासत, महत्त्व र दायित्त्व सबैले मनन गरी बहन गरौं।
rijalpk@gmail.com