गरें देश सेवा बहाएर रक्त 
अहो आज आफैं भएँ मै अशक्त 
मुठीमा समेटेर सारा चहाना 
लडेका तिनै युद्ध हैनन् बहाना ।१
कतै भोक भोकै न ता सुत्न पायो 
कतै घोच्छ काँडा दवाई कहाँको ?
 झरीमा भिजेको यही देह मेरो 
सुतेको उही पालको छेद घेरो ।२
कतै पैदलै, रेल यात्रा कतैका 
कतै जेटमा ओर्लिएका चढेका 
कतै क्याम्पमा गीतमा नाच गान 
अहो चल्छ सो फिल्म पर्दा समान ।३
सुतेमा सिरानी त्यही बन्दुकै हो 
पछ्यौरा भनेको उही नाल नै भो 
छ गोली यता मात्र हाम्रो छ देह 
नभा शत्रुले गर्दथे त्यैं विदेह ।४
उता शत्रुले हान्दथे मार गर्दै 
यता काँधमा बोक तुम्लेट रित्तै 
ठुलो साहसैले गरी ध्वस्त बैरी 
झरेको यही बुझ्न पेन्सन् छ भारी ।५
गयो लाम लाग्यो उता भन्छ अर्को 
सुके ओठ घाँटी निकै घाम चर्को 
यता हैन भन्छन् उता हैन भन्छन् 
हुने काम सानो दिनै खाइ दिन्छन् ।६
बहाएर रातो यिनै रक्त धारा 
बनेको छ यो जीर्ण नै देह सारा 
यतै दुख्छ गोली पसेका नशामा 
उतै दुख्छ यो देह नै कट्कटी हा !७
निकै नै थियौं साथमा लड्न जाँदा 
अहो ! हो ! बचेका रहेछौं कि आधा 
त्यही सम्झनाले भयो झन्न झन्न 
लडेका कुरा सम्झनामात्र रन्न ।८
बुढा छौ तिमी छोड यो काम भन्छौ 
लडेका यिनै हातका सीप हेर्छौ ? 
सबै सिक्न भाषा कहाँ पाइयो र 
सुने हल्टमा हिँड्न काहाँ भयो र ?९
बसी भित्र घर्को कुनै यो कुनामा 
दिए खाइएको छ सानो दुनामा
 सुते मस्त निद्रा उतै पुग्छ याद 
भएँ मै बुढो लाग्छ साह्रै विषाद ।१०
भए धेर सन्तान छोरा र छोरी 
कसोरी पुगाऔं म मायाँ निचोरी 
सधैं ले सधैं ले भनी माग्दछन् यी 
छ आधा बुझेको रुपैया छुटेसी ।११
कुनै भन्दछन् यो कडा भो मिजास 
कडा नै नभा देश बन्दैन खास 
त्यहाँ चल्छ सारा कुरा चेनभित्र 
कहाँ हुन्छ फौजी मनैभित्र छुद्र ।१२
चेन = चेन अफ कमान्ड / फौजी नेतृत्वको शैली
छुद्र = लोभी र रिसाहा स्वभाव
(सेनाबाट सेवा निवृत्त बृद्धअवस्थाका ब्यक्तिहरूलाई पेन्सन बुझ्न जाँदा पाएको सास्ती र लगाइने आरोपमा आधारित)
		Facebook Comments