कोभिड-१९ को विकराल महाव्याधी हाम्रा घरभित्रसम्म छिरेर ताण्डब मच्चाइरहेको बेला हर्षउल्लासको ठूलो चाड बडादशैँले छोपेको छ । हामीलाई कोभिड-१९ विरूद्ध पनि लड्नुछ, दशैँ पनि मनाउनुछ । विपत्तिका बेलाको चाड कसरी मनाउने ? असामञ्जस्यताको अवस्था छ यतिखेर । त्यसमाथि आम्दानी छैन । महँगी टाउकामाथि चढेको छ ।
सामान्य अवस्थामा भए हाम्रो आय अवस्था सन्तोषजनक हुन्थ्यो । दशैँका लागि भनेर पैसाको जोगाड गर्थ्यौँ । बाहिर खुला हावामा रमाउँदै घुमफिर गर्थ्यौँ । किनमेलका लागि बजार जान्थ्यौँ । दशैँमा आफन्तकहाँ जम्मा भएर खाने, खेल्ने गर्थ्यौँ । टीका थाप्न र आशिर्वाद लिन मान्यजनकहाँ जान्थ्यौँ । नयाँ कटकटे नोट हातमा, उमङ्ग साथमा । अर्कै हुने थियो । तर अहिले बेला त्यस्तो छैन । कोभिड-१९ गाउँ-टोल र घरघरसम्म फैलिसकेको छ । राज्यका निकायहरू प्रभावहीन बन्दै गइरहेका छन् । कोरोना कहरका अगाडि राज्य संयन्त्र निरीह हुँदै गइरहेको छ । राज्य क्रमैसँग कोरोना विरुद्धको लडाइँमा हात झिक्दै र पछि सर्दै गइरहेको छ । अब ‘सक्नेले आफनो जीऊज्यानको सुरक्षा आफैँ गर, नसक्ने मर’ को अवस्थामा तपाईहामी आइपुगेका छौँ । एकातिर आर्थिक रूपले थला पारेको बेला छ, अर्कोतिर महाब्याधीले झन् पञ्जा कस्दै गइरहेको छ । यस्तो अवस्थामा चाडको उमङ्ग फिका पर्नु स्वाभाविकै हो ।
अब हामीले भन्नुपर्ने हुन्छ, कोभिडको प्रकोप घटेछ भने किनमेल र बजार भर्ने काम पछि गरौँला । दशैँमा पिङ पनि पछि नै खेलौँला । टीका थाप्न अर्को साल हिँडौँला । घुमफिर पनि पछि नै गरौँला । घरमा जेजस्तो छ, अहिले त्यसैले काम चलाऊँ । योपल्टको दशैँ यसरी नै टारौँ । बाँचीबर्ती रहेमा अर्को साल दिल खोलेर चाडपर्व मनाउँला ।
बाँचे संसार देख्न पाइन्छ भनेजस्तै यो महामारीका बेला जोगिन सकियो भने दशैँ लगायतका चाडबाड त फेरि पनि मनाउन पाइन्छ । देशको राजधानी काठमाडौँ उपत्यका अहिले कोभिडको पनि राजधानी बन्न पुगेको छ । स्वभावतः पातलो बस्ती र गाउँ क्षेत्रको तुलनामा धेरै बाक्लो बस्ती र बजार क्षेत्रमा कोरोना छिटो फैलिन्छ । राजधानी लगायत सहरबाट दशैँ मान्न गाउँघर जानेहरूमार्फत् कोभिड-१९ गाउँगाउँसम्म फैलिने खतरातर्फ औँल्याउँदै विज्ञहरूले सचेत गराइरहेका छन् । सहर या गाउँ, जहाँ पनि जति धेरै व्यक्तिहरूको ओहोरदोहोर भयो, त्यति नै कोरोनालाई मलजल पुग्ने हुन्छ । बजार र सपिङ मल वा मार्टहरूमा जति धेरै हामी भीडभाड गर्छौँ, त्यति नै कोरोनाको सङ्क्रमण तीब्र गतिमा फैलिँदै जान्छ । अनि जति धेरै हामी आफन्तकहाँ आवतजावत गर्छौँ, बजार डुल्छौँ, त्यति नै हामीले जानी नजानी यो महामारीरूपी आगोमा घिउ थप्ने काम गर्छौँ ।
एकपल्ट सम्झौँ त, लक्षण सहितको कोरोना लागेर गाह्रो भएमा अस्पतालमा बेड पाउन कठिन छ । बेड पाए उपचार पाउन कठिन छ । उपचार र परीक्षणको भार बहन गर्नबाट सरकार पछि हटिसक्यो । व्यक्तिकै खर्च र पहलमा मात्रै अब कोरोना परीक्षण र उपचार सम्भव छ । आफू एकजनालाई सङ्क्रमण भएमा परिवारमा समेत सङ्क्रमण फैलिने डर रहन्छ । कोरोनाका कारण मनोवैज्ञानिक समस्या समेत झेल्नुपर्ने हुन्छ । यद्यपि, सबै हिसाबले सावधानी अपनाउँदा र परहेजमा रहँदारहँदै पनि कोरोना कहर भोग्नुपर्ने अवस्थामा कैयन व्यक्ति र परिवार पुगेका छन् भने अलिकति सावधानी नअपनाउने हो भने यसले झनै विकराल रूप लिन सक्छ । त्यसैले यस्तो अवस्थामा सकभर सङ्क्रमणमा नपरियोस् भनेर सावधानी अपनाउनु सबैभन्दा बुद्धिमानी हुनेछ ।
महामारीसँगै दशैँको चेपुवामा परेका आमउपभोक्ता तपाई–हाम्रो ढाड अचाक्ली र कृत्रिम महँगीले भाँचेको छ । एकातिर आम्दानी छैन, अर्कातिर कोरोनाको त्राश छ अनि ऋण काढेर पनि मनाउने परम्परा धानेको दशैँ भित्रिएको छ । हामीलाई कोरोनाबाट पनि बच्नु छ । दशैँ पनि मनाउनु छ । अब रामबाण उपाय भनेकै किफायती र सावधानीपूर्वक आफ्नै परिवारमा सीमित रहेर चाड पनि धान्नु, कोरोनाबाट पनि बच्नु हो ।
त्यसैले, अब हामीले भन्नुपर्ने हुन्छ, कोभिडको प्रकोप घटेछ भने किनमेल र बजार भर्ने काम पछि गरौँला । दशैँमा पिङ पनि पछि नै खेलौँला । टीका थाप्न अर्को साल हिँडौँला । घुमफिर पनि पछि नै गरौँला । घरमा जेजस्तो छ, अहिले त्यसैले काम चलाऊँ । जो जहाँ छौँ, त्यहीँ दशैँ मनाऔँ । योपल्टको दशैँ यसरी नै टारौँ । बाँचीबर्ती रहेमा अर्को साल दिल खोलेर चाडपर्व मनाउँला । बडादशैँ २०७७ को उपलक्ष्यमा तपाईलाई मुरीमुरी शुभकामना ।