धेरै दिनको अन्तरालमा केही कुरा लेख्न जमर्को गरेको छु। यस बीचमा चाहना हुँदा हुँदै पनि यो कोरोनाको तीव्र प्रकोप, नर्सको भूमिकाको विकास, देशभरिका नर्सहरू बीच समन्वय साथ अन्तरराष्ट्रिय जगतमा ख्याति कमाएका नेपाली नर्सहरू बीचको अन्तरक्रिया, नर्स शिक्षकको आफ्नो कार्य आदिका कारणले समयको अभाव र कता कता नकारात्मक प्रहारको कारणले थकान पनि महसूस भएर केही नलेखी बसेको थिएँ ।
हामीकहाँ नर्सका विरुद्ध धेरैखाले विभेदकारी नीति नियम निर्माण गरिएको छ, समावेसी र समभावको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम सास्थ्यकर्मीहरुलाई सम्बोधन गर्न सकेको छैन।
सानो हुँदा मेरा बुबाले कथा हालेर मलाई सुनाउने गर्नुहुन्थ्यो, छोरा समाज र सम्पति रोज्नु पर्दा कदापि सम्पति नरोज्नु। समाज नै ठूलो सम्पति होे।
तर आज जताततै समाजलाई लत्याएर सम्पति जोहो गर्न खोज्नेहरु प्रसस्तै मात्रामा पाइन्छ। यस्ता मानिसहरु व्यक्तिगत रुपमा धेरै देखें, प्रत्यक्ष अनुभूति गर्न पाएँ जसको फलस्वरूप स्वास्थ्य र शिक्षा जस्ता आम मानिसको आधारभूत विकासका अत्यावश्यक र प्रथम विम्वहरु गल्र्यामगुर्लुम ढलेको हामी सबैले अनुभूति गर्न पाएका छौं।
अहिले कोरोनाको विश्वव्यापी महामारीमा पनि नेपालका स्वास्थ्य र शिक्षा सम्बन्धी सरोकारवालाहरु समाजप्रति त्यति संवेदनशील भएर उत्तरदायित्व बहन गरेको पाइएको छैन। यो व्यक्ति तथा कुनै पेशाकर्मीप्रतिको मेरो पूर्वाग्रह होइन, सत्य यही हो, तथ्य यही हो ।
कतिले आफु कुन समाजबाट आएको हो, आजको दिनमा यो भूमिकामा आईपुग्दासम्म कसले, के कति र कसरी प्रत्यक्ष वा अप्रत्यक्ष सघाएका थिए भन्ने सबै बिर्सने गरेका छन्। आफ्ना नजिकका नाता बाहेक अरु सबैलाई तुच्छ प्राणी समान व्यवहार गर्ने गरेका छन्। यस्तो किन छ ? सहज उत्तर आउनेछ गलत सिकाईको प्रक्रियाको कारणले, गलत स्कुलिङको कारणले।
शिक्षामा नैतिक शिक्षा हटाइयो, संस्कृति विषय नै हटाइयो । यो नै बहुदलीय व्यवस्थामा शिक्षाको कमी देखियो, जिन्दाबाद मुर्दाबादको नारा लगाउन, रेलिङ्गहरु भत्काउन, टायर ट्यूब बालेर सडक जाम गर्न विद्यार्थीहरुलाई हौस्याइयो । कति वर्ष जेल बसेको छ, कति मसल प्रयोग गर्दा युवालाई आफ्नो समूहमा राख्न सकिन्छ भन्ने कुरा नै यो बहुदली प्रणालीमा पदको हिसाब किताब गर्ने आधार बनाइयो। तिनै विद्यार्थीहरु आज विभिन्न पार्टीमा ठूलो नेता भएका छन्। साथै उनीहरुले पनि त्यही प्रक्रियालाई निरन्तरता दिनु स्वभाविकै भयो। त्यति मात्र होइन विरोधीहरूको कुरा सुन्न नचाहने, जासुस, कुरो लागाउने आदि भनेर सरकारको तर्फबाट र भूमिगत पार्टीको तर्फबाट मान्छे मार्न लगाइयो। आज यस्तै चरित्रको प्रतिफल समाजले भोग्दै छ।
सही सत्य कुरो लेख्यो, बोल्यो भने हिरो बन्न खोज्ने भनेर जागिरबाट निकाल्ने, समाज, सङ्घ संस्थाहरुबाट बहिष्कार र तिरस्कार गर्ने गलत संस्कारको विकास गरिएको छ।
म आफू पेशाले नर्स भएकोले नर्सिङका कुराहरू चित्रण गर्न आवश्यक ठानेको छु । लगभग ५० प्रतिसतको हाराहारीमा रहेका अति नै बहुआयामिक भूमिकामा अन्तर्राष्ट्रिय स्तरमा स्थापित नर्सिङ जनशक्तिहरु नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा छन् तर जति इज्जत र पदीय दायित्व पाउनु पर्ने हो त्यो छैन । आखिर किन त?
चोहे ती नेपाल सरकारको संघीय अस्पताल वीर अस्पतालमा कार्यरत नर्सहरू हुन वा जनकपुरको संघीय अस्पतालका नर्सहरू हुन वा वीरगन्ज, विराटनगर, भरतपुर संघीय अस्पतालका नर्सहरू हुन सबै अति नै पीडित छन्, शोषित छन्। नेपाल सरकारका संघीय अस्पतालहरूमा यस्तो निन्दनीय अवस्था छ भने निजी संस्थाहरुमा कार्यरत नर्सहरुको हाल के होला? यसैबाट के स्पष्ट हुन्छ भने नीति नियम निर्माण गर्ने, लागु गराउने र अनुगमन गर्ने निकायका संस्थाहरुद्वारा नै नर्सहरू मानसिक, शारीरिक, सामाजिक र आर्थिक रुपमा पीडित शोषित छन। यस्तो अवस्थामा मुनाफाखोर निजी संस्थाहरुको अवस्था परिकल्पनासम्म पनि गर्न सकिंदैन।
हामीकहाँ नर्सका विरुद्ध धेरैखाले विभेदकारी नीति नियम निर्माण गरिएको छ, समावेसी र समभावको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम सास्थ्यकर्मीहरुलाई सम्बोधन गर्न सकेको छैन।
कोरोनाले महामारीको रुपमा आम मानिसहरू भित्र के कति मानवता छ, के कस्तो स्वरुपमा छ भनेर परीक्षा लिंदै छ। पदीय हिसाबले प्राचार्य, सहप्राचार्य जस्तो विशिष्ट शिक्षित र राज्यको उच्च बौद्धिक स्तरका व्यक्तिहरू पनि कोरोना महामारीको नाममा तलब विहिन हुन पुगेका छन्। जबकि राज्यले आफ्नो प्रशासन मार्फत यो महामारीको विषम परिस्थितिमा तलब खुवाउनु भनेर राजपत्रमा नै निर्देशन प्रकाशित गरेको छ तर त्यसलाई बेवास्ता गर्दा पनि कुनै सुनुवाई भएको छैन। कारण ती विशिष्ट व्यक्तिहरूले नबोल्नु, नलेख्नु र न्याय माग्न नसक्नु हो। समाज नै भ्रष्ट छ भन्ने कुरा गहिरो रुपमा मनमस्तिष्कमा बस्नु हो वा कुनै पनि नेता, कुनै पनि न्यायमूर्तिमाथि विश्वास गर्न नसक्नु वा सङ्गठन र यसको औचित्य बुझ्न नसक्नु हो वा उनीहरू आफ्नो हक अधिकार र राज्यका कानून बारेमा अनभिज्ञ हुनु हो। यदि यसो हो भने हाम्रो सामाजिक मयार्दा कति हदसम्म गिरिसक्यो त? प्रश्न अनुत्तररित छ ।
नेपाल नर्सिङ सङ्घले भने यस बारेमा जागरण कार्यक्रम गर्दै आइरहेको छ । विभिन्न निकायहरुसंग सहकार्य गर्दै आएको छ। राष्ट्रिय, अन्तरराष्ट्रिय स्तरमा नर्सहरू माझ अन्तरक्रिया गर्दै आइरहेको छ साथै आधिकारिक संस्था विश्व स्वास्थ्य संगठन, अन्तरराष्ट्रिय नर्सिङ परिषद्, अन्तरराष्ट्रिय मिडवाईफ्री परिषदसंग प्रत्यक्ष सम्पर्कमा रहेर सहकार्य गर्दै आएको छ। यसको राम्रो पक्ष के छ भने युवा नर्सहरू यस बारेमा धेरै सचेत छन्, चुप लागेर बस्ने वाला छैनन। कतै न कतै जोडिन पुगेका छन्। न्यायका लागि।
राज्यको चौथो अंग पत्रपत्रिका मार्फत आवाज उठ्न थालेको छ। सत्य तथ्य खोजी खोजी लेख्ने गरेका छन् बोल्ने गरेका छन्। नेपाल सरकारका सम्बन्धित सरोकारवालाहरु बोल्नु पर्ने, अनुगमन बढाउनु पर्ने र उत्प्रेरणा बढाउनुपर्नेमा उल्टै धम्की दिने र दुरुत्साहित बनाउने कार्यमा लागिपरेका छन्। फलामले फलामलाई काट्छ भने झै नर्स मार्फत नै नर्सहरूलाई दमन शोषण गरिएका छन्।
प्रत्येक स्वास्थ्य संस्थाहरुले आफुलाई चुस्त दुरुस्त पार्नु अनिवार्य छ, नत्र कोरोना नामक महामारीले हामी सबैलाई सिध्याउने छ। आफ्नो संस्थाको कमजोरी पत्रिकामा छाप्यो भनेर टाउको दुखाउनुको सट्टा सत्य कुरो नै छापेको हो भने सुधार गर्ने तर्फ लाग्नु पर्दछ । कसले भन्यो र मिडियाले थाहा पायो भनेर खोजीनीति गर्नुपर्ने तर्फलाग्ने होइन। त्यसैले अन्तर राष्ट्रिय संयुक्त आयोग (Joint Commission International, USA) ले संस्थालाई कसरी मर्यादित, विश्वसनीय र उच्चगुणस्तरको बनाउने भनेर त्यसका आवश्यक गुणहरू मज्जाले विस्तृत रुपमा व्याख्या नै गरेको छ। संस्थामा कार्यरत सानोभन्दा सानो तहका कर्मचारीले पनि त्यो आयोगलाई स्वास्थ्य संस्थामा भएका कमजोरी बतायो भने त्यो संस्थाले कुनै किसिमको कारवाही गर्न पाउने छैन यदि त्यसो गरेमा विश्वसनीयता, स्तरीयतामा आँच आउने छ भन्ने कुरालाई ख्याल गरिएको छ ।
कोरोनाको जब औषधि छैन भने किन लक्षण विहिनहरुलाई अस्पताल भर्ना? श्वासप्रश्वास मार्फत सर्ने संक्रमित कोरोना हो भनी जानकारी हुँदाहुँदै किन कोरोना संक्रमित र कोरोना संक्रमित नभएको बिरामीलाई आईसीयु मा एकै ठाउँमा राख्ने गरिएको? आईसीयुमा कार्यरत नर्सहरुलाई मास्क, पीपीई किन व्यवस्थित गर्न नसकेको? यो महामारीको बेला किन नर्सहरुको तलब कटौती गरिएको? यस्ता धेरै अनुत्तरित प्रश्नहरू नर्सहरू माझ छन्।
फलानो चिकित्सक, फलानो नर्स, फलानो स्वाथ्यकर्मीमा माथि कोरोनाको प्रतिकुल समयमा पनि समाजले अभद्र व्यवहार ग¥यो, तिरस्कार ग¥यो, बहिष्कार ग¥यो भन्ने चर्चा परिचर्चा भएका छन्। जति कोरोनाप्रति जागरुकता जगाउने कार्यक्रम गाउँघरमा पुर्याउनु पर्ने थियो त्यो हुन नसक्नु एउटा कारण हो भने दोस्रो हामीले जस्तो समाज निर्माण गरेका छौं त्यसैको सामना गर्ने त हो। पैसामुखी शिक्षा र स्वास्थ्य भएपछि समाजबाट अरु के आशा राख्न सकिन्छ। राहतको नाममा समाजले राज्यबाट के पाएको छ? मात्र निषेधआज्ञा, लकडाउन नै समस्याको समाधान हो र? पेटमा बलेको भोकको आगो, मन मस्तिष्कमा छाएको अनिश्चितताको सन्त्रासका बादलहरु केले हटाउने हो? यसैको शिकार स्वास्थ्यकर्मी चिकित्सक, नर्स, पारामेडिक र प्रहरीहरु आदि सबै भएका छन्।
कोरोनाको जब औषधि छैन भने किन लक्षण विहिनहरुलाई अस्पताल भर्ना? श्वासप्रश्वास मार्फत सर्ने संक्रमित कोरोना हो भनी जानकारी हुँदाहुँदै किन कोरोना संक्रमित र कोरोना संक्रमित नभएको बिरामीलाई आईसीयु मा एकै ठाउँमा राख्ने गरिएको? आईसीयुमा कार्यरत नर्सहरुलाई मास्क, पीपीई किन व्यवस्थित गर्न नसकेको? यो महामारीको बेला किन नर्सहरुको तलब कटौती गरिएको?
यस्ता धेरै अनुत्तरित प्रश्नहरू नर्सहरू माझ छन्। यसको बिरुद्द धेरै ठाउँमा आवाज पनि निस्किन थालेको छ। त्यसैले कोरोनालाई मजाकको विषयवस्तु नबनाइयोस्, अपार व्यापार गर्ने मौका पनि नबनाइयोस्। पुरै शैक्षिक कार्यक्रमको रकम विद्यार्थी भर्नाको समयमा असुली गरेर नर्सिङ, एमबीबीएस, हेल्थ असिस्टेन्ट, फार्मेसी, जन स्वास्थ्य, ल्याब आदि विषय पढाई गर्ने कलेजहरुले अरु स्कूल जस्तो महिनैपिच्छे अथवा वर्ष वर्षमा भुक्तानी असुली गर्नेको तुलना गरेर शिक्षकहरुलाई तलब नदिने गलत कार्य तुरुन्त बन्द गरियोस्। यसका लागि राज्यले कडा नीति नियम निर्माण गरी अनुगमन सक्दो चाँडो गरोस्।
यो कोरोना महामारीको रोकथाम, नियन्त्रण र उचित उपचारको प्रत्याभूतिका लागि नेपाली समाज र स्वास्थ्यकर्मीहरु माझ सहकार्य, समन्वयकारी भूमिका स्थापित गर्ने कार्य योजना र रणनीति सहित नर्सहरू अग्रपंक्तिमा घर दैलोमा जान आवस्यक छ। यसमा म प्राचार्य, म वरिष्ठ नर्सिङ प्रशासक, म सरकारी निकायको भनेर आफु आफुलाई ठूलो सम्झने समय होइन। आउनुहोस्, हामी नेतृत्व दिन तयार छौं, नेपाल नर्सिङ सङ्घ सदा तपाईंहरुको साथमा छ। अहिले जुट्ने बेला हो मानवताका लागि। यो शून्यता, अनिश्चितता र शंकाको घेरा तोड्नु पर्छ। व्यक्तिगत रिस, अहंकार सबैले त्यागौं। एक जुट भएर कोरोनालाई समयमा नै परास्त गरौँ, हाम्रो संस्कार, हाम्रो मानवता, हाम्रो समाजको संरक्षण गरौँ।