प्रसङ्ग १: नेपालको पूर्वी नाका काँकडभिट्टा र भारतको पश्चिम वंगाल राज्यको सिमाना पानीट्याङ्की बीचमा रहेको मेची नदीमा छ लेनको पक्की पुल बनेको छ । उक्त पुलको निर्माणसँगै झन्डै नेपालतर्फ डेढ किलोमिटर एसियन हाइवे पनि बन्यो । यो दोहोरो लेनको पुल निर्माणसँगै नेपालको पूर्वी नाका काँकडभिट्टाको रौनक बढेको छ । म पनि मेचीनगरको स्थायी बासिन्दा भएको कारण मेचीपुलको नयाँ संरचनादेखि दंग छु । कोरोना भाइरसको अन्त्यसँगै जब नेपालीहरु यो नयाँ सेतु हुँदै भारत जान्छन्, सुरुका दिनमा सानको अनुभूती गर्नेछन् ।
प्रसङ्ग २: चीनको सिगात्से र नेपालको राजधानी काठमाडौँ बीच रेल मार्ग निर्माण गर्ने बहस पहिलेदेखि नै चलेको हो । विगतमा चुनावका दौरानमा विभिन्न राजनीतिक दलहरुले काठमाडौँ र तिब्बत रेल मार्गबाट जोड्ने चुनावी घोषणापत्र पनि ल्याएका थिए । तर पछिल्लो समयमा चीनले सिगात्से–काठमाडौँ रेल मार्गलाई प्राथमिकतामा राखेको छ । यो नेपाल र चीनबीच सन् २०१८ मा भएका द्धिपक्षीय सम्झौता मध्येको एक पाटो हो । सिगात्सेबाट काठमाडौँसम्म रेल सेवा विस्तार गर्न भौगोलिक दृष्टिकोणबाट कठिन देखिएला । तर आधुनिक प्रविधिले सम्पन्न चीनका लागि ठूला पहाडी इलाकामा अग्ला अग्ला पुल निर्माण गरेर रेल कुदाउँनु सामान्य कुरा हो । नेपालमा चीनको उपस्थिति राम्रो नजरले नदेख्ने भारतले सिगात्से–काठमाडौँ रेल मार्गको चर्चासँगै नेपालसंगको सम्बन्ध चिसो बनाउँदै लगेको छ ।
नेपाल, चीन र भारतको अवस्था
अहिले नेपाल मात्र होइन, विश्वका सबै देशमा कोरोना भाइरस (कोभिड–१९) ले ठूलो धक्का दिएको छ । ठूला आर्थिक महारथीहरुको आर्थिक गतिविधिको गतिमा ब्रेक लागेको छ । नेपालको आर्थिक वृद्धिदरमा पनि नराम्रो असर पर्ने निश्चित छ । नेपालका दुई छिमेकी देश चीन र भारत विगत दुई दशकमा तीव्र रुपमा आर्थिक विकास गरिरहेका देशहरु पनि पछिल्लो समयमा कोरोना महामारीबाट पिल्सिएका छन् । चीनले एक हदसम्म कोरोनालाई नियन्त्रण गर्न सफल भएको छ भने भारतमा दैनिक एक लाख छेउछाउमा संक्रमितहरुको संख्यामा वृद्धि भइरहेको छ । विगतमा नेपाल यी दुई छिमेकी देश मध्ये भारतको अर्थतन्त्रसँग बढी निर्भर रहेको छ ।
‘नेपाल दुई ढुङ्गा बीचको तरुल हो’ भन्ने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिब्योपदेशलाई विगतमा नेपालको राष्ट्रिय सुरक्षाको दृष्टिकोणबाट हेरियो । भारतमा अंग्रेजहरुले आफ्नो प्रभाव जमाइरहेको अवस्था थियो र उत्तरमा तिब्बत र चीनबाट नेपाल असुरक्षित छ भन्ने दृष्टिकोण कायम थियो । विश्व आर्थिक महारथीको रुपमा उदय भएको चीन र चीनको प्रगतिको पछि–पछि सम्बृद्ध भारतको पनि उदय भइरहेको छ । यी विशाल अर्थतन्त्र भएका मुलुकबीच नेपालको आर्थिक, सामरिक हैसियत न्यून छ ।
अहिले नेपाल र भारतबीच सयौँ स्थानमा सीमा विवाद कायम छ । कतिपय विवाद धेरै पुराना छन् । विगत एक वर्षको दौरानमा भारतले नेपाली भुमी कालापनी, लिपुलेक र लिम्पियाधुरा समेटेर आफ्नो नक्सा प्रकाशन ग¥यो त्यसपछि नेपालले पनि आफ्नो भुमी छोड्ने कुरै भएन । नेपालले पनि यी भुभाग समेटेर नेपालको नक्शा जारी ग¥यो । विगत केही समयदेखि भारत र चीनबीच पनि सीमा विवाद बढेर गएको छ । भारतले चीनीया मोवाइल एपहरु प्रयोग गर्न प्रतिबन्ध लगायो । यसले चीनलाई भारतबाट डिजिटिल व्यापारबाट गर्दै आएको आम्दानीमा धक्का लागेको छ । भारत र चीन बीच सीमा नाकामा विवादका बाबजुद पनि यी दुई देश बीच व्यापारिक सम्बन्धमा कायम छ । गत आर्थिक वर्ष २०१९÷२० मा भारतका दश वटा ठूला निर्यातकर्ता देशहरुमा चीन तेस्रो स्थानमा थियो र नेपाल दसौँ स्थानमा थियो भने भारतले आयात गर्ने देशहरुको शीर्ष स्थानमा चीन रहेको छ ।
चीन र भारतले पछिल्ला दुई दशकमा हाँसिल गरेको आर्थिक विकासलाई चेपुवामा परेको नेपालले लाभ र हानीको रुपमा हेर्नु आवश्यक छ । यो बहस शुरु भएको लामो समय वितिसकेको छ । विगतमा राजनीतिक प्रणाली परिवर्तनको संक्रमणकालीन अवस्था भएका कारण नेपालमा यस्ता बहस कागजमा मात्र सीमित भए । अहिले नेपालमा स्थीर सरकार छ । राजनीतिक प्रणालीले स्थायित्व पाइसकेको अवस्था छ । नेपालमा पनि पूर्व–पश्चिम रेल मार्ग बन्न थालेको छ । काठमाडौँ र तराई जोड्ने दुर्त मार्ग बन्दै छ । सुरुङ्ग मार्ग पनि बन्दै छ । काठमाडौँ बाहिरका ठूला सहरहरुमा दोहोरो लेनका बाटाहरु बन्न थालेका छन् ।
नेपाल कसरी ट्रान्जिट विन्दु बन्न सक्छ ?
नेपाल, चीन र भारत बीचको ट्रान्जिट विन्दु हो । नेपाल सानो भूगोग भएको पहाडी र हिमाली देश हो । नेपालका दुई छिमेकी देशबीच ट्रान्जिट विन्दुका रुपमा फाइदा लिन सक्ने केही आधारहरु छन् ।
आधार १: भारतले नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा कब्जा गरेको कुरा नयाँ होइन तर जब भारतले नेपालको भूभाग हुँदै मानसरोवर जाने बाटो बनाएर उद्घाटन ग¥यो त्यसको विरोध नेपालमा सडक, सदन र नेपाल सरकार सबैतिरबाट भयो । त्यसैबेला अब नेपालको मार्ग हुँदै मानसरोवर यात्रा गर्ने भारतीय पर्यटक घट्ने आँकलन गरियो । यसले नेपालको पर्यटन क्षेत्रमा धक्का लाग्ने बहस पनि भए ।
नेपाल, भारत र चीनमा केही यस्ता क्षेत्रहरु पनि छन्, जसमा पर्यटन क्षेत्रको विस्तार गर्न सकिन्छ । नेपालले चीन र भारत जोड्ने उत्तर दक्षिण सडक मार्गको निर्माण गर्नु पर्छ । यस्ता सडक मार्गले नेपालको आन्तरिक पर्यटनलाई विस्तार गर्छ भने बौद्ध धर्म मान्ने चिनिया पर्यटकहरु लुम्बिनी हुँदै भारतको गयासम्म पुग्छन् भने भारतीय पर्यटकहरु पशुपतिनाथको दर्शन गर्दै मानसरोवरसम्मको यात्रा गर्न सक्छन् ।
आधार २: चीन र भारत बीच भौगोलिक सिमानामा प्राकृतिक विकटता र सिमा विवाद छन् । अर्कोतिर भारत र चीनको व्यापारको हिस्सा पनि ठूलो छ । भारत र चीनको विशाल भूवनोटका कारण कतिपय नजिकको नाकाबाट सामान आयात निर्यात गर्नु आर्थिक दृष्टिकोणबाट लाभदायक हुन्छ । तुलनात्मक लागत लाभको सिद्धान्त अनुसार चीन र भारतले नेपालको स्थलको मार्ग हुँदै व्यापार गर्न सक्छन् । नेपालको उत्तर दक्षिणको औसत दुरी १५० देखि २५० किमीसम्म रहेको छ । नेपालले उत्तर र दक्षिण जोड्ने ठूला व्यापारिक मार्गहरुको निर्माणलाई प्राथमिता दिन सक्छ ।
आधार ३: नेपाल र चीन बीचको रेल सेवा नेपाललाई भारत र चीनको ट्रान्जिट विन्दु बनाउने मुख्य आधार हुन सक्छ । काठमाडौं– सिगात्से रेल मार्गलाई पोखरा र लुम्बिनीसम्म पु¥याउने योजना छ । लुम्बिनीमा पुगेको रेल मार्गलाई भारतीय रेल मार्गसँग जोड्न धेरै सहज हुन्छ । नेपालमा पनि पूर्व पश्चिम विद्युतीय रेल मार्ग निर्माण भइरहेको छ । पूर्व पश्चिमको रेल मार्गसँग उत्तरमा चीनको तिब्बत, पूर्व, दक्षिण र पश्चिममा भारतसँग जोड्न सके रेल मार्गबाट भारत र चीनबीचको व्यापार र पर्यटन विस्तार गर्न सकिन्छ ।
आधार ४: चीनले संयुक्त राज्य अमेरिकाको मिलिनियम च्यालेन्ज कर्कोरेशनको चेक एण्ड ब्यालेन्सका लागि अगाडि सारेको बेल्ट एण्ड रोड इनिसियटिभले नेपाललाई चीन र भारतको ट्रान्जिट विन्दु बन्नमा महत्वपूर्ण आधार बन्न सक्छ । भलै नेपालले स्थानीय राजमार्गलाई उत्तर दक्षिणका दुई देशको व्यापारिक मार्ग हुने गरी विकास गर्न नसक्ला । तर एसियन हाइवेको परिकल्पनाले आगामी एक दशकमा केही गति लिन सक्ने अपेक्षा गर्न सकिन्छ । अर्कोतिर बेल्ट एण्ड रोड इनिसियटिब विशाल परियोजना हो । त्यो व्यवहारमा आए पछि नेपालले भारत र चीन बीचको व्यापार नेपाली मार्ग हुँदै गर्न सक्छन् ।
आधार ५: कोरोना महामारीका कारण चीनको आर्थिक बृद्धिमा केही धक्का लागे भारत भने निकै नै क्षति वेहोर्न बाध्य हुँदैछ । तर पनि यी विशाल भुवनोट भएका देशका सबै क्षेत्रमा विकासको लहर पुगेको खण्डमा विश्व अर्थतन्त्रका महारथी हुने कुरामा विज्ञहरु एकमत छन् । विश्वको ठूलो बजार भएका यी देशका बीचमा रहेको नेपालले पनि आफूलाई प्रभावकारी ढङ्गबाट उभ्याउनु पर्दछ । खासगरी पर्यटनको क्षेत्र विकासमा नेपालले जोड दिनु पर्दछ । भारतमा आएका पर्यटकहरु नेपालको हिमाल हेर्दै तिब्बत जाने आकर्षक रेल र सडक मार्गको विकास गरिनु पर्दछ ।
निष्कर्ष
नेपालले भौगोलिक सिमाना जोडिएका दुई छिमेकी देशबीच आफूलाई स्वतन्त्र राख्न आधुनिक नेपालको एकीरणको सुरुवातदेखि नै सन्तुलनको नीति लिएको देखिन्छ । तर बदलिदो विश्व भूराजनीतिक पृष्ठभूमिमा नेपाललाई अझै पनि ‘दुई ढुङ्गा बीचको तरुल’ को रुपमा हेरिनु आर्थिक दृष्टिकोणबाट नेपालले आर्जन गर्न सक्ने लाभ गुमाउँदै जानु हो ।
naradrijal45@gmail.com