दमकी रोगी जहान मेरी पीडाले छट्पटी 
ओखती गर्न काठमाडौ लगें बेचेर घडेरी । 
महिना भर दवाई गर्दा थैली नै रित्तो भो
 छोडेर आएँ वाग्मती घाट जीवन यस्तै हो ।१२
पेन्सन छैन जागिर छैन कसरी बाँचिन्छ 
केही त काम गर्ननै पर्छ पौरख चाहिन्छ । 
भनेर भित्री मनले सोची बोर्डिङ बाहिर 
चिया र नास्ता बनाई बेच्थें खटेर रात् दिन ।१३
कोरोना आयो कोभिड कालो दोकान बन्दै छ 
के गरी बाँचौं परान धान्न मुस्किल पर्दै छ । 
जन्मेको ठाउँ पहाड मेरो गाउँमा जाऊँ कि 
खोरिया खनी मकै र कोदो छरेर खाऊँ कि ।१४
भनेर झोला बोकेर हिँडें घरमा भनेर 
मनका कुरा छोरा र छोरी दुबैलाई भनेर । 
बिवाहा गर्ने उमेर भाकी छोरी छ घरमा 
संस्थामा सानो जागिर गर्थी कम्पनी घाटामा ।१५
जागिर छैन फुर्सद बसी टोलाई रन्छे ऊ 
नगर पिर भनेर भन्दा धर्धरी रुँन्छे ऊ । 
के गर्ने होला पशुका कतै फारम खोलेर 
काम गर्ने थिएँ काटेर घाँस गोबर सोरेर ।१६
पाईन्छ काम खै कता अब के गर्न सकिन्छ 
गरीब भएँ त्यैमाथि बुढो गल्दै छ शरीर । 
यी जम्मै कुरा बसमा बस्दा सँगैको सिटमा 
ती बुढा भन्ने म सुन्दै गर्ने चार घन्टा भरिका ।१७
देशमा राम्रो सर्कार भए समस्या हुन्थेन 
यी बुढा बाको बुढ्यौली मन धर्धरी रुँन्थेन । 
विभेद किन काम गरी खान उमेर तोकेर
 पौरख गर्ने मानिसलाई बिचमा रोकेर ।१८
नेताले दिऊन् उत्तर यस्को समस्या सबैको 
एउटा हैन समस्या साझा बुढ्यौली सबैको । 
विदेशतिर जातमा हैन गरिव भएमा राहत
 दिन्छन् सर्कार खोजी क्वै बृद्ध भएमा ।१९
समानताको सुनौलो युग ल्याउछौं भन्नेले 
यी यस्ता पीडा खपेर बस्ने मानिस बिर्से रे ।
 दुखका कुरा कति पो थिए बुढाका साथमा 
रोकियो बस आएछ झर्ने मेरो त झरें म ।२०
		Facebook Comments