घट्दो क्रम

चट्याङ-प्रहार

उहिले-उहिले मौजा र गाउँहरू लेनदेन गर्थे

यो डाँडो किनेको र त्यो फाँट बेचेको भन्थे

अहिले मौजाको र गाउँको त कुरै भएन

पाखो, बिघा र रोपनी पनि धेरै लाग्छ

यति धूर, आना, हात र स्क्वायर फिटमा कुरा हुन्छ

यति खिइसक्यो मानिस र खुम्चिइसक्यो पृथ्वी

अब त मानिस र धर्ति आपसमा बिलाउलान् जस्तो लाग्छ

 

उहिले-उहिले ग्रन्थ महाकाव्य रचना गर्थे

थोरैमा पनि खण्ड काव्य र सङ्ग्रह सिर्जना गर्थे

छोटोछोटो रचनाको पनि लामो माला बुन्थे

अब त चार हरफका कविता पनि लामो लाग्छ

सत्र, अठार अक्षरका हाइकु र खोरिया चल्छ

यति सुक्ष्म भैसक्यो साहित्य र व्यापक भइसक्यो दृष्टि

अब त एकाक्षरी “ॐ” नै सम्पूर्ण साहित्य लाग्छ

 

उहिले-उहिले अनन्त, अनादि र युगका कुरा हुन्थे

युगबाट झर्न परे कालखण्ड भन्थे, कल्प भन्थे

जीवन यात्रा र तीर्थ यात्रा लामै समय चल्थे

समय गणनामा ऋतु हराएर अब त मात्र वर्ष, महिना र दिन हुन्छ

घन्टा र मिनेटमा चलेका मान्छेलाई सेकेन्डको अभाव हुन्छ

नारी, भित्ता, र गोजीमा समय हेर्नेलाई चन्द्र र सूर्यले समय भन्दैन

जीवन जिउने समय बिर्सिएर घडीसँगै यसरी दौडिरहेछ मान्छे

अब त मानिस सकिएछ र मात्र समय बाँकी रहेछ जस्तो लाग्छ !

Facebook Comments
chatyang
Comments (0)
Add Comment