जलवायु परिवर्तन अब प्राविधिक विषयमात्रै रहेन । यो राजनीतिक, सांस्कृतिक र सामाजिक विषयसमेत बनेको छ । जलवायु परिवर्तन थुप्रै प्रलयकारी चुनौती लिएर हाम्रा अगाडि आइपुगेको पछिल्लो समस्या हो । यसको समाधानका लागि प्राविधिक ज्ञानमा मात्र सीमित हुने हो भने यो मानव समाजका लागि महँगो सावित हुनेछ । तसर्थ आइसेट-नेपाल र परिसंवाद डट कम मिलेर समाजका विविध विधासँगसम्बन्धित व्यक्तित्वहरूसँग जलवायु चिन्तनको नियमित श्रृङ्खला सुरु गरेका छौँ ।
आजको यस श्रृङखलामा हामी जलवायु परिवर्तन र भुइँमान्छेका कथाबीच चिन्तन गर्दैछौं । चिन्तनका लागि आज हामीसँग पत्रकार चन्द्रकिशोर हुनुहुन्छ । चन्द्रकिशोरले भुइँमान्छेका कथा नियमितरूपमा लेख्दै आउनुभएको छ । उहाँ पोखरी, कुवा, नदी र पानीका बारेमा पनि अध्ययन अनुसन्धान गर्नुहुन्छ । उसो त उहाँको कार्यक्षेत्र तराईतिर नै बढी छ। तर पनि उहाँ नेपाल बुझ्न पहाड र हिमाल पनि त्यतिकै घुम्नुपर्छ भन्ने सोच राख्ने एक डुलुवा पत्रकार हुनुहुन्छ । जलवायु चिन्तन-श्रृङ्खलाको मन्थन-नेतृत्व जलवायु अध्येता अजय दीक्षितले गर्नुहुन्छ ।
प्रस्तुत छ- चन्द्रकिशोर र अजय दीक्षितबीच भएको जलवायु चिन्तनको तेस्रो श्रृङ्खला ।
अजय दीक्षित : कोरोनाको कहरमा बाढी र पहिरोको पीडा थपिएको छ । विनाश र मृत्युको पीडाका कथामात्रै सुन्दछौं।
चन्द्रकिशोर : म अहिले वीरगञ्जमा छु । चार महिना गाउँमा बसेर आएँ । सर्लाहीको सीमाक्षेत्रको बलरा गाउँमा फागुको बेला गएको थिएँ । घरबन्दी भयो । यातायातको कटौती हुन थाल्यो । मोटरसाइकल र गाडी जस्ता साधन चल्न छाडे । आकाश खुल्ला र सफा देखिन थाल्यो । चराका आवाज सुनिन थाल्यो । लामो समयसम्म गाउँमा बसेपछि बच्चाहरूले हजुरवुवाले रोपेका बोटविरुवाको पहिचान गर्न र खोजिनीति गर्न थाले । म पनि रोपौं भन्न थालें । मेरो घरबाट चुरे करिब ५० किलोमिटर टाढा छ । वायु प्रदूषणले चुरे देखिदैनथ्यो, देखिन थाल्यो । महाभारत र हिमालयको पश्चिमी कुनादेखि पूर्वी कुनासम्मको हिमालय पुरै देखियो । पहिले देखिएको थिएन । बूढापाकाहरू भन्छन्र- यस्तो त पाँच दशकपछि नै सम्भव भएको हो ।
अजय दीक्षित : कोरोनाले बाध्य पारेर, आवतजावत रोकिएर, खेती प्रभावित भए । उद्योग बन्द भए । धुँवा भएन ।आकाश सफा भयो । अनि, हिमालय देखियो बलराबाट । यो बाध्यताको त खर्च हामीले भोग्दै छौं नि । ज्यान गएको छ ।अर्थप्रणाली तहस नहस भएको छ ।
चन्द्रकिशोर: हो, हाम्रो प्रयासले होइन । यातायातका साधन चल्न बन्द भए । इँटा भट्टाहरू बन्द भए । गहुँको कटानी भैसकेर खेतमा जलाउने प्रक्रिया हुन्थ्यो । भारतको पञ्जाब, हरियाणामा जस्तै तराईमा पनि गहुँको कटानी गर्ने र पराललाई खेतमै जलाइदिने गरिन्छ । जलाउदा धुँवा आउने र धुँवाले अर्को समस्या ल्याउने गर्छ । धुँवा कम भएकाले चुरे वा हिमालयको रेञ्ज देखिएको हो । यो सामान्य ज्ञानसरह लाग्छ । समतलमा बस्ने बासिन्दाको सम्पूर्ण योगदान नहुँदैमा तराईका बासिन्दा त्यसको असरबाट मुक्त रहन सम्भव हुँदैन,सम्भव छैन । भारतीय राज्यहरूबाट फैलिएको प्रदूषणसमेत कारण हो । जे भए पनि समतलका मानिस त्यसको परिणाम भोग्न भने बाध्य छौं । भुइँमान्छेहरूको हकमा भन्ने हो भने उनीहरूलाई एक किसिमले नखाएको विष लागेको पनि भन्न सकिन्छ । तर, विष खाएको होस्वा नखाएको, हाम्रो शरीर वा वातावरणमा प्रवेश गरिसकेपछि त्यसले गर्ने क्षति त उस्तै हुन्छ नि !
अजय दीक्षित : बलरालगायतका गाउँघरमा जलवायु परिवर्तनका के कस्ता कुरा हुन्छन् ?
चन्द्रकिशोर : जलवायु परिवर्तन भन्ने संज्ञा प्रयोग नगरे पनि परिवर्तन भएको छ । पहिला जस्तो थियो, त्यो छैन भन्ने कुरा गर्छन्मान्छेहरू । जलवायु परिवर्तन त भन्दैनन् तर मौसम परिवर्तन भन्छन् । छ वटा ऋतु र २७ नक्षत्रबारे उसको चरित्रसहित पहिला देहात(गाउँघर) मा जनमानसले त्यसलाई ग्रहण गर्न र बुझ्न सक्थ्यो। अनपढहरू पनि खेती किसानीसँग जोडिएर केही नक्षत्रहरूसँग परिचित थिए । यसकै आधारमा रैथाने ज्ञान थियो । लोकसाहित्यको भकारी परिपूर्ण थियो । पहिला कृषि वा मौसमका वैज्ञानिक त थिएनन् नि तर घाघ भन्नेको कहावत जनजिव्रोमा झुण्डिएको हुन्थ्यो। जसरी वर्षाको सम्बन्धमा थियो।
“रोहिणी बरसै मृग तपै, कुछ कुछ अद्रा जाय
कहै घाघ सुनै घाघिनी, स्वान भात नही खाय ।”
अर्थात, रोहिणी नक्षत्रमा पानी परे, मृगशिरामा घाम लागेर आद्रामा साधारण वर्षा भयो भने धान बढी फल्छ। कतिसम्म फल्छ भने कुकरसमेत भात खाएर अघाउँछ।
“हथिया पोछि ढोलावै,
घर बैठे गेहूं पावै ।”
हथिया नक्षत्रमा थोरबहुत पानी पर्यो भने गहुँको उब्जनी राम्रो हुन्छ।
मौसमको रूप फेरिएसँगै यी पारम्परिक अनुभव अब बेकामका भए । जान्नेबुझ्ने मान्छेहरू पहिला अनुमान अनुरूप परिवर्तन हुन्थ्यो भन्ने बताउँछन् । तर, अब मौसमको स्वभाव त्योभन्दा ठ्याक्कै भिन्न भो भन्ने बुझाइ छ । यसरी फेरिंदै गएको मौसमबारे उनीहरू प्राविधिकरूपमा त भन्न सक्दैनन् तर सरल, सरस र सन्दर्भसहित असरबारे बताउन सक्छन् ।
अजय दीक्षित : हिजोआजका घटनाबारे भुइँमान्छेहरूको अनुभव कस्तो रहेछ ?
चन्द्रकिशोर : यसपल्ट बैशाखमा असोज महिनामा जस्तो राती अलिअलि शीत पर्यो । मान्छेहरूमा बैशाख महिनामा राति शीत परेको अनुभव थिएन । यसपल्ट मेघ गर्जने, चट्याङ्ग पर्ने अलि बढी नै भयो । बुबा आमाले भन्नुभयो- “पहिला पहिला असारमा चट्याङ्ग पर्दैनथ्यो।”
अहिले बढी चट्याङ्ग परेको अनुभव भयो । साविकभन्दा असिना पनि बढी पर्यो । बादल सानो (थोरै) भए पनि असिना पर्यो । गर्मीको याममा जाडो लाग्यो । कतिपयले भन्थे- त्यस्तो गर्मीको अनुभूति नै भएन यसपालि । गाउँलेहरू भन्छन् मौसम पहिला जस्तो छैन, फेरिएको छ । खास कारण के हो भन्ने विज्ञको काम हो, गाउँलेहरू भन्छन् ।
अजय दीक्षित : घरमा रोकिएको हुँदा यस्तो अनुभव भयो कि प्रकृतिबारे केही बुझ्न ?
चन्द्रकिशोर : त्यो त हो तर परिवर्तन त भइराखेको छ । बैशख, जेठतिर गर्मी हुन्थ्यो । त्यो हेरफेर भो । यसपटक असार अर्थात धान रोप्ने बेलामा पनि खेतमा चट्याङ्ग पर्यो । बारा जिल्लामात्रै होइन अरू ठाउँमा पनि चटयाङ्ग पर्यो । मानिसहरू मरे । एकदिन हामी घरको दलानमा थियौं । एक डेढ घण्टाको बीचमा लगातार करिब १०–१२ चोटी बिजुली चम्क्यो । डराएर कोठाभित्र बस्नुपर्ने अवस्था आयो । घरमै नै झर्छ कि जस्तो भयो । असारको महिनामा पानीमा रुझ्दै खेतमा जानु, जिस्किनु, खेतीपाती गर्नु स्वाभाविक हो । मान्छेलाई डर लाग्दैनथ्यो वर्षासँग । मान्छे भिज्थे । यसपल्ट नदीतिर गएका, खेत जोतिराखेकाहरूसमेत चट्याङ्गमा परे । अचानक बिजुली चम्कने प्रक्रियाबाट मान्छेहरू डराउन थालेका छन् । खेतमा जान पनि डर लाग्ने स्थिति देखिएको छ । कहाँ कतिखेर चट्याङ्ग झर्ला भन्ने डर मान्न थालेका छन् । के गर्ने ? जानकारी छैन ।
अजय दीक्षित : वर्षामा त बाढीको प्रकोप हुन्छ । अझ तल्लो सर्लाही त जोखिममा छ नि होइन ?
चन्द्रकिशोर : बिगतमा बाढी आउँदा ठूला ठूला रुख, गाइबस्तुहरू बगाएर ल्याउथ्यो । माटो पनि आउँथ्यो । नयाँ मलिलो माटोले उब्जनी बढाउन्थ्यो । अहिले बालुवा बढी आउँछ । खेतीपाती प्रभावित हुनथालेको छ । बाढीको चरित्र फेरबदल भएको छ । बलरा गाउँमा ११ वर्ष अगाडि ५-६ किलोमिटर पर बागमती नदी बग्थ्यो भने अहिले नदी ३-४ किमि थप पश्चिमतिर सर्दै गएको छ । गाउँको छेउमा रहेको नदीको अतिक्रमण भएको छ । नदीको पनि आफ्नो धर्म हुन्छ, स्वभाव हुन्छ । नदीको धर्म हो अविरलता । पछिल्ला वर्षहरूमा विकासको नाममा, प्रविधिको सहायताले नदीको यस धर्मलाई पूरै हेर-फेर गर्न खोजिएको छ । अतिक्रमण गरिएका बाटो, पुल, बालीहरू नदीले बगाइदिन्छ । वर्षौंदेखि तटबन्ध निर्माण भइरहेको छ तर बाढी कम भएको छैन । तटबन्ध आफैंमा एउटा अर्थतन्त्र र राजनीति बनेको छ । बाढी कम गर्ने त बहानामात्रै हो जस्तो लाग्छ । तटबन्धले त झन बाढी आएको बेलामा वरिपरिकाहरूलाई त्रास दिने गर्छ । पहिला नदी छेउछाउका समाजले अनुकूलतालाई आफ्नो जीवनशैलीमा, जीवन दर्शनमा शताब्दियौको अनुभवले आत्मसात गरिसकेका थिए । अहिले नदी र समाज, नदी र मौसमको सम्बन्ध परिभाषित नै हुनसकेको छैन ।
अजय दीक्षित : नदीनालाबाट आउने मलिलो माटोले खेत भर्दछ भन्ने ज्ञान आधुनिक शिक्षामा पर्दैन । इन्जिनियरको शिक्षाले बाढी भन्नेबित्तिकै तटबन्ध बनाउ, बाढीलाई छेउको खेतहरूमा जान रोक, सुरक्षा हुन्छ भन्ने सिकाउँछ । तटबन्ध फुट्छ भन्नेबारे चिन्तन गरिन्न ।
चन्द्रकिशोर : पहिला नदी, खोला आदिको संरक्षणका काम हुन्थे । नदी किनारमा के के गर्न नहुने भन्ने सामुदायिक सिकाइ थियो । बाढी गाउँ पस्यो भने दीप प्रज्ज्वलित गरेर बगाइन्थ्यो किनभने बाढीले फाइदा बढी पुर्याउथ्यो । बाढीसँगै कसरी बाच्ने भन्नेमा समुदाय विशेषमा आफ्नै मौलिक तरिका थियो । पहिला त एक एक नदीको स्वभावसँग परिचित थिए । नदीमा बग्ने पानीको रंग हेरेर कस्तो बाढी आउँछ भन्ने सामाजिक स्मृतिमा थियो । बाढी भनेको बिनाखवर गरेर आउने पाहुना जस्तो थिएन । कहिले आउँछ भन्ने मोटा-मोटी आँकलन थियो । तर, अब जसरी यो “विकास” भित्रिंदैछ, त्यसले विपदाहरूको स्वभावलाई चिन्न, बुझ्न र बाच्न नसक्नु ठूलो चुनौती भएको छ ।
माटोलाई हामीले माया गरेनौं भने माटोले हामीलाई कसरी माया गर्छ ? माटोको उर्बरता र पानीको निर्मलता, दुइटै मान्छेको स्वास्थ्यसँग गाँसिएको छ । जो पुस्ता माटोमा लडीबुडी गरेर हुर्केको छ, ऊ जीवजन्तु, वनस्पति, हावा, घाम, वर्षा, शीत, गर्मीसँग सामिप्य पाएर रमाइलो मान्दछ । अर्को, माटोले पुनर्ताजगी हुने विकल्प छैन । माटोमा भएको प्राङ्गारिक पदार्थको दोहन भएको छ । जुन समाजले धरतीलाई आमा मान्दथ्यो, खेतमा खनजोत गर्दा पूजा गर्दथ्यो, घर बनाउन खाल्डो खन्नु परे पहिला भूमि पूजन गर्दथ्यो, त्यही समाजले आफ्नो वरिपरिको माटोको मौलिकतालाई मिच्दैछ । गाउँगाउँमा स-मिल छन् । जहाँ रुख भेट्यो काट्यो । हामीले रुखलाई चिनेनौ, इज्जत गरेनौं भने रुखले हामीलाई कसरी चिन्छ ? प्रकृति, नदी, कृषि र समाजको सम्बन्ध तलमाथि भएको छ । हामीले के सिकाएका रहेछौं? अहिलेको विकासको मोडेलले मान्छेलाई प्रदूषण र खाद्य सङ्कट दिंदैछ, जसको चपेटामा गरीब र धनी दुवै परेको छ ।
अजय दीक्षित : चुनौतीका चाङ्ग छन् त ?
चन्द्रकिशोर : एउटा समस्यासँग अर्को समस्या जोडिएका छन् । हिजोआज जग्गावालहरूसँग बटैया (अधियाँ), हुण्डामा खेतीपातीको चलन छ । पारम्परिक तौर-तरिकाबाट बढी उत्पादन सम्भव छैन भन्ने बुझाइ बाक्लो छ । परम्परागतरूपमा कृषिलाई आम्दानीको क्षेत्रको रूपमा हेरिएन, जसले गर्दा यो खेती प्रणालीलाई निर्वाहमुखी भनियो । प्रारम्भिक हलो हाम्रो माटोको लागि राम्रो थियो । गोडमेल गरिदिने बढी समस्या नपार्ने । अब त ट्रयाक्टरले मज्जाले तलदेखि नै उखेलेर जोत्छ । जग्गावालहरूले आफैं खेती गर्न छाड्दै गएपछि भैंसी, गाइबस्तु,गोरूहरू कम भएका छन् । बाली र पशुपालनको मिश्रण यहाँको खेती प्रणालीको विशेषता थियो । उत्पादन र उत्पादकत्व बढाउने नाममा परम्परागतरूपमा उपयुक्त प्रविधि र अभ्यासहरूलाई छाड्ने मनोविज्ञान हाबी छ । बीउ छरेदेखि रासायनिक मल हाल्नु पर्ने प्रणाली विकास हुँदै आयो । हामी साना हुँदा युरिया भन्थ्यौं । अब युरियामात्र होइन, हरेक प्रकारका मल छन् । विषादि (पेस्टिसाइड) छन् । कस्तो भयो भने कृषि व्यावसायीकरणको नाममा जथाभाबीरूपमा अत्यधिकमात्रामा विषादीको प्रयोग आवश्यक मानियो । खेती गर्नेलाई त्यही सिकाइएको छ । बजारले भन्छ- “तेरो विधि होइन हामीले भनेको गर ।” उसलाई त बीउ, मल, विषादी, डिजल बेच्नु छ । बढी उब्जाउ दिने बीउका लागि बजारमा भर पर्नुपरेको छ । हिजोआज स्थानीय रैथाने बीउहरू विस्थापित भएका छन् । नयाँ बीउहरू हाम्रो वातावरणसँग समायोजन भैसकेका छैनन् । किसानको अनुभव छ- यसरी खेती गर्दा उब्जनी एक दुई वर्ष त राम्रो हुन्छ, पछि घट्न थाल्छ । खेतको माटो नै बिग्रन्छ । लगातार रासायनिक मल प्रयोग गर्दा माटोको उर्बरा शक्ति घट्नुका साथै कृषकलाई बाह्य सामग्री एवं उपकरणप्रति निर्भर बनाउँदै लैजान्छ ।
हालसालै पनि समयमा मलको आपूर्ति भएन । कृषि मन्त्रीले बङ्गलादेशसित मल पैंचो माग्नुभयो । नेपालका शिक्षित अगुवाहरूले भन्नुभयो- “मल कारखाना स्थापना नगरी हुँदैन ।” यो त आगो लागेपछि इनार खन्ने कुरा भएन र ? भुइँका कुरा सुनौं । कृषि प्रणालीलाई समस्तमा हेरौं । नयाँ परिकल्पना गरौं ।
कृषि विकासका नाममा खर्च भएको छ । नेपाली अर्थतन्त्रको आधार भएको हुँदा कृषि जनशक्तिमा लगानी पनि गरिएको छ तर कृषिमा ह्रास हुँदैछ । परम्परागत खेती प्रणालीमा पशुपालन हुन्थ्यो । बनजंगल हुन्थे । प्रकृतिको संरक्षण हुन्थ्यो । एकहदमा आत्मनिर्भरता थियो । खेतीमा बहु अन्न हुन्थ्यो- धान, गहुँ, मकै, कोदो, फापर, जौ, दलहन आदि । बहु अन्नले पोषिलो खुराक दिन्छ । घरपरिवारको स्वास्थ्य राम्रो हुन्छ । अब त धान, गहुँ र मकैमात्र छन् । परिवर्तनका श्रृङ्खला एकअर्कामा जोडिएका छन् । राजनीति र समाजमा चक्रलाई बिथोलिने काम भैराखेको छ । नेपालको कृषि आफैंमा एउटा राजनीतिको विषय बनेको छ । युवा कामका लागि विदेशिएका छन् । वस्तविकता के हो भने तराईको उर्बरता खत्तम हुँदैछ । कता गयो सीता मातालाई उत्पत्ति गरेको माटोको चरित्र !! पौराणिक भए पनि, भुइँमान्छेले मानेको, श्रद्धा गर्ने कथा हो रामायण । शासक र कृषिको साइनो । यो मिथ भए पनि अझै यसको अर्थ छ ।
अजय दीक्षित : खेतीमा बोझ भयो । जोखिम बढी भयो । मेहनत धेरै गर्नुपर्यो । माटो ल्याउँदैन, बालुवा हुन्छ । खाद्यको समस्या, बीउको समस्या, झन्झट किन गरिराख्नु बरु विदेश गएर काम गर्न (जस्तै पञ्जाब, मलेसिया, कतार) जाने सोच भयो कि ?
चन्द्रकिशोर : मान्छेले छोटो बाटोबाट आय आर्जन गर्न खोजिराखेका छन् । आवश्यकता अनुसार आफूले गरेको कामबाट प्राप्त ज्ञान र प्रविधिको उचित प्रयोग भएको छैन । खेतीपातीबाट बढी उत्पादन गर्न आधुनिक मल, प्राविधिक सामग्रीहरू प्रयोगमा ल्याउनुपर्छ, हलो जोतेर खेतीपाती हुँदैन भन्ने सोच छ । कहिले पानी धेरै परेर बाढी पहिरो आउने त कहिले सुख्खा भएर जमिन छियाछिया पर्ने गरेको छ । एक ठाउँको विपतले अर्को ठाउँमा पनि विपत निम्त्याउन सक्छ । खेत, जग्गा त जीवनको आधार पनि हो । खेत नभए के गर्ने ? जग्गालाई बेचबिखनको साधनका रूपमा मात्रै बुझ्दै आइएको छ । सबैको समस्याको मूल जरो हो यो सोच । नेपाली समाजमा आफ्नै ज्ञान छन् र त्यसको प्रयोग सही ढंगबाट गर्न विश्लेषण गर्नुपर्छ । स्थानीय हावापानी र भूगोल सुहाउँदो कृषि प्रवर्ध्दन गर्न सकिएन । रासायनिक मल, विषादीले उत्पादन लागत बढाउनुका साथै माटो, वातावरण र मानिसलाई नकारात्मक असर पार्छन् भन्ने तथ्यको योजनाबद्ध ढंगले ओझेलमा पारियो ।
अजय दीक्षित : विडम्बनापूर्ण बाटोमा लागेको पो देखियो ? हामी बिनासोच दौडेका हौं ?
चन्द्रकिशोर : खेतीका केही मौलिक आवश्यकतामा केही हस्तक्षेप आवश्यक थियो तर संवाद र छलफल भएन । पुरानो खेतीको तौरतरिकालाई निर्वाहमूखी प्रणाली भनियो । निर्वाहमुखी प्रणाली घाटाको खेती हो भन्ने आख्यान स्थापित भयो । अन्य विषय जरुरी ठानिएन । बजार मूल्य घटबढ हुन्छ । सरकारले किसानको उत्पादनलाई उचित मूल्य दिनुपर्छ । भारतमा सरकारले कृषकलाई अनुदान दिन्छ । नेपाली किसान त्यससँग प्रतिस्पर्धा गर्न सक्दैनन् । कृषि व्यावसायीकरणको लोभलाग्दो नारा बनेको छ तर उत्पादन गुणस्तरीय हुन सकेको छैन ।
प्रत्येक बालीले जमिनसँग सञ्चय गर्ने प्रक्रिया फरक हुन्थ्यो । मानिसले समय अनुसार विभिन्न किसिमका बाली लगाउँथे । माटो एउटा आधार हो । अहिले बढीभन्दा बढी दोहन हुने गर्दछ । खेतीको व्यावसायीकरण र औद्योगीकरण गर्ने धारणाहरू आउँदै छन् । राजनीतिमा समावेशी बहुलताको सोच आयो । एकल भाषा, एकल राज्यको सोच एक समुदायको वर्चस्व भन्ने कुरालाई राजनीतिमा असहमति जनाइयो । तर, खेती प्रणालीमा एकल बाली र तरिका प्रणालीको स्वीकार्य बनाइँदैछ । खेती प्रणाली नेपालको मूल आधार हो । अर्थतन्त्रको मात्र होइन, सामाजिक संरचनाको, सामाजिक बनोटको एउटा खम्बा हो । बहुलतालाई बिर्सिइएको छ । पछिल्ला वर्षहरूमा डरलाग्दो किसिमले तराई बालुवामय हुँदै गैराखेको छ । गाउँघर चिन्तित छ । पिधलाई नराम्रो असर पर्न थालेको छ ।
चन्द्र किशोर : उत्पादन र उत्पादकत्व बढाउने नाममा परम्परागत प्रविधिहरू, ज्ञानहरू तथा अभ्यासहरूलाई विस्थापित गर्यौ । माटोमा भएका प्राङ्गारिक पदार्थहरूको दोहन हुदै गयो । कृषिको दिगोपनाको लागि यो सकारात्मक कुरा होइन । दशकौं देखि कृषि पेशा गर्दै आएका कृषक र कृषिका विज्ञहरूका विचार धारामा फरक हुन्छ । विज्ञहरूमा प्रयोगात्मक ज्ञान हुँदैन सैद्धान्तिक ज्ञानमा सीमित हुन्छ । कृषकहरूसँग उर्बरा शक्तिको ज्ञान हुन्छ । कृषिको दिगोपनका लागि परम्परागत अभ्यासहरूमा सुधार ल्याउनुपर्छ तर सम्पूर्ण खेती प्रणालीलाई विस्थापित गरेर होइन । त्यसले सामाजिक संरचना, सामाजिक बनोट तथा गाउँको अर्थतन्त्रलाई परनिर्भर बनाइदिएको छ । जमिनको खण्डीकरण हुनु, अव्यवस्थित उपयोग र उपभोग भैराखेको छ । वातावरणमैत्री लगानी भैराखेको छैन । माटो १-२ फिट काटेर फाल्नुपर्छ अनिमात्र उब्जनी बढी हुन सक्छ । माटो पनि कालो हुनथालेको छ । के गर्ने भन्ने जानकारी सबैले पाएका छैनन् । थोरै जमिनबाट पनि धेरै उत्पादन खोज्छन्, सिकाइएको त्यही त हो नि ! तर खण्डित ज्ञान बाढिएको छ ।
कृषकको सहभागिता र स्वामित्वका कुरा छन् । कृषिमा स्वामित्व ल्याउन सकिएको छैन । हाम्रा पारम्परिक बीउहरूको उपयोगिता, सान्दर्भिकता पोषणसँग जोडिएका थिए । अझ बढी सूचना प्रदान गर्नु आवश्यक थियो । गाउँका धेरै युवा विदेशतिर गएकाले महिलाले बढी मेहनत गर्नुपरेको छ । १० वर्षपछि कृषिमा काम गर्ने मान्छे नगण्यमात्र हुन्छन् होला । कृषिमा काम गर्नु भनेकै अपमानित पेशाका रूपमा हेरिन्छ । विदेशमा वा खाडी मुलुकमा गएर काम गर्ने मान्छेले तारिफ पाउँछन् । समाजमा आफ्नै खेतीपाती गर्नेको कदर हुँदैन । बिहावारीका कुरामा पनि विदेशमा गएर काम गर्ने व्यक्तिले धेरै महत्व पाउँछन् । शहरमा बस्नेहरू गाउँमा खेतीपाती गर्न जाँदैनन् । खेतीपातीसँग आफूलाई जोड्न चाहदैनन् । नयाँ पुस्ताले खेतीमा त्यति चासो राखेको छैन । खेतीपाती गर्नु हुँदैन, यो त्यति गरिमाको पेशा रहेन भने बुझाइ आयो ।
अजय दीक्षित : स्थानीय तौरतरिकालाई बिर्सेर गलत बाटोमा लागेको हो कि ?
चन्द्रकिशोर : एउटा उदाहरण प्रस्तुत गरौं । सिम्रौगढ क्षेत्र पुरातात्विक महत्वको क्षेत्र हो । यहाँ एकफिट खन्यो भने पनि केही चिजहरू भेटिन्छन् । केही पालिका जोडेर त्यसलाई सुपर फिस जोन बनाइएको छ । अहिले पोखरी खनिदै छ । पोखरीहरू खन्दा पुरातात्विक महत्वका सम्पदा फेला पर्दैछन् । त्यसको अवमूल्यन हुँदैछ । कुनै निगरानी छैन । त्यहाँको आवश्यकता के हो ? त्यहाँ के गनुपर्ने ? कुनै क्षेत्रलाई धान क्षेत्र घोषणा गरिएको छ । खेतलाई विभिन्न किसिममा विभाजन गरिएको छ । एउटै गाउँमा तल्लो र माथिल्लो जग्गा,टाढाको, नदी किनारको सोही अनुसार बाली लगाउने गरिन्थ्यो । गाउँका किसानले आफूलाई थाहा भएका कुरा एक अर्कासित छलफल गर्थे । उत्पादन पनि ठाउँ वा जमिन अनुसार फरक फरक अनुपातमा हुन्थ्यो । पानी बढी भएको ठाउँमा बढी उत्पादन हुने, सुख्खा जमिनमा कम उत्पादन हुन्थ्यो । कृषिका कर्मचारीलाई र नेताहरूलाई फाइदा भएको छ भने भुइँमान्छे र भुइँलाई घाटा भएको छ।
अजय दीक्षित : भुइँमान्छे र भुइँको अत्यन्तै जटिल अन्तरसम्बन्ध छ । परिवर्तनका संकेतहरू छन् । राजनीतिक र परम्परागत सोच छ । मान्छेको सोच्ने तरिकामै भिन्नता आएको छ । जलवायु परिवर्तनको प्रभावलाई कसरी बुझ्ने ?
चन्द्रकिशोर : भुइँमान्छेलाई चाहिएको बेलामा मलको अभाव छ, मल नपाए उब्जनीमा असर पर्छ । यो प्रणाली हामीले नै बनाएको हो । मल सजिलोसँग पाउने अवस्था छैन । पुरानो बीउविजनले काम गर्दैनन् । पहिला गाउँमा विभिन्नथरीका बीउविजन हुन्थे । तीमासिएका छन् । संरक्षणको अभाव छ । मूल कुरा खेतीको मूल आधार बीउ ( रैथाने) माथि किसानको स्वामित्व रहेन । सम्बन्धित निकायले त्यसको बन्दोबस्त गर्दैनन् । अब कृषकसँग बीउको स्वामित्व छैन । उनीहरू बाज़ारमा आश्रित छन् । त्यो बाजार ठूला ठूला निजी कम्पनीहरूको नियन्त्रणमा छ । कृषकले अधिकार पाएका छैनन् । बजार विकास गर्ने, रोजगारीको ग्यारेन्टी दिने, कानुन बनाउने, नीति बनाउने, कार्यान्वयन गर्ने दायित्व राज्यको हो । बिकल्प दिने दायित्व पनि राज्यको हो । तर, राज्यमा कार्यरत, अधिकार पाएकाहरू आम मान्छेका भाषा बुझ्दैनन् । ती जमिनबाट टाढिएका छन् । कुनै पनि नेता गाउँघरको खेतीपातीको निरिक्षण गर्दै हिडेका भेटिदैनन् । खेतमा आएको परिवर्तनलाई नियाल्ने गर्दैनन् । गाउँघरतिर धानको खेतमा माछा पालिएको हुन्थ्यो । मान्छेहरू गम्छा ओछ्याएर माछा र गँगटालिएर आउथे । अहिले माछा र गँगटा हुँदैन किनकि खेतमा रसायनको मिसावट हुन्छ । भुइँमान्छेले जलवायुबारे के गर्ने, उसले सिर्जना गरेकै होइन समस्या । जलवायु परिवर्तनले अन्याय भएको छ । भुइँमान्छेले जलवायु परिवर्तनका निमित्त जिम्मेवार नभए पनि त्यसले खड़ा गरेका चुनौती बेहोर्नु परिरहेको छ ।
अजय दीक्षित : पुरानो निर्वाहमुखी खेतीले जनसंख्याको वृद्धिदर धेरै भएकाले सबैलाई समेट्न सक्दैन त्यसकारण उत्पादन बढाउनका लागि आधुनिक प्रविधिलाई अपनाएर उत्पादन बढाउनुपर्छ भनिन्छ नि !
चन्द्रकिशोर : भौगोलिक हावापानीले विशिष्ट र विविधता रहेको हाम्रो मुलुकमा कृषिले धेरै लाभ दिन सक्छ । परम्परागत ज्ञान र आधुनिकता जोड्दा हामीले के अपनाउने र के नअपनाउने भन्ने परिवेश अनुसार निर्णय गर्न सक्नुपर्छ । अर्को ठाउँको कृषि प्रणालीले सामाजिक बनोट, यहाँको अर्थ संरचना र माटोले थेग्न सक्दैन । पहाडको कुरा मधेशमा लागू हुँदैन । पूर्वी पहाडको पश्चिममा हुँदैन । मध्य तराईको विधि पश्चिम तराईमा हुँदैन । भौगोलिक बनोट, पानीका स्रोतहरूको स्थानले पनि निर्धारण गर्छ, उत्पादनमा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा असर पारिरहेको हुन्छ । नबुझी दौडेको परिणति हो यो ।
अजय दीक्षित : शिक्षा प्रणालीमा समावेश छैन । पाठ्यक्रममा पानीको अभाव, मलको अभाव खासै समावेश गरिएको छैन ।
चन्द्रकिशोर : हो कितावमा यी कुरा समावेश गरिएको हुँदैन । न त खेतीका बारेमा स्थानीय ज्ञानका कुरा गरिएको हुन्छ । एसएलसी उत्तीर्ण गरेका व्यक्तिलाई भैंसी चराउने, खेत खन्ने आदि कुरा गर्न मन लाग्दैन । किसानीलाई राम्रो दृष्टिले हेरेको हुँदैन । नेपाली समाजमा खेतीसँग जोडिएका परम्परागत ज्ञान के कति छन्, त्यसमा कतिको विविधता र सामर्थ्य्य छ भन्ने अभिलेखीकरणको काम भएको छैन । हामी विदेशको महिमामात्र गहन गर्छौं । त्यसको भूमिका छ तर स्थानीय स्रोत समायोजनको सिलसिला बिर्सेका छौं ।
अजय दीक्षित : बाढीको कुरा गरौं । दक्षिण एसियाको जयपुर, बम्बै, कलकत्तामा बाढी आएको, खडेरी परेको समाचार सुन्छौं । जलवायु परिवर्तन हो कि अतिक्रमण र नीतिगत कमजोरी ?
चन्द्रकिशोर : नदी अतिक्रमणको कुरा गरियो । प्रश्न शहर विकासको मौलिकताको पनि हो। नेपालमा व्यापक शहरीकरण हुँदैछ । सबैलाई नगरपालिका बनाइयो । नयाँ शहर मौलिक छैनन् । पुरानै ढर्रा छ । समस्याहरू थाती छन् । वीरगञ्ज हेरौं, कुनै ठूलो नदी छैन तर बाढी आउँछ । ढल, नालालाई ढाकेर बाटो बनाइएको छ । डुबान बढेको छ । गाउँमा यातायात पुग्नुपर्छ, पूर्वाधारहरू पुग्नुपर्छ, आधारभूत सुविधाहरू हुनुपर्छ तर मौलिक विकास त गर्न सकिन्छ, स्थानीय चरित्र नबिगारी । गाउँमा विकासको यात्रा पनि शहर जस्तै छ । ठूलाठूला बाटा बनाउने, सबै ढलान गर्ने गरिन्छ । पानी जमिनमा भित्र पुग्दैन । कोरोनाले हामीलाई कल्याणकारी भविष्यका लागि एकजुट हुनुपर्दछ भन्ने सिकाएको छ । प्रकृति दोहन गर्ने, पैसामात्रै कमाउने होइन । प्रकृतिको दोहनबाट आर्जन त होला तर प्रकृतिले कसैलाई छाड्ने छैन । आफ्नो ठाउँबाट माटो, पानी, वायु, आकाशका लागि सोच्यो भने जीन्दगीलाई नयाँ ढंगबाट अगाडि लान सकिन्छ।
अजय दीक्षित : हामीले प्रकृतिलाई बिर्सियौं, प्रकृतिको अत्यधिक दोहन गरेका रहेछौं भन्ने विषय त निस्किएकै छ । अब अगाडि तालमेल हुन सक्छ कि सक्दैन ? के गर्नुपर्छ हामी नागरिकले ?
चन्द्रकिशोर : जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित हुने मान्छे हो, त्यसमा पनि भुइँमान्छे । बहु-आयामिक असर छन् । जग्गा-जमिन, स्वास्थ्य, जनजीविका, अर्थतन्त्र तथा सरोकारहरूमा प्रभाव पर्दैछ । हामीले हरेक कुरामा सुधार गर्दै लैजानु छ । भूटानले आफूलाई अर्गानिक स्टेटको रूपमा बढाइरहेको छ, सिक्किमले पनि । नेपालले पनि आफूलाई यस्तै अर्गानिक बनाउन सक्नुपर्छ । नेपालमा रासायनिक मलको कारखाना छैन, यो हाम्रा लागि एउटा अवसर पनि हो । अवसरको रूपमा किन नलिने ? रसायनमुक्त खेतीतिर जान सक्छौ कि सक्दैनौ ? प्रयोग कुनै खास प्रदेशबाट किन सुरु नगर्ने ? नेपालको भौगोलिक र जनसंख्याको बनोटमा भिन्नता छ । मधेश र पहाडको वातावरणीय परिवर्तनमा सबैको चासो देखिंदैन । मान्छे घुम्न जाने पहाडमात्र होइन, मधेशका गाउँ पनि जान सकिन्छ । मधेशकागाउँका विशेषतामा रमाउनुपर्यो । मधेशमा विविधता छ । रौतहटको एउटा गाउँका सबै बासिन्दालाई शाकाहारीको रूपमा चिनिन्छ । हरेक पालिकामा शाकाहारी र प्राङ्गारिक टोल सिर्जना गरौं । प्रकृति विनास कम गर्ने यात्रा सुरु हुनेछ । एउटा भूगोल र अर्को भूगोलको बीचको दूरी कम हुन्छ । समतलले छातिमा हिमाललाई उठाएको मानेपछि हिमाललाई समतलले अपनत्व राख्छ भन्ने भाष्य फैलाउनुपर्छ । प्रकृतिले जोड्ने गर्छ । कोरोना संकटमा वृहत्तर हितको कुरा भयो । नेपालमा धेरै सम्भावना छन् । प्रादेशिकरूपमा हामी विभिन्न प्रदेशमा बाँडिएको भए पनि राजनीतिक तथा भौगोलिकरूपमा जोडिएका छौं । हाम्रो साझा भविष्य छ । साझा अवधारणाका लागि आपसमा संवाद हुनुपर्छ । प्राकृतिक विविधता हाम्रो सामर्थ्य हो ।
अजय दीक्षित : बाटो उपयुक्त नभएको निरासाको अवस्था देखिन्छ नि ?
चन्द्रकिशोर : पूरै निरासाको अवस्था छैन । विदेशमा कमाउन गएका, हरियाणा, पञ्जाब, दुबई, उत्तराखण्डतिर गएर फर्केर आएका छन् ।नयाँ तरिकाले खेतीपाती सुरु गरेका छन् । स्थानीय ज्ञानलाई जोडेका छन् । विदेशबाट हासिल गरेर आएको सीप आफ्नै देशमा प्रयोग गरेकाछन् । यसलाई एकअर्काको बीचमा जोडिदिने एउटा गाउँ विषेशमा समन्वय गरिदिने जिम्मा त सम्बन्धित संस्थाको हो ।
अजय दीक्षित : संवादलाई कसरी अगाडि लैजाने ?
चन्द्रकिशोर : मिडियाले सिर्जनात्मक भूमिका निर्वाह गर्न सक्छन् । एकान्त बास गर्नुपर्छ वा फरक दूरीमा बस्नुपर्छ भन्ने मिडियाको व्यापक प्रचारले गर्दा मानिसहरू त्यसै अनुरूप अनुशासनमा बस्न थालेका छन् । एग्रो इकोलोजी र इकोसिस्टमका कुरा समुदायलाई बुझाउने हो भने, उनले बुझ्ने भाषामा र पुर्खाको ज्ञानले हामीलाई हित गरेको थियो भने मान्यता अगाडि ल्याउने काम भयो भने जनताले बुझ्न थाल्छन् ।