महामारीयुक्त दशैँ, म र मेरो देश

जीवनचक्र गजबको भइरहेको छ । सुनसान दशैँ यो जीवन चक्रकै एक खेल हो । आमा बाबु, भाइ, दाजु, बहिनी, दिदी, काका, बाजे भाउज्यू, सासु–ससुरा मनभित्र रहे पनि समयको प्रवाहले भौतिक भेटघाट कठिनाइबाट गुज्रिरहेको छ । रोग व्याधीको उल्कापात भैरहेको छ । राज्य र सरकारले हात उठाएर आफ्नो जिम्मेवारीबाट भागेको अवस्था देखिन्छ । यो देशमा मन्त्रालय छ, राज्यका अवयवहरू छन्, राष्ट्रपति प्रधानमन्त्री, मन्त्री सबै छन् तर जनताको सरकार छ कि छैन मनमा प्रश्नवाचक चिन्हहरू उठिरहेका छन् । पंख लगाएर राज्य र सरकारको आयतनमा आजीवन आकाशमा उड्छु भनेर उडिरहेको छ । पुनः धर्तीमा आउने कुरालाई विर्सेको जस्तो छ । देशभित्र राष्ट्रिय एकता, न्यायोचित समाजको संरचना र जनतन्त्रको उद्देश्यलाई सर्वोच्च शासकीय सत्ता र पदप्राप्तिका लागि उपयोग र प्रयोग भएको देख्दा देश कतातिर भन्ने जिज्ञासाहरू पानीका फोका झैं उठछन्, फेरि फुटछन्, फेरि उठिरहेका छन् ।

जनताको जनमत र दलका घोषणापत्रहरू पानीका फोका भएका छन् । भक्तिमार्गको कथा, कविता, श्लोक रचिएका थिए विभिन्न कालखण्डमा । धर्म क्षेत्रमा भक्तिका कथाहरू मोक्षको मार्ग हुन सक्ला इश्वरवादी चीन्तनबाट हेर्दा । तर राजनीतिमा राजनेताहरूको लागि भक्तिकथा, भक्ति कविता लगायत साहित्य र विचार सृजनाको राजनीतिले राष्ट्र, अधोगतितिर जान्छ । राजनीतिले मूल्य हराउँछ, शासक अधिनायक बन्न पुग्छन् । मूल्य हिनताको राजनीतिको वर्तमानमा दलहरू, राजनेताहरू, उनका सल्लाहकारहरू, शासकीय पदमा रहेकाहरू, विचौलियाको रुपमा पूजिँपति, सामन्तवादका शेष अवशेषहरूले उत्तिकै भूमिका खेलेका छन् ! गणतन्त्र नेपालमा करको बोझले जनता दविएका छन्, जनतालाई हातमुख जोर्न धौधौ परेको छ । विश्वको धनीका सूचिमा सूचिकृत भएकाहरू नेपालमा कम कर तिर्छन् । तिनै कर जनताको लागि, जनहितको लागि खर्च गर भन्नेहरूलाई अराजनीतिक चिन्तन बोकेकाहरू भन्ने आरोप लगाइन्छ र शासकहरूको कानले भक्ति भजन मात्र ग्रहण गर्छ ।

आलोचकहरू पनि कोही सदावहार छन् । कोही विषयवस्तुको आधारमा आलोचना गर्छन् । सदावहार आलोचकहरू पक्ष, विपक्षका महिमा मण्डित गर्दै तुष पोख्ने पनि छन् । राज्ययन्त्र साच्चै आज जनसामान्यप्रति उदासिन छ । सत्ताप्रति अति मोह चाहे दलको चाहे राज्यको नेताहरूको मोह माया यसैमा अडेको छ । जो राज्य सत्तामा गयो उसैको अहम् बडेको छ । निजी सुख सुविधा प्रतिको आकर्षणले राजनीति व्यवसाय बनेको छ ! राजाकालमा, राणाकालमा राजा र श्री ३ हरू शासक थिए जनता प्रजा ।


मैले पनि भजन गाएँ होला, अरुले पनि गाए होलान् । नगाएको पनि होला, तीतो मात्र जीवनभरि पोखेको पनि होला । तर दशैँले आलोचनात्मक चेत जगाएकोले आफैले आफैँलाई शासक कार्यकर्ता, राजनेता, दलको स्वरूपमा हेरी आत्मसमीक्षा गर्ने कोशिस गरेको हुँ र जनता भई मूर्त चेतनाबाट आफैँले आफैँलाई प्रश्न पनि हो ।


बहुदलकाल, गणतन्त्रकालमा राजनेताहरू राजा र श्री ३ भए । जे तन्त्र आएपनि समयको कालमा भोट दिने वाहेक जनता काहिले पनि जनता भएनन् केवल प्रजा मात्र भए ! राजनेताहरू र दलहरू सच्चिने क्रम रहेन । उहि सामन्ती संरचनाकै मोहमा रमाउन थाले । दोष राजनेताहरूको र दलको मात्र होइन, हामी मत दिने मतदान गर्ने दानीहरू पनि उत्तिकै दोषी छौँ । देशको सरकारले कोरोनाको उपचार आफैँ गर्नु भनि गरेको घोषणा राजनैतिक मूल्य विघटन त हो हो त्यसमा जीवन मूल्यको पनि विघटन भएको छ ।

दशैँँ यिनै सवालमा दोवाटोमा खडा भएको छ । प्रवुद्ध वर्ग भनिनेहरू मध्ये अधिकांस राज सम्मानको आकांक्षामा स्वाभिमानबाट च्यूत भइरहेका छन् । हामी सबै त्यसै दिशातिर उन्मुख छौ । जसरी समाजवाद उन्मूख अर्थतन्त्रको कल्पना गरेको संविधान व्यवहारमा विचौलियाको साम्राज्य खडा गर्न पक्ष–विपक्ष सबै लागि परेका छन् । आजको राजनीतिका आलोचकहरूले हिजो के गरे ! हिजोका आलोचकहरू आज के गर्दैछन् भनेर हेर्ने हो भने रुपमा, रंगमा, लवाइखुवाइमा फरक होला तर सारमा फरक छैन । कोही पनि पूर्ण तटस्तता हुन सक्दैनौं । भक्ति भजनको लागि वेदव्यास सबै बन्न सक्तैनौं ।

मतदान गर्नेहरूले कोरोनाको कहर भित्र दशैँंको रमझम मनाउन सकेका छैनन् । भोट दिने कस्लाई के कारण दियौं भनेर आत्मसमिक्षा गरेर बसेको अवस्था छ दशैँमा । हिजोकाले केही नापेन र आजकाले पनि केही गर्ने छैनन् भन्ने आमविश्वास पलाएको छ । स्वर्गको कल्पना ग¥यौं – प्रेतलोक मात्र पस्की दिन्छन् राजनेताहरू । सहज बाच्ने कलाको जिवन खोज्छौ राज्य कर लिन्छ, र करहरू इच्छा अनुरुप आफ्ना लागि खर्च गर्छन र जनताको जिवनलाई असहज बनाइदिन्छन् ! कुरो समाजवादको हुन्छ काम नीजिकरण को हुन्छ ! गुनासाका पोकाहरू जन–जनमा छ । भक्ति साहित्य सिर्जना गर्नेहरूमा पनि लोभले केहि भन्न नसकि स्वविवेकलाई थाति राखेका होलान ।

बाजहरू, चिलहरूले जति उडान गरे पनि वास वस्न धर्तीमा नै आउछन् । हामीले वास वस्ने ठाउ जतनाको घर आँगन हो भन्ने नबुझेपछि सत्ताको मादकतामा दलका नेता बन्ने होडको मादकतामा रमाइरहँदा वास माग्न आउदा ढोका लाग्न सक्छ । वास पाउन सक्तैन र चिसो सितमा रात–रातभरि बस्दा त्यतिखेर मादकताले काम गर्दैन । दशैँमा देवीले खप्परहरूका माला लगाएकी छन्, हतियार भिरेको, महिषासुर मर्दन, गरेको चित्र आँखाअगाडि आउँछ । यो विम्वले जनतालाई आफ्नै अर्थमा समयले बुझाउला तर शासकहरू, राजनेताहरू, दलहरूले आफूलाई देवीको रूपमा नठानून् । देवी–देवता जनता जनार्दन नै हुन् ।

२०७७ को कार्तिक महिनाको दशैँले यस्तै यस्तै चेतना, अचेतन मनहरूमा यिनै सवाल उठेकाले यिनै सवाललाई जिज्ञासु मनले उठाएको हो । कसैलाई सराप्नैको लागि प्रश्न उठेको होइन । तीतो सत्य उजागर गरेको हुँ । मैले पनि भजन गाएँ होला, अरुले पनि गाए होलान । नगाएको पनि होला, तितो मात्र जीवनभरि पोखेको पनि होला । तर दशैँले आलोचनात्मक चेत जगाएकोले आफैले आफैँलाई शासक कार्यकर्ता, राजनेता, दलको स्वरूपमा हेरी आत्मसमीक्षा गर्ने कोशिस गरेको हुँ र जनता भई मूर्त चेतनाबाट आफैँले आफैँलाई प्रश्न पनि हो । बडादशैँँको शुभकामना ।

Facebook Comments
Ramesh
Comments (0)
Add Comment