विश्वव्यापी रूपमा महामारी बनेको कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न केही देश बाहेक सबैले आंशिक वा पूर्ण रूपमा लडकाउन (बन्दाबन्दी) को नीति अपनाए र सहज रूपमा संक्रमितको पहिचान गरी अन्य व्यक्ति वा समुदायमा कोरोना भाइरस फैलनबाट रोक्ने प्रयास गरे । नेपाल सरकारले पनि कोरोना भाइरस नियन्त्रण गर्नका लागि गत वर्ष चैत्र ११ गतेबाट देशव्यापी रूपमा बन्दाबन्दी जारी ग¥यो । त्यो बन्दाबन्दी १२० दिनसम्म गयो । त्यसपछि केन्द्र सरकारले जारी लकडाउन हटाइयो तर स्थानीय निकायहरूले आफ्नो क्षेत्रमा देखिने संक्रमणको अवस्था हेरी निशेधाज्ञा जारी गर्ने क्रम रोकिएको छैन । पछिल्लो समयमा नेपालीहरूको महान चाड बडा दशैं र तिहार आएको र देशको अर्थतन्त्रमा नकारात्मक असर परेको कारण आन्तरिक यातायात खुल्ला गरिएसँगै कोरोना संक्रमितको संख्या पनि उकालो लागेको अवस्था छ । विदेशबाट आउने विप्रेषण (रेमिट्यान्स) नघटे पनि आन्तरिक रूपमा आर्थिक गतिविधिहरू भने घटेका छन् ।
महामारीको समयमा जतिसुकै दर्विलो अर्थतन्त्र भए पनि आंशिक वा पूर्ण रूपमा प्रभावित हुन्छ भन्ने गतिलो पाठ विश्वव्यापी रूपमा भएको कोरोना भाइरस संक्रमणले दिएको छ । विगतका महामारीले पारेको आर्थिक र मानवीय असरबारे थोरबहुत जानकारी भए पनि वर्तमान प्रविधिको विकासको कारण महामारीले विश्वव्यापी रूपमा पारेको प्रभावको घरमा बसेर हामी अनुभव गरिरहेका छौँ । महामारीको दौरानमा कतिले रोजगार गुमाए, कतिले आफ्नो व्यवसाय गुमाए त कतिले जीवनमा नकमाएको पैसा यो महामारी र बन्दाबन्दीको दौरानमा कमाए । अर्थात् महामारीको कारण गरिएको बन्दाबन्दीले कसैलाई आर्थिक रूपमा कमजोर बनायो त कसैलाई सम्पन्न पनि बनायो ।
यो कोरोना महामारीले आर्थिक पक्षमा ठूलो पाठ दिएको छ । हामीसँग जिन्सी मात्र होइन, नगद बचतको आवश्यकता पनि पर्दो रहेछ । बैंक, वित्तीय संस्था, सहकारी वा आफूसँग नै नगद राख्नेहरूले महामारीको दौरानमा केही सहजताको अनुभूति गरे । विगतमा जति कमायो त्यति खर्च गर्नेहरू अहिले महामारीको दौरानमा बढी प्रभावित भएका छन् । जिन्सी भन्दा पनि नगदको प्रभाव ज्यादा हुँदो रहेछ ।
अर्थतन्त्र सामान्य अवस्थामा होस् या महामारी या प्रकृतिक विपत्तीको दौरानबाट गुज्रिएको होस मानवीय व्यवहार धेरै प्रभावित हुन्छ । मानवीय व्यवहारलाई प्रभाव पार्ने तत्व साधन हो । त्यो साधन दुई स्वरूपमा रहेको हुन्छ, एउटा नगद (पैसा) को रूपमा तरल हुन्छ भने अर्को जिन्सी (घर जग्गा, सुनचाँदी, उत्पादनको कच्चा पदार्थ इत्यादि) को रूपमा रहेको हुन्छ । समाजमा मानिसको आर्थिक हैसियत ऊसँग कत्रो ठूलो घर छ, कति जग्गा छ कति कार छन्? कति सुनचाँदी छ त्यसको आधारमा हेरिन्छ । अर्कोतिर ऊसँग कति तरल सम्पत्ति (नगद) छ त्यसको आधरमा ऊ आफ्नो उत्पादन र लगानीको रणनीति बनाउँछ । धेरै जग्गा, सहरमा ठूलो घर हुने व्यक्तिले पनि थप लगानी गर्नका लागि आफ्नो जिन्सी सम्पत्तिलाई बैंकमा धितो राखेर नगद ऋण लिएर काम गर्छ या जिन्सी सम्पत्ति बेचेर नगद बनाउँछ ।
मानिसको खल्तीमा भएको पैसा र ऊसँग भएको धेरै जग्गा, सहरको भाडामा लगाएको ठूलो घर, ठूला उद्योगका मेसिनहरू, लामो दुरीका यातायातका साधनहरू, सयौँको संख्यामा भएका अन्तर्राष्ट्रिय उडान भर्ने हवाई जहाज कम्पनीहरू, फाइभ स्टार अन्तर्राष्ट्रिय स्तरका होटलहरूको शक्ति कति हुन्छ ? केही पछिल्ला उदाहरणले प्रष्ट पार्छ ।
उदाहरण १
कोरोना महामारीपछि सरकारले जारी लकडाउनसँगै देशको राजधानी काठमाण्डौैँ अनि काठमाण्डौँको व्यापारिक मुटु मानिने न्यूरोड र ठमेलमा धेरै व्यवसायीहरूले कोठा बहाल तिर्न नसकेर आफ्नो सटर बन्द गरे । घर साहुलार्ई बन्दाबन्दी अवधीको बहाल छुट दिन आग्रह गर्दा केही मनकारी घरबेटीहरूले केही प्रतिशत छुट दिए त धेरैले छुट दिन मानेनन् । सटर बहालमा लिएर व्यवयास गर्नेहरूसँग व्यवसाय नहुँदा साहुलाई कोठा बहाल रकम भुक्तान गर्ने पैसा भएन । अर्कोतिर कतिपय घर साहुहरूको आयको स्रोत पनि वहाल रकम मात्र हुन्छ । तिन चार महिनाको बहाल छुट दिँदा घरबेटीको के जान्थ्यो र ? नेपालकै महङ्गो ठाउँको घर धनी हो । त्यत्रो घरको मालिक भएर पनि किन लोभ गर्छ घर धनीले ? एक वर्षसम्म व्यपार नभएको बेला बहाल रकम छुट दिँदा उसको के नै जान्थ्यो होला र ? कोठा बहालमा लिएर व्यापार गर्नेहरूसँग सामान भएर के गर्नु किन्ने ग्राहक छैनन् । घर बेटीलाई सामान भुक्तान गरेर हुँदैन नगद रकम भुक्तान गर्नै प¥यो । भाडाामा कोठा लिएर व्यवसाय गर्ने वा वहालमा बस्नेले कोठा खाली गरेपछि घरबेटीको आयस्तर पनि घट्यो । न्यूरोड वा ठमेलमा ठूलो घर भएर के गर्नु ? उसले पनि भोक लागे पछि खाने घरको इटा, सिमेन्ट, रड होइन दाल भात, तरकारी नै हो, बिरामी भएर अस्पताल जाँदा इटा, रड तिरेर हुँदैन नगद रकम भुक्तान गर्नु पर्छ । व्यापारका लागि चल्तीको ठाउँमा घर भएर के गर्नु बहालमा नलागे सम्म नगद आम्दानी हुँदैन ।
उदाहरण २
नेपालमा रोजगार दिने निजी क्षेत्रको एउटा सम्भावित क्षेत्र भनेको निजी विद्यालयहरू हुन् । कतिपय निजी विद्यालयहरू ठूला भवन भएका, धेरै बस भएका, धेरै शिक्षकहरूले रोजगार प्राप्त गरेका पनि छन् । निजी विद्यालयहरूको आम्दानीको मुख्य स्रोत विद्यार्थीहरूबाट विभिन्न शीर्षकमा लिइने शुल्क हो । अहिले कोरोना सङ्क्रमणको कारण विद्यालयहरू बन्द छन् । अन्य धेरै क्षेत्र चलायमान भए पनि सरकारले धेरै भिडभाड हुँने क्षेत्र भनेर विद्यालय क्षेत्रलाई बन्द गरेको छ । त्यस्ता विद्यालयमा काम गर्ने शिक्षक तथा कर्मचारीहरूले पारिश्रमिक पाएका छैनन् । ठूलो विद्यालय भएर के गर्नु ? अभिभावकबाट विद्यालयलाई नगद भुक्तान नगरेसम्म विद्यालय सञ्चालकले बैंकको ब्याज भुक्तान गर्न भवनको एक एक भाग बुजाउनु भएन, शिक्षकहरूलाई तलब भत्ताको रूपमा डेक्स बेन्च दिनु भएन ।
उदाहरण ३
सामान्य अवस्थामा नेपालको विभिन्न भागमा बसोबास गर्ने नेपालीहरू दशैं मान्न आफ्नो घर जान्थे । लामो दुरीका यातायातका साधन मालिकहरूलाई भ्याइ न भ्याइ हुन्थ्यो । उनीहरूले नाफा कमाउने समय पनि यही हो । तर यसपाली कोरोना महामारीको कारण लामो दुरीको यातायातका साधनमा यात्री छैनन् । करोडौँको लगानीमा किनेका गाडी जिन्सी सम्पत्ति भएर के गर्नु बैंकलाई सावा र व्याज भुक्तान गर्ने नगद छैन, चालक र सहचालकलाई भुक्तान गर्ने रकम छैन । सामान्य अवस्था कहिले आउँछ टुङ्गो छैन । त्यसबेला सम्ममा गाडी खिएर, बिग्रेर काम नदिने अवस्थामा पुग्न सक्छ ।
यस्ता उदाहरण धेरै छन् । महामारीको दौरानमा धेरैले रोजगारी गुमाए, आयस्तर गुमाए । कतिपय कम्पनी र संस्थाहरूलाई पुरानै लयमा फर्किन लामो समय लाग्ने भयो । दशकौं वर्ष लगाएर बनाएर जग एक्कासी भत्कियो । जिन्सी सम्पत्ति भएर पनि काम गर्न नसकिने अवस्था सिर्जना भयो ।
यो कोरोना महामारीले आर्थिक पक्षमा ठूलो पाठ दिएको छ । हामीसँग जिन्सी मात्र होइन, नगद बचतको आवश्यकता पनि पर्दो रहेछ । बैंक, वित्तीय संस्था, सहकारी वा आफूसँग नै नगद राख्नेहरूले महामारीको दौरानमा केही सहजताको अनुभूति गरे । विगतमा जति कमायो त्यति खर्च गर्नेहरू अहिले महामारीको दौरानमा बढी प्रभावित भएका छन् । जिन्सी भन्दा पनि नगदको प्रभाव ज्यादा हुँदो रहेछ ।