ओछ्याएका वाद र तगारा

कविता (छन्दः शार्दूलविक्रीडित)

घोकें वाद विवाद या मतहरू सिद्धान्त राम्रो चुनी।

मेरो यो मत वाद स्वाट्ट कसरी लुक्दै छ थाङ्नामुनि।

थैलाको लत या बिलास तनमा लागेर बिर्स्यो कि त।

मैलो के मनमा पसेर हरियो यो जोस तिम्रो कि त।।

                          **

गान्धीवाद लिएर आइ कहिले आशा जगाए गए।

ल्याए मार्क्स चिनेर हुन्छ भनियो बाली भजाए गए।

नातावाद रहेछ स्वार्थ धनको व्यर्थै चुनेको किन ।

खाँदा खाँद धनी गए सदनमा कानून रुन्चे किन ।।

                            **

छन् सम्धी, ससुरा, बडा जखमले छानेर राख्दा हुने।

साथैमा भतिजा भए त गतिलो सल्लाह राम्रो दिने।

होलान् गोप्य कुरा नभन्नु पर त्यो आफ्नो सदा चाहिने।

यस्ता तर्क कुतर्कले मुलुकमा के मुक्ति त्यो पाइने।।

                            **

तिम्रा वाद रछ्यानमा पुगिसके देखाउँने दाँत हुन्।

हेर्दाका महसूर छन् तर सबै हत्याउने बात हुन्।

तिम्रो चिन्तन छैन छैन जनता जागा गराइ दिने।

खाली रञ्जन मात्र देख्छु ढडिया माछा उघाइ लिने।।

                           **

आहारा धनका धनी महलका ती नीति छन् बन्दछन्।

साहारा किन हुन्न ती गरिपका झुप्रा बरा बन्दछन्।

कोरोना सजिलो भयो मुकुटको खास्टो बढो दर्बिलो।

सालिन्दा जनता बने बहसमा नारा बने भट्किलो।।

                          ** 

Facebook Comments
BhagawatiPrasad
Comments (0)
Add Comment