आयस्ता नभएर स्रोत गतिला सुक्दै गए यो घरी 
कोरोना कहरै भएर मुटुमा गड्दैछ काँडासरि 
आँखाबाट झरेर आँसु भल यो बग्दैछ मन्नोदरी 
के मानिन्छ दशैँ हजूर बढ्दो सन्त्रासमा यस्तरी?॥१
आगो बाल्छ सधैँ बढेर महँगी ओर्लिन्न उक्लेपछि 
आशापास रहन्छ मांश मदको के दाँत फुक्लेपछि 
छोरो बस्छ विदेशमा घरतिरै फर्किन्न त्यो क्यैगरी 
के मानिन्छ दशैँ हजूर बढदो सन्त्रासमा यस्तरी?॥२
बस्छे पुत्र-बधू उता शहरमा बच्चा पढाएर जो 
उस्को लागि हुँदैछ स्वर्गसरिको त्यै राजधानी अहो! 
एक्लो भैकन गाउँको घर कुरी बस्दा अचानो परी 
के मानिन्छ दशैँ हजूर बढदो सन्त्रासमा यस्तरी?॥३
बाटोको निहुँमा पहाड पनि यो खोस्रेर साह्रै गरी 
चारतर्फ चिरापरेर पहिरो जाँदै छ हो बेसरी 
धेरै छन् घरबारहीन मनुवा यो ठाउँमा यो घरी 
के मानिन्छ दशैँ हजूर बढदो सन्त्रासमा यस्तरी?॥४
छोरी माइत आउनै पर भयो बस्छे बिरानो बनी 
पर्दामा डर रोग सङ्क्रमणको बच्चा छ सानो भनी
 आफ्नो रीत-रिवाज नासिन गयो थामिन्छ यो के गरी 
के मानिन्छ दशैँ हजूर बढदो सन्त्रासमा यस्तरी?॥५
टाढा भो वय देह निर्बल भयो लाग्यो बुढ्यौलीतिर 
लाग्दा रोग निःशुल्क औषध कुनै पाइन्न रे आखिर 
आफ्नै जीवन बोझ साबित हुने बेला भयो हे हरि! 
के मानिन्छ दशैँ हजूर बढदो सन्त्रासमा यस्तरी?॥६
		Facebook Comments