क्रुद्ध र अराजक ट्रम्प युगको अवसान, शान्त बाइडेन युगको आगमन

घरभित्र र बाहिर नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनका चुनौती

डेमोक्र्याट अमेरिकी राष्ट्रपति बाराक ओबामाकाल (२००८–२०१६) का उपराष्ट्रपति जो बाइडन लोकप्रिय मतमा इतिहास रच्दै अमेरिकाको ४६ औँ राष्ट्रपति चुनिएका छन् । केही राज्यमा अझै मत गणना जारी रहेकै बेला पेन्सल्भेनिया राज्यको २० इलेक्टोरल मत हासिल गरे लगत्तै उनी अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित भएका हुन् ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन । तस्बिर साभारः फ्रान्स २४ टेलिभिजन

नेभेदा राज्यबाट उनले थप ६ इलेक्टोरल मत प्राप्त गरेपछि अहिलेसम्म उनको खातामा २९० इलेक्टोरल भोट जम्मा भएका छन् । ५३८ सिटको इलेक्टोरल कलेजले औपचारिक रूपमा राष्ट्रपतिको निर्वाचन गर्नेछ । अमेरिकी राष्ट्रपति पदमा निर्वाचित हुन कम्तीमा २७० इलेक्टोरल मत आवश्यक पर्छ । एशोसिएटेड प्रेसका अनुसार, बाइडेन ३०६ इलेक्टोरल मत प्राप्त गर्ने लक्ष्यमा अगाडि बढिरहेका छन् ।

बाइडेनका प्रतिद्वन्द्वी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म २१४ इलेक्टोरल भोट पाएका छन् । केही राज्यमा अझै मतगणना जारी छ । यो सामग्री तयार गर्दासम्म जो बाइडेनले ७ करोड ५० लाख बढी (५० प्रतिशतबढी) लोकप्रिय मत पाएका छन् भने उनले प्रतिद्वन्द्वी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प (४७ प्रतिशतबढी) लाई ५० लाख बढी मतले पछाडि पारेका छन् ।

बाइडेनले पाएको यो मत अहिलेसम्मकै सबै राष्ट्रपतिहरूले पाएको भन्दा बढी लोकप्रिय मत हो ।  यसअघिका चुनावहरूमा मत परिणाम सामान्यतया एकै दिनमा प्राप्त हुने गर्थ्यो तर यसपल्ट हुलाकबाट प्राप्त मत अत्यधिक भएका कारण गणनामा निकै लामो समय लागिरहेको छ ।

ह्वाइटहाउसमा महिलाको पहुँच

नवनिर्वाचित अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस । तस्बिर सौजन्यः फ्रान्स २४ टेलिभिजन

बाइडेनसँगै भारतीय मूलकी आमा र जमैकन मूलका पिताबाट जन्मेकी कमला ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित भएकी छन् । उनी अमेरिकाकै इतिहासमा उपल्लो पदसम्म पुग्ने पहिलो महिला बन्न पुगेकी छन् । अघिल्लो चुनावमा राष्ट्रपति पदका लागि उठेकी हिलारी क्लिन्टनले लोकप्रिय मत बढी ल्याए पनि इलेक्टोरल भोट कम पाएका कारण रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्पसँग पराजीत भएकी थिइन् । राष्ट्रपतिमा महिलाले नजिते पनि ह्यारिसले उपराष्ट्रपति पदबाट ह्वाइट हाउसमा महिला–प्रवेशको खाता खोलेर इतिहास रचेकी छन् ।

सन् १९२० मा अमेरिकी संविधानको १९ औँ संशोधनपछि मात्रै महिलाले अमेरिकामा मतदान गर्ने अधिकार पाएका थिए । महिलाले मतदान गर्न अधिकार पाएको ठीक एक सताब्दिपछि अमेरिकाले पहिलोपल्ट महिला उपराष्ट्रपति पाएको छ ।

अमेरिकी चुनाव विश्लेषण

राष्ट्रपतिका डेमोक्र्याट उम्मेदवार बाइडेनले विजय हासिल गरेपछि गृहनगर डेलावरमा विजयसभालाई सम्बोधन गर्दै आफूलाई जिताएर अमेरिकाले गौरवान्वित बनाएकोमा आभार प्रकट गरे । उनले आफूले अब विभाजित अमेरिकालाई एकताबद्ध बनाउने र अमेरिकाको बिग्रेको स्वास्थ र छवि ठीक पार्ने घोषणा गरेका छन् ।

उनले गुमेको अमेरिकी गौरव फर्काउन काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् । अहिले बाइडेन र ह्यारिस विजय जुलुसमा सहभागी हुँदै र भाषण गर्दै देशव्यापी दौडाहामा निस्किसकेका छन् ।

संसारैभरिबाट बाइडेनलाई बधाईः तर ट्रम्पको हठ कायमै

विश्वभरिका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूले बाइडेनलाई बधाइ दिने क्रम जारी छ । अमेरिकाभित्रै केही प्रमुख रिपब्लिकन नेताले समेत बाइडेनलाई बधाई दिएका छन् । तर चुनावमा पराजित वर्तमान राष्ट्रपति ट्रम्पले भने अस्वाभाविक प्रतिक्रिया दिँदै आफूले नै चुनाव जितेको दाबी गर्दै आएका छन् । जसरी भए पनि दुई कार्यकाल ह्वाइट हाउसमा बस्ने योजना बनाएका उनले बाइडेनको यो जीतलाई पचाउन सकिरहेका छैनन् । ट्रम्पले जिरह गरिरहे पनि अमेरिकी प्रणाली भने विस्तारै चुनावी धङधङीबाट लयमा फर्किँदै आएको छ । यसैबीच रिपब्लिकन पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशले जो बाइडेन असल व्यक्ति भएकाले उनले अमेरिकालाई एक बनाएर लैजाने भन्दै बधाई दिएका छन् । उनले चुनाव स्वच्छ भएको टिप्पणी गरेर ट्रम्पलाई जवाफ पनि दिए ।

कार्टुन साभारः सान डियागो युनियन ट्रिब्युन

ट्रप्पले बैधानिक मतबाट आफूले जितेको भए पनि डेमोक्र्याटहरूले चुनाव अपहरण गरी गैरकानूनी मत हासिल गरेकाले आफूले सर्वोच्च अदालतमा चुनौती दिने टिप्पणी गरेका छन् । उनले चुनावको मतदान हुनुअघिदेखि नै आफ्नो विजयका लागि सबै हथकण्डा अपनाउँदै आएका थिए ।

इतिहासमै निकै बढी करीब ६७ प्रतिशत मतदाताले भाग लिएको यो चुनावमा कोभिड १९ का कारण चुनावको दिन नोभेम्बर ३ भन्दा २ हप्तापहिलेदेखि नै हुलाकबाट मतदाताको घरघरमा मतपत्र पुर्‌याइएको थियो । करीब १० करोड मतदाताले हुलाकमार्फत् चुनावको दिनपहिले नै मतदान गरिसकेका थिए र ती मत चुनावको दिनभन्दा ढिलो गरी समेत प्राप्त भइरहेका थिए । डेमोक्र्याट पार्टी उदार र रिपब्लिकन पार्टी अनुदारका रूपमा परिचित छन् । रिपब्लिकन राष्ट्रपतिका रूपमा सन्की र रङगभेदका पक्षपोषक ट्रम्पको उदयपछि अमेरिका विभाजित हुन पुगेको छ । काला जाति र आप्रवासीहरू त्यसै पनि अनुदारवादी रिपब्लिकनभन्दा उदारवादी डेमोक्र्याटलाई भोट हाल्न मन पराउँछन् ।

ट्रम्प प्रशासनका कमजोरी र बाइडेनका चुनौतीः

रङ्गभेदः

ट्रम्पले अमेरिका पहिले भन्ने नाराका साथ आप्रवासीहरूमाथि कडा रबैया अपनाएका थिए । उनले आप्रवासी अमेरिकी जनप्रतिनिधिहरू समेतलाई जताबाट आएको हो, त्यतै गए हुन्छ भनेर धम्की समेत दिएका थिए । व्यापारी पृष्ठभूमिका ट्रम्पले कालाजाति, आप्रवासी, मध्यमवर्ग र काम गरिखाने श्रमिक वर्गको प्रतिनिधित्व गर्न सकिरहेका थिएनन् । उनले काला जातिका विरूद्ध त्यहाँका श्वेत अमेरिकी अतिवादीलाई उक्साउने र मलजल गर्ने काम समेत गर्दै आएका थिए । त्यसैले यसपल्ट उनलाई यो वर्गले भोट हालेन । अब, बाइडेनलाई सबै अमेरिकीका लागि अमेरिका बराबरी ब्यवहार गर्छ र सुरक्षित घर हो भन्ने विश्वास जगाउने चुनौती आइपरेको छ ।

कोरोनाको कहर

अमेरिका कोरोनाले सबैभन्दा बढी आक्रान्त देश हो । अहिले सानातिना राष्ट्रको समग्र जनसङ्ख्याभन्दा बढी जनता अमेरिकामा कोरोना प्रभावित छन् । त्यहाँ एक करोडभन्दा बढी कोरोना प्रभावित छन् भने कोरोनाबाट मर्नेको सङ्ख्या साढे दुई लाखको नजिक पुगेको छ । यसका पछाडि वर्तमान सन्की राष्ट्रपति ट्रम्पको लापरवाही र हेलचेक्र्याइँ जिम्मेवार रहेको अधिकांश अमेरिकी जनता र मिडियाको ठम्याइ छ । उनले मास्क लगाउने कार्यलाई निरुत्साहित मात्रै गरेनन्, खिल्ली समेत उडाए । त्यसैले कोरोनाका सुपरस्प्रेडरको खिताब समेत उनले पाएका छन् । केही सातापहिले ट्रम्पको परिवार नै कोरोनाको कहरमा पर्‌यो भने अहिले ह्वाइट हाउसका चिफ स्टाफ कोरोनाको चपेटामा छन् ।


ट्रम्पले अमेरिकी चुनावको निषपक्षतामा अघिल्लोपल्ट जस्तै प्रश्न मात्रै उठाएनन्, विपक्षीले चुनाव अपहरण गरेको जस्ता निर्लज्ज, हास्यास्पद र हलुका टिप्पणी गर्दै मतगणना रोक्न बारम्बार दबाब दिइरहे अनि बचेखुचेको प्रतिष्ठा पनि धुलिसात बनाए ।


अमेरिकालाई कोरोनाको चपेटाबाट बाहिर ल्याउने ठूलो चनौती अब नवनिर्वाचित राष्ट्रपति बाइडेनका सामु रहेको छ । ट्रम्पले वैज्ञानिक र चिकित्सकहरूको आवाज र सल्लाह कहिल्यै सुनेनन् । तर बाइडेनले चिकित्सक, विज्ञ र वैज्ञानिकहरूसँग मिलेर कोरोनाको कहरबाट अमेरिकालाई बाहिर ल्याउने बचन दिएका छन् । व्यवहारमा उनले कसरी कोरोनामाथि नियन्त्रण पाउँछन्, यो भविष्यकै गर्तमा छ ।
सिनेटको जोडघटाउ र बाइडेनको सामना

बाइडेनले कंग्रेसको तल्लो सदन प्रतिनिधिसभामा डेमोक्र्याट पार्टीको बहुमतका कारण भविष्यमा नीतिगत निर्णयमा सहजता अनुभव गरे पनि माथ्लो सदन सिनेटमा डेमोक्र्याट पार्टी र रिपब्लिकन पार्टीले अहिलेसम्म कुल १०० सिटमध्ये ४८–४८ सिट ल्याएका छन् । मत गणना भइरहेको जर्जिया राज्यका २ सिटमा जसले हात पार्छ, उसैको बहुमत हुनेछ । यही राष्ट्रपति चुनावकै बेला हरेक राज्यबाट २–२ जना सिनेटर प्रत्यक्ष मतदानबाट चुनिने गर्छन् भने प्रतिनिधि सभाका ५० प्रतिशत सदस्यको चुनाव पनि यही बेला हुने गर्छ । प्रतिनिधि सभा कहिल्यै पनि खाली हुन्न । ५० प्रतिशत सदस्यको पदावधि भने कायमै रहन्छ । सिनेटमा आफनो पार्टीको बहुमत भएमा त बाइडेनका हात पूरै खुला हुनेछन् तर त्यसो नभएर रिपब्लिकनको बहुमत भयो भने राष्ट्रपतिले रिपब्लिकनसँग मिलेर जानुको बिकल्प हुनेछैन । कैयन दूरगामी र महत्वपूर्ण निर्णय गर्दा राष्ट्रपतिले कंग्रेसलाई विश्वासमा लिनुपर्ने हुन्छ ।

स्पष्ट बहुमत भएका कारण तल्लो सदनलाई त बाइडेनले विश्वासमा लिन गाह्रो हुन्न तर अल्पमतमा परेमा माथ्लो सदन सिनेटलाई विश्वासमा लिन उनलाई सहज हुनेछैन । त्यसैले उनले रिपब्लिकन सिनेटरहरूसँग लेनदेन र समझदारी गर्नुपर्ने अवस्था आउनेछ । यसो गर्दा उनकै मात्र स्वार्थ नभई प्रतिद्वन्द्वी रिपब्लिकनको स्वार्थ समेतलाई ख्याल गर्नुपर्ने हुनाले भविष्यमा महत्वपूर्ण निर्णय लिन उनलाई सहज हुनेछैन । त्यसमाथि ७ करोडभन्दा बढी लोकप्रिय मत पाएको रिपब्लिकनहरूको भावनालाई पूरै लत्याउन पनि उनलाई सहज हुनेछैन । किनभने चुनाव हार्दा हार्दै पनि राष्ट्रपति ट्रम्पले २००८ मा डेमोक्र्याट राष्ट्रपति बाराक ओबामाले ल्याएको लोकप्रिय मत करीब ६ करोड ९० लाखभन्दा बढी मत ल्याउन सफल भएका छन् । तर प्रभावशाली सिनेटमा आफ्नो पार्टी अल्पमतमा परेमा बाइडेनले कसरी नेतृत्वदायी भूमिका निर्वाह गर्लान् भन्ने पनि कौतुहलताकै विषय हुनेछ ।

विदेश नीति, अन्तर्राष्ट्रिय छवि र पकड

डोनाल्ड ट्रम्पको विदेश नीति पनि उनी जस्तै सन्की र भताभुङ्गे थियो । उनको कार्यकालमा दक्षिण अमेरिका, युरोप, मध्यपूर्व, अरब, मध्य तथा दक्षिण पूर्वी एशिया र रसियासँगको सम्बन्ध बिग्रिन पुगेको छ । सबैभन्दा बढी ट्रम्पले चीनसँगको सम्बन्ध बिगारेका छन् । अमेरिकाका मित्र देशहरू, जापान, फ्रान्स, जर्मनी समेत ट्रम्पसँग झस्केका छन् । ट्रम्पले कुनै पनि राष्ट्रको सुरक्षा अमेरिकाले गर्दैनऽ कुनै राष्ट्रले अमेरिकाबाट सुरक्षा चाहने हो भने आफूले पनि योगदान गर्नुपर्छ भनेपछि त्यही अमेरिकाले समुद्र कटेर सेना बाहिर जान नपाउनेगरी संविधान बनाएर खुम्च्याएको जापान झस्किन पुग्यो । किनभने उत्तर कोरिया जापानका लागि खतरा भएर उदाएको अवस्था थियो र बेलाबेलामा उत्तर कोरियाले धम्की पनि दिएकाले जापान हतास थियो । उसलाई अमेरिकाको बलियो साथ चाहिएको थियो । त्यही अप्ठ्यारो बेलामा ट्रम्पले जापानको सुरक्षाबाट हात झिके । तर व्यापारिक स्वार्थका कारण रसियाका राष्ट्रपति भ्लादमिर पुटिनसँगको यिनको निजी साँठगाँठ र हिमचिमअमेरिकीहरूलाई पचेको छैन ।

आफ्नै दक्षिणी छिमेकी मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने घोषणा ट्रम्पले पहिलो कार्यकालको चुनावमै गरिसकेका थिए । अहिलेको चुनाव जितेको भए त्यो काम पूरा गर्ने यिनले प्रतिबद्धता जनाएका थिए । अर्को दक्षिण अमेरिकी छिमेकी भेनेजुएलाको त घरेलु मामिलामै हस्तक्षेप गरी निर्वाचित राष्ट्रपति मडुरोलाई विस्थापन गरी विपक्षी नेतालाई सत्तामा पुर्‍याउन यिनले गर्नुसम्म हर्कत गरे । भेनेजुएलाको घटनाले नेपालसम्म ठूलै तरङ्ग ल्याएको थियो ।

ट्रम्पको इरान नीति, सिरिया नीति र अफगानिस्तान नीति पनि अतिवादी खालको रह्यो । उत्तर कोरियासँग समेत उनले सही ढङ्गको लेनदेन र सम्झौता गर्न सकेनन् । सिरियामा उनले हात हालेकोमा रसिया र चीन लगायत युरोपेली देशले समेत साथ दिएनन् । इरानसँगको आणविक/रासायनिक मुद्दा असरल्ल छ भने उसमाथि अमेरिकाले गरेको सैनिक कारवाही र नाकाबन्दी चीन र रुसलाई स्वीकार्य छैन । इरानले बाइडेनलाई बधाई दिँदै उनको विजय अमेरिकी भूल सच्याउने अवसर बन्न सक्नेछ भन्ने प्रतिक्रिया दिएबाट पनि परिस्थिति बुझ्न मद्दत पुग्छ ।

चीनको हुवावे कम्पनीले जासूसी गरेको आरोप लगाउँदै करोडौँको व्यापार सम्झौता भङ्ग गर्नेदेखि पछिल्लोपल्ट चीनले कोरोना फैलाउने अपराध गरेको सम्म आरोप लगाएर ट्रम्पले चीनसँगको सम्बन्धबाट पछि फर्किने र उसलाई अन्तर्राष्ट्रिय मञ्चमा दलील गर्नेसम्मका काम गरिरहेका छन् ।

दक्षिण एशियाः आफूले चुनाव जितेमा अफगानिस्तानमा रहेका अमेरिकी सेना तत्कालै फर्काउने ट्रम्पको घोषणाले अफगानी संस्थापन पक्ष आत्तिएको थियो । तालिबानलाई समाप्त पार्न सन् २००० को आसपासमा अफगानिस्तान छिरेको अमेरिकाले पछिल्लोपल्ट तालिबानको आक्रमण बढिरहेकै बेला तालिबानी शक्तिसँगै वार्ता गरेर संस्थापन पक्षलाई जिल्याउने काम गर्‌यो । बारम्बारको तालिबानी आक्रमणले थिलथिलो हुन पुगेको अफगानिस्तानमा जुन बेला संस्थापन पक्षलाई सहयोग गर्ने बलियो हात चाहिएको थियो (र त्यो अमेरिका नै थियो), त्यही बेला हात झिक्ने ट्रम्पको निर्णयले आहत भएको अफगानी संस्थापनलाई ट्रम्पको हारले राहत त दिएको छ तर बाइडेनले यसमा कस्तो नीति लिनेछन् भन्ने स्पष्ट भइसकेको छैन । अब अफगानिस्तानसँग बाइडेनलाई पर्खिनु र उनसँग सेना विस्तारै लगिदिनुस् भनेर अनुनय गर्नुको बिकल्प छैन ।

ट्रम्पले चीनलाई घेर्न पाकिस्तानसँगको मौजूदा सैन्य साँठगाँठपूर्ण मित्रता तोडेर हिन्द महासागर स्वार्थका कारण पाकिस्तानको सट्टा भारतलाई वरण गर्न पुगेका छन् । हिन्द महासागरमा भारतसँग मिलेर सैन्य अभ्यास पनि अमेरिकाले गर्दै आएको छ । तर, गज्जब कुरा त के छ भने भारतको सामरिक हतियार र खजाना खरिदको अङ्क अमेरिकाको तुलनामा रसियासँग बढी रहेको छ । भारत शीतयुद्धकालमा औपचारिक रूपमा असंलग्न राष्ट्र रहेको देखिए पनि सामरिक साझेदारीका हिसाबले अमेरिकाको सट्टा तत्कालीन सोभियत सङ्घको कित्तामा थियो । भारतले अमेरिकालाई सुइकोसम्म नदिई क्षेप्यास्त्रको परीक्षण र आणविक हतियार विकास गरेपछि अमेरिकाले भारतलाई नाकाबन्दी समेत लगाएको थियो ।

तर ट्रम्प प्रशासनसँग भारतको राम्रै उठबस रह्यो । यद्यपि चुनावताका भारतको कश्मिर मुद्दा उठाएकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसबाट आफ्नै मूलकी भए पनि भारत झस्केको छ । यदि कमला ह्यारिसले चुनावमा भने जस्तै कदम चालिन् भने भारतलाई कस्मिरमा मानवअधिकार हननको सवालमा अन्तर्राष्ट्रिय मञ्चमा निकै क्षति पुग्नेछ । यसबाहेक बाइडेनको संयमित र शान्त कूटनीतिका कारण अमेरिका र चीनबीचको सम्बन्धमा सुधार आएको खण्डमा पनि भारतले अहिलेजस्तो अमेरिकाको काँधमा चढेर चीन बिरुद्ध बन्दूक पड्काउने मौका पाउने छैन ।

नेपालसँग भने अमेरिकाको नीतिमा उस्तो ठूलो फरक पर्ने देखिँदैन । नेपालले मिलिनियम च्यालेन्ज परियोजना लागु गर्ने सन्दर्भमा केही खुकुलो अनुभव गर्ने अवस्था रहन सक्छ भने चीनलाई घेरा हाल्ने क्रममा नेपालमाथि पर्ने अमेरिकी दबाब हल्का हुन सक्ने आँकलन गर्न सकिन्छ । नेपालको अमेरिकासँग सन् १९४८ देखिको पुरानो सम्बन्ध छ र नेपाललाई अमेरिकाले जुनसुकै पार्टीको सरकारका बेलामा पनि विकास, प्रजातान्त्रिक संस्कृति विकास तथा सैन्य सहयोग निरन्तर दिँदै आएको छ ।  भारतको आँखाबाट नेपाललाई हेर्ने अमेरिकी परम्परालाई हटाउन नेपालले गृहकार्य र अभ्यास गर्न आवश्यक छ । यसका लागि नेपालको सक्रिय र दूरदर्शी कूटनीतिक चाल र पहल चाहिन्छ जुन नपालले विकास गर्न आवश्यक छ ।

जलवायु सम्मेलन र विश्व स्वास्थ्य सङ्गठन

अन्तर्राष्ट्रिय मञ्चहरूमा गरेका प्रतिबद्धता, सन्धि तथा जिम्मेवारीबाट हात झिकेर ट्रम्पले आफनो कार्यकालमा अमेरिकालाई बाँकी विश्वबाट अलग्याउने काम गरेका थिए । जस्तै जलवायुसम्बन्धी पेरिस सम्मेलन तथा विश्व स्वास्थ्य सङगठनबाट हात झिक्ने कार्य । बाइडेनले आफूले चुनाव जितेमा पहिलो कार्य दिनमै जलवायुसम्बन्धी ट्रम्पको निर्णय उल्ट्याउने घोषणा चुनावताका नै गरिसकेका छन् भने विश्व स्वास्थ्य सङ्गठनप्रतिको निर्णय पनि उल्ट्याउने उनको प्रतिबद्धता कहिले र कसरी कार्यान्वयन हुन्छ, हेर्न बाँकी नै छ ।

बाइडेनलाई ट्रम्पले बिगारेको अन्तर्राष्ट्रिय छवि सुधार्न पक्कै पनि समय र परिश्रम लाग्ने छ ।

प्रजातन्त्रको धब्बा, अमेरिकी भावि दिशा र दशा

विश्वकै सबैभन्दा पुरानो, उन्नत र नेतृत्वदायी प्रजातन्त्र भन्ने गरिएको अमेरिकी प्रजातन्त्रको निधारमा ट्रम्पकालमा नराम्ररी कालो धब्बा लागेको छ । उनको राजनीतिक आचरण, बोली र व्यवहारले हामीलाई भने बिहारी राजनीति सम्झाएको छ । अमेरिकालाई उन्नत प्रजातन्त्र मान्ने देशहरूलाई समेत यसपल्टको उनका विचार, व्यवहार, रबैया र कार्यशैलीले लज्जित बनायो ।

कार्टून साभारः ह्यामिल्टन स्पेक्टेटर

आफैँ संविधानको पालना गराउने सर्वशक्तिमान पदमा बसेर संविधानको धज्जी उडाउने काम ट्रम्पले गरे । हुलाकबाट हालेका मत प्रतिद्वन्द्वीका पक्षमा जाने जानकारीमा आएपछि त्यस्ता मतलाई गैरकानूनी भन्दै गणना नगराउन उनले पद र शक्तिको पूर्ण दुरुपयोग गरे ।

ट्रम्पले अमेरिकी चुनावको निषपक्षतामा अघिल्लोपल्ट जस्तै प्रश्न मात्रै उठाएनन्, विपक्षीले चुनाव अपहरण गरेको जस्ता निर्लज्ज, हास्यास्पद र हलुका टिप्पणी गर्दै मतगणना रोक्न बारम्बार दबाब दिइरहे अनि बचेखुचेको प्रतिष्ठा पनि धुलिसात बनाए ।

शान्तिपूर्ण ढङ्गले सत्ता हस्तान्तरण गरेर इज्जत बचाउने अवसर पनि उनका हठका कारण गुमेको छ । हुन त उसै पनि ट्रम्पलाई अमेरिकी मिडिया र नागरिकहरूले गम्भीरतापूर्वक लिन छोडिसकेका छन् ।

‘चुनाव जित्नु र हार्नु भनेको त जनताको हातमा हुन्छ, अमेरिकी प्रजातन्त्र र प्रकियाले काम गरिरहेकाले शान्त रहौँ, प्रणाली र प्रक्रियालाई विश्वास गरौँ’ भन्ने अभिव्यक्ति दिएर प्रशंसा बटुलेका बाइडेनको तुलनामा ट्रम्पले आफ्नै पार्टीका गभर्नर भएका राज्यमा समेत चुनावमा धाँधली भएका आरोप लगाउन पुगे । उनले जहाँजहाँ डेमोक्र्याटले जिते, त्यहाँत्यहाँ धाँधली र चोरी भएको मिथ्या आरोप मतगणनाभरि लगाइरहे । अमेरिकी र अन्तर्राष्ट्रिय मिडियाले उनको अभिव्यक्ति र आरोप आधारहीन भएको टिप्पणी पनि त्यत्ति नै धेरै गरी नै रहे ।

कार्टुन सौजन्यः वाशिङ्गटन पोष्ट

ट्रम्पले केही राज्यमा मतगणना स्थगन गर्न अदालतहरूमा मुद्दा हाल्ने काम पनि गरे । तर अदालतहरूबाट उनको अभिलाषा पूरा हुन सकेन । आफ्ना पर्यवेक्षकहरूलाई मतगणनास्थलमा नजिक गएर अवलोकन गर्न नदिएको सम्मका निराधार आरोप उनले लगाइरहे ।

यसअघि चुनावमा विजयी राष्ट्रपतिलाई वहालवाला राष्ट्रपतिले बधाई दिने चलन थियो । विजेता प्रतिद्वन्द्वीलाई हार्ने उम्मेद्वारले बधाइ दिने र हामी नयाँ राष्ट्रपतिका पछाडि रहेर उनलाई सहयोग गर्छौँ भन्ने चलन थियो । तर ट्रम्पले त्यो परम्परा पोलेर खाए । पर्यवेक्षकहरू यस मामिलामा के भन्छन् भने सबैभन्दा सस्तो व्यवहार अहिलेका बहालवाला राष्ट्रपतिबाट हुन पुगेको छ । उनका कारण राष्ट्रपति पदको गरिमा नै सस्तिन पुगेको छ ।

ट्रम्पले बाइडनको विजयलाई अस्वीकार गर्दै आफैँले चुनाव जितेको दाबी मात्रै गरेका छैनन्, उल्टै सर्वोच्च अदालतसम्म बाइडेनलाई घिसार्ने धम्की पनि दिँदै आएका छन् । उनलाई अदालत जाने अधिकार त छ, तर अदालतमा लहड, पूर्वाग्रह र मनगढन्ते कुरा नभई प्रमाण पेश गर्नुपर्ने हुन्छ जुन ट्रम्पसँग छैन भनी अमेरिकी मिडिया र विज्ञहरूले टिप्पणी गरेका छन् ।

कार्टून साभारः वाशिंगटन पोष्ट

सबैभन्दा गम्भीर कुरा भनेको ट्रम्पले अमेरिकीहरूबीच आपसी अविश्वास र भ्रम सिर्जना गर्ने, विभाजन गर्ने, प्रजातान्त्रिक पद्धतिको धज्जी उडाउने तथा शान्तिपूर्ण सत्ता हस्तान्तरण प्रक्रियाको विरुद्ध जाने अभ्यासको अनुसरण गरेर अमेरिकी प्रजातन्त्रमाथि धावा बोलेका छन् ।

ट्रम्पको यही रबैया र व्यवहारका कारण अमेरिकाबाट प्रकाशित ठूला पत्रपत्रिकाहरूले टिप्पणी र कार्टूनहरूका माध्यमबाट ट्रम्पको शठपूर्ण व्यवहारप्रति व्यङ्ग्य समेत गरेका छन् । मिडियालाई मिथ्या समाचार पकाउने कारखाना भनेर बारम्बार आलोचना गरेका कारण त्यसै पनि अमेरिकी मिडियाले ट्रम्पलाई मन पराउँदैनन् । माइक्रोब्लग ट्वीटरले त ट्रम्पका प्रायःजसो ट्वीटमा फ्याक्ट चेकर लगाएर उनका अभिव्यक्ति टाइमलाइनबाट हटाइदिने गरेको छ । तर यो लज्जास्पद अवस्थाले ट्रम्पलाई छोएको देखिँदैन ।

सौम्य बाइडेन

तर ट्रम्पको विपरीत अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले भने चुनावको सुरुदेखि नै संयमित अभिव्यक्ति दिँदै आएका छन् । उनले अमेरिकी गौरव, एकता र प्रजातान्त्रिक उन्नत अभ्यासको बचाउ गर्दै आएका छन् ।

गृहनगर डेलावरको विजय सभामा नवनिर्वाचित राष्ट्रपति बाइडेन । तस्बिर साभारः फ्रान्स २४ टेलिभिजन

ट्रम्पको तुलनामा बाइडेन बढी जिम्मेवार र संयमित देखिए । उनले ट्रम्प र रिपब्लिकनहरू केबल चुनावमा आफ्ना प्रतिद्वन्द्वी भएका र उनीहरू शत्रु नभई अमेरिकीहरू नै भएको भन्दै एकापसमा मिलेर अमेरका र अमेरिकी जनताको गौरवका लागि काम गर्न आह्वान गरेका छन् । आफू डेमोक्र्याट उम्मेदवार भए पनि सबै अमेरिकीको राष्ट्रपति भएको बताउँदै उनले आफूलाई मत दिनेकै सरह नदिनेका पक्षमा समेत काम गर्ने बताइसकेका छन् ।

उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसले आफू ह्वाइट हाउसमा पुग्ने पहिलो महिला भए पनि यो अन्त्य नभएको बताएर अमेरिकी किशोरी र युवतीहरूमा उच्च पदमा पुग्न सकिन्छ भन्ने आशा जगाएकी छन् ।

ट्रम्पः झण्डै साढे दुई महिनाका पाहुना

अबको अमेरिकी युग जो बाइडेन र कमला ह्यारिसको युग हो । ट्रम्पले जतिसुकै जिरह गरे पनि उनी ह्वाइट हाउसका लागि करिब साढे दुई महिनाका पाहुना हुन् । उनले मन पराए पनि नपराए पनि अब इलेक्टोरल कलेजले औपचारिक रूपमा निर्वाचनको परम्परा पूरा गरेपछि आउँदो नयाँ वर्ष २०२१ को जनवरी २० मा बाइडेनले सपथ ग्रहण गर्नासाथै त्यही दिनबाट उनले ह्वाइट हाउसमा जो बाइडेनलाई स्वागत गरी आफू बिदा हुनै पर्छ । त्यसअघि समेत ट्रम्पलाई मन परे पनि नपरे पनि उनले निर्वाचित राष्ट्रपति जो बाइडेनसँग बैठकहरू गर्नै पर्ने हुन्छ । बाइडेनले भने अब चुनावी विजय उत्सव सकिने बित्तिकैदेखि आफ्ना भावि नीति तथा प्रशासनिक संरचनालाई पूर्णता दिएर जनवरी २० का लागि तयार रहनुपर्ने हुन्छ ।

अमेरिकामा करीब साढे दुई महिनाको समय दुईवटा राष्ट्रपति हुने प्रचलन अनुसार President Elect का रूपमा बाइडेन करीब साढे दुई महिना तयारीमा रहनेछन् र शपथ नलिएसम्म उनीसँग कुनै प्रशासनिक अधिकार रहनेछैन तर उनले आफ्नो टिम नियुक्त गर्न थालिसक्ने छन् । ट्रम्पले भने बहालवाला राष्ट्रपतिको रूपमा जनवरी १९ सम्म यथावत रूपमै कार्यकारी प्रमुखका रूपमा काम गरिरहनेछन् ।

बाइडेन युगमा अमेरिका घरभित्रै एकता र विश्वासको वातावरण कायम गरी आन्तरिक समस्या समाधान गर्दै विश्वव्यापी रूपमा ट्रम्प प्रशासनभन्दा पहिले जस्तै नेतृत्वदायी र प्रभावशाली राष्ट्र रहिरहन सक्छ या उसको हैसियत थप खस्किँदै विश्व दुई ध्रुवीय या बहुध्रुवीय दिशातिर जान्छ भन्ने कुरा आउँदो चार वर्षले तय गर्नेछ ।

दुई ठूला दल, दुई कार्यकाल

अमेरिकामा साना अरु दल भए पनि डेमोक्र्याट र रिपब्लिकन पार्टीमध्ये पालैपालो अमेरिकी जनताले विश्वासको मत दिने गरेका छन् । यद्यपि, त्यहाँ स्वतन्त्र उम्मेद्वारले पनि राष्ट्रपति पदका लागि चुनाव लड्ने गर्दछन् ।  महामन्दीका बेला सन् १९३२ मा राष्ट्रपति निर्वाचित भएका फ्र्याङ्कलिन डि. रूजभेल्ट तीन कार्यकाल चुनाव जितेर चौथो कार्यकालका लागि सन् १९४४ मा पनि निर्वाचित भएका थिए । तर दोस्रो विश्वयुद्ध सुरु भएकाे केही समयपछि नै सन् १९४५ मा उनको निधन हुन पुग्यो । उनले सो कार्यकाल पूरा गरेका भए १६ वर्ष राष्ट्रपतिका रूपमा कार्य गरेका हुने थिए । तर उनको निधनका कारण उनले १३ वर्ष शासन गरे ।

यसबाट केही व्यक्तिहरूले रूजभेल्टले चारचार कार्यकाल चुनाव जितेपछि प्रश्न गर्न थाले — के अमेरिकामा कुनै राष्ट्रपतिले जति कार्यकाल पनि चुनाव लड्न पाउनु उपयुक्त हो? यो प्रश्नको समाधानका लागि रूजभेल्ट मरेको ६ वर्षपछि सन् १९५१ मा संविधानमा संशोधन गरियो – कुनै पनि व्यक्ति २ कार्यकालभन्दा बढी अमेरिकाको राष्ट्रपति पदमा चुनाव लड्न पाउने छैन ।

सो प्रावधानपछि सामान्यतया बहालवाला राष्ट्रपतिहरूले दुई कार्यकाल चुनाव लडे पनि लोकप्रिय राष्ट्रपतिहरूले  मात्रै दुई कार्यकाल चुनाव जित्ने गरेका छन् । अलोकप्रिय राष्ट्रपतिहरूले भने अहिलेका डोनाल्ड ट्रम्पले जस्तै एक कार्यकालपछि ह्वाइटहाउस् छोड्नुपरेको छ । जस्तैः जर्ज एच. डब्ल्यु बुश (१९८९-९३) ले दोस्रो कार्यकालका लागि खडा भएकामा डेमोक्र्याट उम्मेद्वार बिल क्लिन्टनबाट पराजीत भई एक कार्यकालमै चित्त बुझाएका थिए । तर उनले चुनावको परिणाम आउने बित्तिकै अहिलेका ट्रम्पले जस्तो नगरी प्रतिद्वन्द्वी क्लिन्टनलाई बधाई दिँदै उनलाई आगामी दिनमा आफूले सहयोग गर्ने घोषणा गरेका थिए ।

अपवादः चुनाव नलडिकनै उपराष्ट्रपति र राष्ट्रपति

अमेरिकामा राष्ट्रपति बहाल अवस्थामा रहेकै बेला मरेको खण्डमा उपराष्ट्रपतिले बाँकी कार्यकाल राष्ट्रपतिका रूपमा कार्य गर्ने संवैधानिक व्यवस्था छ । तर जिराल्ड फोर्ड मात्रै एक त्यस्ता व्यक्ति हुन् जसले इलेक्टोरल कलेजबाट निर्वाचित नभइकनै उपराष्ट्रपति र राष्ट्रपति दुबै पद सम्हाल्न पुगे । सन् १९७३ मा उपराष्ट्रपति स्पाइरो अग्न्युले निर्वाचित भएको दुई महिनामै राजीनामा दिएपछि फोर्डलाई उपराष्ट्रपतिमा राष्ट्रपति रिचार्ड निक्सनले संविधान संशोधन गरेरै नियुक्त गरे । उपराष्ट्रपतिमा नियुक्त भएको एक वर्षमै निक्सनले महाभियोगको सामना गर्नुपरेपछि राजीनामा दिए र फोर्ड स्वतः राष्ट्रपति हुन पुगे ।

Facebook Comments
ghamaraj
Comments (0)
Add Comment