पितृप्रति श्रद्धासुमन

पितृपक्ष विशेष (छन्द: शार्दूल विक्रीडित)

थाप्लामा परिवार–बोझ सहजै बोक्ने भनेकै पिता

चल्ने गर्छ निखार खातिर छिनो, शिल्पी भनेकै पिता ।

खम्बा हो घरको, बलो अनि धुरी, छानो भनेकै पिता

डोरी हो परिवार बाँधिरहने, झण्डा भनेकै पिता !१

 

द्रष्टा औ युगचेत पितृ दिनुहोस् आशीष हामीकन

ज्ञानी–मूर्ख भए पनि हजुरकै सन्तान ठानीकन ।

एकै हातविषे बराबर सबै हुन्नन् ती औँला भनी

माफी गर्दिनुहोस्, क्षमा दिनुहवस् दुर्बुद्धिलाई पनि ।२

 

आधा पेट नखाई, रात–दिनको पर्वाह छोडीकन

आफ्ना ती सपना र चैन–सुखका इच्छा त तोडीकन ।

हाम्रो उन्नति औ समाज हितमा अर्पी बित्यो जीवन

सादा जीवन, उच्च चिन्तन थियो, कल्याणकारी मन ।३

 

विद्या, ज्ञान र गुण, सीपहरूले युक्तै थियो जीवन

सारा शास्त्र मुखाग्र, इज्जत ठूलो, झुक्थे गुणी सज्जन ।

शिक्षा खातिर खोल्नु स्कुल भयो, अज्ञान खेद्नुभयो

सारा बाल र बालिका अब पढून् — यो स्वप्न देख्नुभयो ।४

 

वाणी अमृत झैँ थियो हजुरको, बोले नियाँ पर्दथ्यो

त्यो आदर्श र त्यागबाट दुनियाँ सिक्थ्यो, अघि बढ्दथ्यो

छन्दैका रचना मिठास लयमा सुन्थे र लट्ठै भई

झुल्थे मानिस बिर्सिएर दुःखका जन्जाल मुग्धै भई ।५

 

बुवाकै उपदेश झल्मल सबै सन्तानले पाउँदा

पक्री मार्ग सही बुवाप्रति सधैँ कृतज्ञ भै जाउँला ।

बैकुण्ठै छ कतै भने उहीँ बसी आशीष पाऊँ बुवा

मायाले धरती भिजाइ सँगमै बस्नुभएकी मुमा ।६

 

यस्तो आशीष पाउँ — सङ्गत सधैँ सज्जनहरूको गरूँ

नोक्सानी अरुको कबै म नगरूँ, सत्कार्यमा मन् धरूँ ।

त्यो आदर्श सधैँ लिई हजुरको बितोस यो जीवन

अन्यायै नगरूँ र कत्ति नसहूँ, राम्रो विचारोस् मन ।७

 

छोटो जीवन यो छ नश्वर अनि जानु छ छोडी जब

राम्रै काम गरेर मर्न सकिए रोला दुनियाँ तब ।  

कीराले पनि पेट भर्छ, किन हो रुन्छन् नि खाए भनी ?

आमाबाबु त तौलिँदै धनसँगै बस्छन् जपेरै ‘मनी’ !८

 

यौटै गाउँ बनिसक्यो जब यहाँ संसार खुम्चीकन

मान्छे पुग्दछ अन्तरिक्ष सहजै बुर्लुक्क उफ्रीकन ।

यस्तो उन्नतिका चुलीहरू चढी झुल्दैछ मान्छे जब

हाम्रा चेत खुलेर यो समयको यात्रा अँगालून् अब ।९

 

लेखेँ यी दुई शब्द सम्झन पुगी ती पुज्य बाबाकन

श्रद्धापूर्वक पुष्प अर्पण गरेँ हे जन्मदाता जन ।

मेरो यो जति रक्त हो शरीरमा त्यो बाबुकै अंश हो

मेरो जीन, विचार, भाव जति हो, यो बाबुकै वंश हो ।१०

 

 

मेरो साहस, आँट, सौर्य जति हो, यो बाबुबाटै बन्यो

जे व्यक्तित्व उठ्यो, चिन्यो जगतले हो बाबुकै देन यो ।

पैलो नाम त पितृको उपरमा, मेरो तलै आउँछ

छोराले पहिचान आखिर सधैँ बाबासँगै पाउँछ ।११

 

कैले काँध चढेँ र फोहर गरेँ, कैले बसेँ काखमा

ताते बाबु भनी हिँडाउनुभयो पक्री लुला हातमा

हामी योग्य बन्यौँ बुवा हजुरले देखाउनाले डर

बाबा झैँ हितकारी भूतलभरि अर्को कुनै हुन्छ र ?१२

 

देख्नै कत्ति नपाई उन्नतिहरू प्रस्थान गर्नुभयो

बाबा यो छ हजुरलाई भनी क्यै न अर्पिनै पाइयो

ज्यूँदै बाबु हुने त सन्तति कुशे औँसीविषे पुज्दछन्

हामी तस्बिर हेर्दछौँ, उनीहरू बावुसँगै बस्दछन् ।१३

 

आमा–बाबु रुवाउने जनहरू यौटा बिचारे कुरा —

तिम्रा सन्ततिले उसै तरहले रोप्लान् नि तीखो छुरा

सेवा साथ हुँदै गरौँ पछि भने आउन्न फर्की दिन

बा–आमा भगवानलाई घरमा पुज्ने गरौँ दिन्‌दिन ।१४

(समाप्त)

 

Facebook Comments
Luitel
Comments (0)
Add Comment