कोरोनाकालको टीका, क्लिनफिडको सकस र दक्षिणको भ्रमण

समाचार टिप्पणी

काठमाडौँ । यस वर्षको बडादशैँअन्तर्गत महत्वपूर्ण दिन विजया दशमी कोभिड–१९ महामारीका बीच मूलतः परिवारभित्र सीमित रही टीका र आशिर्वाद थापेर मनाइएको छ । विगतका वर्षहरूमा टाढाटाढादेखि आउने आफन्तको स्वागत टीकाको दिन रातीसम्म पनि हुने गर्दथ्यो । तर यसपल्ट सामान्यतया आआफ्नै घर–डेरामा विजया दशमी मनाइएको छ ।

अधिकांशले टाढा हुने मान्यजनहरूबाट भर्चुअल भिडियो कलमार्फत् टीका र आशीर्वाद थापेको पाइयो । विगतका वर्षहरूका तुलनामा दशैँका लागि काठमाडौँ उपत्यका छोड्नेको संख्या नगण्य रहेको अवस्था छ । परिवारका मान्यजन लगायतका सदस्यहरूलाई कोभिड–१९ सङ्क्रमणको कारक आफू बनिने हो कि भन्ने डरका कारण पनि अधिकांश परिवारले जो जहाँ छ, त्यहीँ दशैँ मनाउने र टीका लगाउने सहमति गरेका थिए । सोही अनुसार नै यसपल्टको दशैँ–टीका मूलतः भौतिक हिसाबले घर–डेराभित्रै र सामाजिक मिडिया मार्फत् भर्चुअल रूपमा थापेर मनाइएको हो ।

सधैँ जस्तो राष्ट्रपति, प्रधानमन्त्री, पूर्व राजा तथा दलका नेताहरूले लगाइदिने टीका कार्यक्रम यसपल्ट कोरोनाका कारण रद्द गरियो । प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिएपछि उहाँहरूको दम्पत्तिले राष्ट्रपति विद्या भण्डारीबाट टीका ग्रहण ग¥यो । बालुवाटार र शीतल निवाससँगै निर्मल निवास यसपल्ट सुनसान रहे । दशैँमा शक्तिपीठहरूमा बली तथा दर्शनका कार्यक्रम रद्द भए भने सेना र प्रहरीका व्यारेक-कार्यालयमा समेत बली एवं रमाइलो जमघट यसपल्ट प्रभावित भए । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँगै सत्तापक्षीय र अन्य प्रतिपक्षी नेताहरूका निवास समेत यसपल्ट सुनसान भए । प्रमुख दलहरूका नियमित दशैँ चियापान र भेटघाट कार्यक्रम पनि यो वर्ष रद्द भए ।

कोरोना महामारीका बीचको यो दशैँ यति निरश र सुनसान रह्यो, सामाजिक मिडियामा यसका थरीथरी अनुभव पोखिन पुगेका छन् । तर, यो दशैँ भविष्यमा कोरोना कहर टरेपछि आफैँमा इतिहास हुनेछ र यो क्षण अनुभव गर्ने वर्तमान पिँढीले भावि पुस्तालाई कथा सुनाउने अवसर पाउनेछ ।

देशका विभिन्न भागमा बडादशैँको टीका लगाउने दिनहरू पनि आआफ्नै प्रचलनअनुसार रहेका छन् । कहीँ दशैँको टीका कोजाग्रत पूर्णिमासम्म लगाइन्छ त कतै विजया दशमीकै दिनदेखि टीका विसर्जन गरिन्छ ।

यसपल्ट कोरोनाकालको यो बडादशैँमा टीकाको साइतले पनि कैयन मान्छेहरूलाई झुक्याएको पाइयो । पण्डितहरूले फरक फरक समय बताउने र पञ्चाङ्ग निर्णायक समितिले पनि १०ः११ र १०ः१९ का दुईवटा साइत दिएका कारण मान्छेहरू झुक्किन पुग्नु स्वाभाविकै हो । यो साइतको दुविधा प्रायः कुनै कुनै साल छोडेर सधैँ यस्तै पार्ने गरेका छन् पण्डितहरूले । यिनीहरूका हिसाब फरक हुन्छन् कि जुँघा फरक हुन्छन्, प्रायः साइतमा तलमाथि पारिरहन्छन् ।

क्लिनफिडको सकसः

यसपल्टको दशैँको शुन्यपनमा अर्को थप शुन्यपन थपिन पुग्यो केही दिनअघि (कात्तिक ७) देखि लागु हुन पुगेको क्लिनफिडको कानूनी प्रावधान । नेपाल राजपत्रमा २०७६ कात्तिक ८ गते प्रकाशित विज्ञापन (नियमन गर्ने) ऐन २०७६ र २०७७ कात्तिक ३ को राजपत्रमा प्रकाशित विज्ञापन (नियमन गर्ने) नियमावली २०७७ ले तत्काल लागु हुने भनी उल्लेख गरेकोमा सरकारले यही कात्तिक ७ देखि क्लिनफिड लागु हुने निर्णय ग¥यो ।

तर एक वर्ष समय पाएका केबल वितरकहरूको फितलो तयारी र सरकारी निकायको कमजोर अनुगमनका कारण सबै च्यानलको अग्रिम शुल्क तिरेका ग्राहकहरूले अहिले विदेशी च्यानल हेर्न नपाएको अवस्था छ । दिइएका केही विदेशी च्यानलहरूले अझै विज्ञापन देखाइरहेका छन् भने दुई तिहाईभन्दा बढी विदेशी च्यानल कटौती गरिएका छन् । जसमा एउटा सूचना नेपाली र अङ्ग्रेजीमा घुमाइएको छ – ‘‘नेपाल सरकारको संचार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशन अनुसार, कार्तिक ७ गतेदेखि लागू गरिएको क्लिन क्लिनफिड (CLEAN FEED) नीतिको पालना नगरेको कारण यो च्यानल हाल अनुपलब्ध छ ।’’

यति सूचना घुमाएपछि केबल वितरकले आफ्नो जिम्मेवारी पूरा भएको मानेका छन् भने यसबारेमा दशैँ मनाइरहेकाले हो कि, सम्बन्धित निकाय मौन  छ । आखिर मार पहिले नै पैसा तिरेका आमउपभोक्तालाई परेको छ । केबल अपरेटरहरूले कोरोनाका कारण उपकरण झिकाउन नपाएको भन्दै फागुनसम्मको थप समय माग गरेका थिए ।

तर सरकारले एक वर्ष समय दिएकाले अब समय थप्न नसक्ने जनाउ दिएको थियो । फलतः कात्तिक ७ देखि क्लिनफिड लागु भयो । क्लिनफिड कुन रूपमा  लागु भएछ भनेर चाहिँ अब शायद् दशैँ मनाइसकेपछि सरकारले समीक्षा गर्ला कि ! तर आमउपभोक्ताले भने पट्यारिलो दशैँमा मन परेका च्यानलमार्फत् विभिन्न खेल, मनोरञ्जन, सूचना लगायतका च्यानल हेर्न नपाएको गुनासो सामाजिक मिडियामा पोखिरहेका छन् ।

नक्शाको चुच्चो र दक्षिणको भ्रमणः

यो दशैँभरि अर्को एउटा विषयले पनि चर्चा पाइरह्यो । त्यो विषय हो भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलको आकस्मिक नेपाल भ्रमण र प्रधानमन्त्रीसँगको भेटघाट । कसैले यसरी गोयलले प्रधानमन्त्रीलाई भेट्नु कूटनीतिक मर्यादा विपरीत भएको भनी टिप्पणी गरेका छन् भने कसैले स्वाभाविक भनेका छन् । यसमा प्रतिपक्षी र सत्तारूढ दलभित्रै  विपक्षीको भूमिका खेलिरहेका एकथरीले सरकारकाे आलोचना गरेका छन् भने सरकार र सरकारसमर्थक सत्तापक्षीय नेताहरूले भने भारतीय प्रधानमन्त्रीको दूत भएर आएका कारण प्रधानमन्त्रीले भेट्नु प्रोटोकलभित्रैको अभ्यास हो भनेर बचाउ गरिरहेका छन् । विदेश मामिला र नीति हेर्ने परराष्ट्र मन्त्रालयको लामो मौनताका कारण पनि यो विषयले बढी चर्चा पायो ।

प्रधानमन्त्रीको दशैँ सन्देशमा प्रयोग भएको नेपालको नक्शालाई पनि गोयलको भ्रमणसँग जोडेर राम्रै हल्लाखल्ला चल्यो । त्यसो त नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा लगायतले प्रधानमन्त्रीकाे दशैँ सन्देशमा राखेकाे नेपालको नक्शामा कालापानी र लिम्पियाधुराको चुच्चो नदेखेकाे र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले देखाएकाे प्रसङ्गले पनि केही समय सामाजिक सञ्जालका भित्ता रङ्गिएका थिए । उता भारतीय गोदी मिडियामा भने यो विषयले अर्कै ढङ्गले बढी चर्चा पायाे । गोयलले नेपाललाई सही लाइनमा ल्याएकाले नक्शाको चुच्चो हटाएर नेपालले आफूलाई सच्याएकाे भनेर खोक्नधरि भ्याए भारतीय गोदी मिडियाले ।

नेपालका बारेमा विवादास्पद अभिव्यक्ति दिएर नेपालमा बद्नामी कमाएका भारतीय सेनाध्यक्ष जनरल मनाेज मुकुन्द नरवणेको दशैँ लगत्तै हुने भ्रमणलाई लिएर पनि यो दशैँका बीच सामाजिक मिडियामा मिश्रित प्रतिक्रिया आइरहेका छन् । गोयलको भ्रमणमा भएका संवाद्लाई सरकारले अहिलेसम्म गोप्य नै राखेको छ ।

गोयलको सम्पन्न भ्रमण र नरवणेको  निकटासन्न भ्रमण नेपालका लागि कति महत्वपूर्ण हुन् र यी भ्रमणले भारतसँगको सम्बन्धमा कुन मात्रामा सुधार हुन्छ, नेपालको कब्जा गरिएको कालापानीदेखि लिम्पियाधुरासम्मको जमिन फर्काउने बाटो कति मात्रामा खुल्न पुग्छ भन्ने आमनेपालीको जिज्ञासा छ । जुन सवर्वभौम देशका बारेमा अनर्गल टिप्पणी गरेको हो, नरवणेले केही महिनापछि नै त्यही देशको भ्रमण गर्नुले नेपालको कुटनीतिक जीत भएको मान्नेहरूको संख्या ठूलै छ । आखिर नेपालका अगाडि उनी झुक्नु पर्‌यो भन्ने उनीहरूको तर्कमा असहमति जनाउन सकिँदैन । तर, नेपाल र नेपालीका बारेमा गलत टिप्पणी गरेका नरवणेलाई सरकारले स्वागत गरेर नेपाली सेनाकाे मानार्थ प्रधान सेनापति उपाधिबाट सम्मान गर्नु हुन्न भन्नेहरूको तर्क पनि गलत छैन । तर, सानासाना कुराले पनि दुई देशबीचको सम्बन्ध सुधार पनि हुन्छ, खराब पनि हुन्छ । अगाडिका घटनाक्रमलाई रेकर्डमा राखेर आपसी सम्बन्ध सुधारमा पहल गर्नु हामी जस्तो सानो देशको आवश्यकता पनि हो । यी सबै अवस्थाका माझ आम मतदाता र जनताको चासोलाई सरकारले सही समयमा सटिक सम्बोधन गर्नु पनि आवश्यक छ । हो, कुटनीतिका कैयन कुरा समयपहिले खुलासा गरिँदैन, किनभने यसमा दुई देशबीचको सम्बन्ध निहीत हुन्छ । तर सार्वभौम जनताका जिज्ञासालाई पनि कुनै न कुनै रूपमा सम्बोधन गर्नु, चित्त बुझाउनु र विश्वासमा लिनु समेत सरकारको कर्तव्य नै हो ।

आमनेपालीको विश्वास र एकताबाट संसद्मा देशको नयाँ नक्शा एकैमतमा पारित भए जस्तै आम जनतालाई विश्वासमा लिएर अघि बढ्दा मात्रै सरकारलाई पनि बल पुग्नेछ । जस्तै ठूलो सङ्कट पनि घरभित्रको आपसी विश्वास र मेलमिलापबाटै पार लगाउन सकिन्छ । यसमा अमेरिकी राष्ट्रपति फ्रयाङ्कलिन डि. रूजभेल्टलाई उदाहरणका रूपमा लिन सकिन्छ । महाआर्थिक मन्दीबाट उनले सबै अमेरिकीहरूलाई विश्वासमा लिएर देशलाई उठाएका थिए । उनको फायर साइड च्याट नामको रेडियो सन्देश कार्यक्रमको लोकप्रियता र विश्वसनीयता अहिले पनि उदाहरणका रूपमा लिइन्छ ।

त्यसो त, दशैँको सन्देशमा प्रधानमन्त्रीले नागरिक दायित्वबाट सरकार पछाडि नहट्ने प्रतिबद्धता देखाएर कोभिडको मारमा परेका नेपालीका घाउमा मलम लगाउने कोसिस गर्नुभएको छ । तर सरकारले यसअघि केही सीमित क्षेत्र बाहेकका अरु आमनागरिकलेे कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुुुुुुुपर्ने निर्णय गरेपछि कोरोना परीक्षणमा जानबाट मान्छे हच्किए। उता सरकारीदेखि निजी अस्पतालले लाख-लाखको धरौटी राख्नुपर्ने सूचना निकाले भने राष्ट्रिय  मानवअधिकार आयोगले यस विषयमा सरकारको ध्यानाकर्षण गरायो । स्वास्थ्य अधिकार नागरिकको मौलिक अधिकार भएकाले निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न सर्वोच्च अदालतले पहिले नै सरकारलाई आदेश दिइसकेको छ ।

सङ्घीय सरकार नागरिकलाई म सक्दिन भन, अनि तिम्रो परीक्षण र उपचार म गर्छु भन्दैछ भने प्रदेश र स्थानीय तह चाहिँ हामी कोरोनाको निःशुल्क परीक्षण र उपचार गर्छौँ भन्दैछन् । अब केन्द्र र प्रदेश तथा स्थानीय तहबीच सामन्जस्यता मिलाएर आम नागरिकको कोरोना परीक्षण र उपचारको व्यवस्था मिलाउनु समय सापेक्ष हुनेछ भन्ने चर्चाले पनि यो दशैँमा स्थान पायो । कतिले त अब दशैँमा गाउँघर पुगेकाले कोरोना झनै फैलाउने भएकाले दशैँपछि अझ बढी सावधानी अपनाउनुपर्छ भन्ने खालका टिप्पणी पनि गरिरहेका छन् ।

यस्तैयस्तै विषयले यो दशैँमा चर्चा पाइरहे । जे भए पनि केही शुन्यपन, केही रमाइलोपन र केही कौतुहलताका साथ यसपल्टको विजया दशमी विदा भएको छ । योपल्ट यस्तै भयो । आशा गरौँ, अर्को सालको दशैँसम्ममा कोरोना परास्त भइसक्नेछ र बडो हर्षोल्लासका साथ आघौँको दशैँ मनाउन पाइनेछ ।

Facebook Comments
ghamaraj
Comments (0)
Add Comment