हरित छत प्रविधि, वातावरण र काठमाडौ उपत्यका

सन् १९६१ मा जर्मन वैज्ञानिक रेर्नहार्ड वर्नकाम ले हरित छत प्रविधि (Green Roof Technology) सम्बन्धी आफ्नो अनुसन्धान कृति अन्तराष्ट्रिय जर्नलमा प्रकाशित गरेपछि यो प्रविधिले विश्वव्यापी चर्चा पायो । आज विश्वका ठूला शहरहरुमा निजी तथा सरकारी भवनहरुको खाली छत स्वच्छ वातावरण र उर्जा खपतका लागि प्रयोगमा आइरहेका छन् । सामान्यतय घरको खाली छतमा विभिन्न प्रकारका विरुवाहरु हुर्काउने विधिलाई नै हामी हरित छत भनेर बुझ्ने गर्छौ ।

पृथ्वी दर्पण २०१५ तथा गुगल बाट साभार गरिएको एक्सटेन्सीब र इन्टेनसीब हरित छतका प्रकारहरु

कतिपय मानिसले शोखले त कतिपय मानिसले कृषि उत्पादनको उद्देश्यले छतमा बोटविरुवा उमार्ने गर्छन् जुन आधुनिक प्रविधी अन्र्तगत पर्दैन । आधुनिक हरित छत प्रविधिको शुरुवात सन् १९६० देखि जर्मनीबाट भएको मानिन्छ जसको मुख्य उद्देश्य भनेको शहरी वातावरणलाई स्वच्छ बनाउनु, प्रदुषण नियन्त्रण गर्नु, जलवायु परिवर्तन मुख्यत शहरी तापक्रमलाई नियन्त्रणमा राख्नु रहेको छ ।
विभिन्न प्रकारका वोटविरुवाहरु हुर्कन सक्ने गरी भवन निर्माणसंङ्गै छतको प्राविधिक डिजाइन गरी सम्बन्धित निकायबाट स्वीकृती लिएर वातावरण संरक्षणको उद्देश्य राखी छतमा गरीने कुनै पनि प्रकारको वृक्षरोपण विधिलाई हरित छत प्रविधी भनिन्छ । सन् २०११ मा क्यानडाका वैज्ञानिक हाओज र उनका टिमले प्रकाशन गरेको अनुसन्धान कृति अनुसार मुख्यतय छतको वनावट, पानी निकास, फिल्टर, माटो र उपयुक्त विरुवाहरु आधुनिक हरित छत प्रविधीको प्रमुख पाटो हो ।

यो प्रविधी नयाँ भवनमा मात्र नभई पुरानो भवनको छतलाई समेत प्राविधिक रुपले परिमार्जन गरी गर्न सकिन्छ । वैज्ञानिकहरुका अनुसार ४५ डिग्रीभन्दा बढी भिरालो छतमा यो प्रविधि उपयुक्त नहुने र १० डिग्री भन्दा कम भिरालो छतमा भने सावधानी अपनाउनु पर्ने कुरा उल्लेख गरिएको छ । यो प्रविधीको वातावरणीय पक्ष सवल रहेको र शहरी वातावरणलाई प्रकृतिक स्वरुपमै पुनस्थापना गर्न सक्ने भएकाले विश्वका ठुलठुला शहरहरुमा यसको प्रयोग बढ्दै आएको छ । वैज्ञानिक फ्रेजरका अनुसार छतले ३२ प्रतिशत र अकवरीका अनुसार २०–२५ प्रतिशत बरावर जमिनको भु–भाग ओगटेको हुन्छ, जुन शहरी वातावरण प्रावधानका लागि एउटा राम्रो अवसर बन्न सक्छ ।

आधुनिक हरित छत प्रविधिको उद्गम थलो जर्मनीमा १० प्रतिशत शहरी भवनहरुमा हरित छतको निर्माण गरिएको छ । यो प्रविधीको विश्वव्यापी प्रयोग वेल्जियम, सिङ्गापुर, जापान, अमेरिका, क्यानडा, स्वीजरल्यान्ड, नर्वे, अष्ट्रेलिया र चीनका मुख्य शहरहरुमा भएको देखिन्छ । सन् १९९७ मा जर्मनीको म्यूनिच शहरमा एक हजार वर्गमिटरभन्दा फराकिलो छतमा वृक्षरोपण गर्न पाउने कानुन बन्यो सोही अनुरुपको कानुन सन् २००२ मा स्वीजरल्यान्डको वेसल, सन् २०१० मा डेनमार्कको कोपेनहेगन, जापानको टोकीयो र हङकङ्ग सरकार तथा सम्बन्धित महानगरपालीकाले पारित ग¥यो । आज ती देश लगायत यूरोपका विभीन्न ठुला शहरहरुमा छत वृक्षरोपण प्रविधी फस्टाएको छ । र त घना बस्ती र जनसंख्याका बावजुत पनि ती शहरका वासिन्दाहरु वातावरण अनुकुलित भैरहेका छन् ।

चिनीया वैज्ञानिक जुन याङका अनुसार हरित छत प्रणालीलाई इन्टेनसिब र एक्सटेनसीब गरी दुई भागमा वर्गीकरण गरिएको छ । इन्टेन्सीब हरित छत विधीमा दक्ष जनशक्ति, सिंचाई, गुणस्तरीय माटो, बिरुवाको प्रकार र बारम्बार अनुगमनको जरुरत पर्छ भने एक्सटेन्सीब हरित विधी तुलनात्मक रुपमा अलि सजिलो र थोरै मर्मत गर्नु पर्ने हुन्छ । दुबै विधीमा बिरुवाको छनोट, माटोको गुणस्तर, सिंचाइको व्यवस्था, पानी निकास, फिल्टरको व्यवस्थापन प्राविधिक र वैज्ञानिक रुपले गर्न जरुरी छ ।

यी बाहेक अलि सहज र चलन चल्तिमा आएको विधि हो मोडुलर विधि जुन विधिमा हामीले म्याट र ट्रेरेमा बिरुवा हुर्काएर आवश्यकता अनुसार प्रयोगमा ल्याउन सकिन्छ । बिरुवा छनोट गर्दा हामीले बिरुवाको उचाई, आवश्यक पानीको मात्रा, माटो, जलवायू लगायत प्रदुषण मापन तथा खपत गर्न सक्ने खालका बिरुवा छनोट गर्नु पर्छ । क्याम, सिडम, स्पेनिस मोस, ग्रिन करटेन, कटन क्यान्डी, ग्रास, फुल फुल्ने बिरुवा जलवायु अनुसार चलनचल्तिका बिरुवाहरु हुन, जसले बढी कार्वनडाइअक्साइड खपत गदै हेभीे मेटल तथा पार्टीकुलेट म्याटर लगायत थुप्रै वायू प्रदुषणको जैविक सूचाङ्ककको रुपमा काम गर्छन् ।

हरित छत प्रविधि र वातावरणीय सवाल

शहरीकरण आफैमा एउटा ठुलो वातावरणीय समस्याको जड हो । विश्व शहरीकरण प्रक्षेपण २०१४ को तथ्याङ्क अनुसार विश्वमा ५४ प्रतिशतभन्दा बढी मानिसहरु शहरमा बस्छन् । जुन सन् २०५० सम्म ६६ प्रतिशत पुग्ने अनुमान गरिएको छ । संसारमा एक करोडभन्दा बढी जनसंख्या भएका ४० वटा ठुला शहरहरु छन् जस मध्य टोकीयो, मेक्सिको, न्यूयोर्क, साओपाउलो, दिल्ली, मुम्वई, वेइजिङ, ढाका, लस एन्जल्स, रियो द जेनेरीयो, मनिला, मस्को, कायरो, कलकत्ता ठुला शहरहरुमा पर्दछन् । यी मध्य टोकीयो सबैभन्दा ठुलो शहर हो जहा तीन करोड ८० लाखभन्दा बढी मानिसहरु बसोबास गर्छन । शहरी जनसंख्याको दृष्टिकोणले भने उत्तर अमेरिकामा ८२ प्रतिशत जनसंख्या शहरी जनसंख्या भित्र पर्छन जसलाई ल्याटिन, अमेरिका र यूरोपले पछ्याएको देखिन्छ ।

हाल आएर एशिया तथा अफ्रिकामा पनि शहरीकरण व्यापक बृद्धि भएको छ । भारत र चीनले मात्र संसारको एक तिहाई शहरी जनसंख्या ओगटेको छ । शहरीकरणको परिणाम स्वरुप जलवायू परीवर्तन, शहरी क्षेत्रको तापमानमा बृद्धि, प्रदुषण, वन्यजन्तु तथा पारिस्थितिक प्रणालीको ह्रास, खेतियोग्य जमिनको अतिक्रमण, मानव सिर्जित विपत्ती तथा रोगव्याधीको समस्याले वातावरणमा प्रतिकुल असर परेको देखिन्छ ।

यसै सन्र्दभमा शहरी क्षेत्रमा खाली रहेको छतको ठुलो भु–भागमा गरीने हरित छत प्रविधी विकास स्वच्छ वातावरणका लागी कोसेढुङ्गा सावित हुन सक्छ । जसको बिस्तार नाशा लगायतका विभिन्न वैज्ञानिक अनुसन्धान कृतिले पनि पुष्टि गर्दछ । अनुसन्धानले देखाएको जस्तो हरित छत विधिको वहुआयमिक वातावरणीय फाइदाहरु छन् । वैज्ञानिक लिले सन् २००२ मा आफ्नो कृतिमा के लेखेका छन् भने यसले घरको अर्थात छतको आयू बढाउने छ । त्यस्तै अर्का विज्ञ वासले २००१ मा भनेका छन्, हरित छतले वायूमण्डलको कार्वनडाइअक्साइड तथा प्रदुषणको मात्रा घटाइदिन्छ, कतिपय बिरुवाहरु आफै पनि प्रदुषण नियन्त्रणका लागि जैविक सुचाङ्कको काम गर्छन् ।

शहरीकरणले गुमेको हरयाली क्षेत्र छत हरित प्रविधिले पुनस्थापित गर्दै पर्यावरण र शहरी वातावरणलाई सन्तुलित राख्छ । यसका विविध आयमहरु मध्य कार्वन र उर्जा खपत मुख्य रुपमा लिन सकिन्छ । यी लगायत बर्खाको पानी निकासी, शहरी क्षेत्रमा पानीको वहाव नियन्त्रण तथा शहरी तापमान बृदि हुन नदिनु हरित छत प्रविधीको मुख्य पक्षहरु हुन ।

वैज्ञानिक रोजेनवर्गका अनुसार टोरन्टो शहरमा सात प्रतिशत हरित छत क्षेत्र व्यवस्थापन गर्ने हो भने गर्मीयाममा १–२ डिग्री शहरी तापक्रम घट्ने देखिन्छ । त्यस्तै न्यूयोर्क शहरमा ५० प्रतिशत हरित छत व्यवस्थापन गर्ने हो भने ग्रामीण र शहरी क्षेत्रको तापमानमा ८ प्रतिशतले मात्र फरक देखिने प्रक्षेपण गरेका छन् । त्यस्तै, हरित छत भएका भवनमा गर्मीयामका ९०.८० प्रतिशत उर्जा बचत भएको देखिन्छ । अमेरीकन वैज्ञानिक रोयले सन् २०११ मा प्रकाशित गरेको अनुसन्धान कृतिका अनुसार दुई हजार वर्गामिटर क्षेत्रमा रहेको हरित छतले चार हजार के.जीसम्म धुलोका कणहरु खपत गर्नसक्छ । अर्थात नौ वर्गमिटर क्षेत्रफलको हरित छतले १ वर्षभरी एउटा कारले उत्सर्जन गर्ने धुलोका कणहरु व्यवस्थापन गर्न सक्छ ।

शहरी क्षेत्रमा रहने SOx, NOx, CO2, PM10, PM2.5, O3 र हेभी मेटल जस्ता प्रदुषणको मात्रा कम गराउँछ । वैज्ञानिक रोय भन्छन एक वर्गामिटर हरित छतले २३.६ केजीसम्म कार्वन खपत गर्न सक्छ । जसले जलवायु परिवर्तनको रोकथाम तथा नियन्त्रणमा ठुलो प्रभाव पर्न सक्छ । शहरी क्षेत्रमा ध्वनी प्रदुषण पनि एउटा ठुलो समस्या हो । खाली छत भएको क्षेत्रको तुलनामा हरित छतले १० db सम्मको ध्वनी कम गराउँछ, । जसको सकारात्मक प्रभाव शहरी बासिन्दाका लागि अति आवश्यक छ । यी विविध वातावरणीय फाइदाका कारण हरित छत प्रणाली शहरी विकासले गुमेको प्राकृतिक वातावरण पुनःस्थापित गर्ने अवसर हुन सक्छ । किनकी सबै जमिनका सतहहरु मानव निर्मित भवन र कालोपत्रे सडकले भरिभराउ भएको वेला घरको छतलाई स्वच्छ वातावरणको विकल्पको रुपमा लिन सकिन्छ । यसका अलवा हरित छत प्रविधीले नर्सरी व्यवस्थापन तथा वातावरण क्षेत्रको व्यवसायलाई पनि प्रोत्साहन गर्दछ।

के हरित छत प्रविधि काठमाडौंमा सम्भव छ त ?

काठमाडौं उपत्यका नेपालको एक मात्र दशलाख भन्दा बढी जनसंख्या भएको शहर हो जहाँ २५ लाखभन्दा बढी जनसंख्याले राष्ट्रिय शहरी जनसंख्याको ९.७२ प्रतिशत हिस्सा ओगटेको छ । काठमाडौं उपत्यकामा सन् २०११ को जनगणना हेर्ने हो भने प्रत्येक वर्ष ३.४ प्रतिशतका दरले जनसंख्या बृद्धि भइरहेको छ । शहरीकरणसङ्गै काठमाडौंमा वातावरणीय समस्याहरु देखिदै आएका छन् । वायु, ध्वनी र पानी प्रदुषण, खेतियोग्य जमिनको अधिग्रहण, शहरी तापमानमा बृद्धि, अव्यवस्थित भवन निर्माण, साना तथा मझौला खालका धुलाका कणहरु र हानिकारक हरितगृह ग्याँसहरुले काठमाडौको वातावरणलाई कुरुप बनाएका छन् । विभिन्न अध्ययनले काठमाडौं उपत्यकामा खुला बगैचा र पार्कले ओगटेको भु–भाग जम्मा ०.५८ प्रतिशत मात्र रहेको देखाएको छ ।

विश्व स्वस्थ्य संगठनको निर्देशिका अनुसार स्वच्छ वातावरणका लागि प्रति व्यक्ति नौ वर्गभिटरका दरले हरीयाली तथा खुला क्षेत्र हुनु पर्नेमा काठमाडौं उपत्यकामा प्रतिव्यक्ति ०.२५ वर्गमिटर मात्र हरीयाली क्षेत्र रहेको पाइएको छ । जुन विश्व स्वस्थ्य संगठनको मापदण्ड अनुसार अत्यधिक न्यून हरित क्षेत्र हो । प्रत्येक वर्ष काठमाडौं उपत्यकाको खेतियोग्य जमिन चार सय हेक्टरले घटेको देखिन्छ । विभिन्न अनुसन्धानले के देखाउँछन् भने २०१६ मा काठमाडौं उपत्यकामा २६.०६ प्रतिशत भु–भाग भवन निर्माणले ओगटेको पाइन्छ ।

जुन १९८९ मा ५.१०, १९९९ मा ११.१५, र २००९ मा २४.१६ प्रतिशत रहेको थियो । भवन निर्माणले ओगटेको क्षेत्रफल काठमाडौं उपत्यकामा १०.८ प्रतिशतले बढेको बिभिन्न अध्यनले देखाएको छ । नाशाको भु–उपग्रहको २०००–२०१७ सम्मको तथ्याङ्कले पनि काठमाडौं उपत्यकामा हरित सुचाङ्क जम्मा ०.१ देखि ०.३ देखाउँछ भने भवन निर्माण सुचाङ्क ०.१२ देखि ०.२२ रहेको छ । नाशाको यही अध्ययनलाई आधार मान्ने हो भने जमिनको सतहको तापक्रम जमिन माथी हावाको तापक्रमभन्दा बढी देखिन्छ ।

चीनको उत्तरी ग्वाङडोङ प्रान्तका गाउँलेहरुले स्वच्छ हावा बेच्दै गरेको दृश्य, स्रोतः चाइना दैनिक, २०१६

बानिया लगायत नेपालका अनुसन्धानकर्ताहरुले २००० देखि २०१६ सम्म काठमाडौंमा गोदावरी, पानीपोखरी, वुढानिलकण्ठ, खोकना, खुमलटार, एयरपोर्ट र नगरकोटको तापमान मापन केन्द्रको तथ्याङ्कलाई हेर्दा काठमाडौंमा सरदर वार्षिक तापक्रम ०.०४ डिग्री र उच्चतम तापक्रम ०.०६ डिग्री सेल्सियसको दरले बढेको देखिन्छ । सबैभन्दा बढी सरदर तापक्रम काठमाडांैको पानीपोखरी र एयरपोर्ट केन्द्रमा देखिएको छ । पानीपोखरी मापन केन्द्रमा भने बार्षिक सरदर तापक्रम ०.१ डिग्री सेल्सियसले बढेको देखिन्छ । जुन नेपालको सरदर तापक्रम बृद्धिभन्दा उच्च रहेको पाइन्छ ।

उल्लेखित विवरण अनुसार यावत वातावरणीय समस्याहरु काठमाडौं उपत्यकामा विद्यमान छन् । काठमाडौं उपत्यकामा प्रदुषणको मात्रा तथा हरित गृह ग्यासको उत्सर्जन पनि बढी नै देखिन्छ जुन स्वच्छ वातावरण र सवल स्वस्थ्यको प्रतिकुल देखिन्छ । काठमाडौंको वातावरण संरक्षण अर्थात प्रदुषण न्यूनीकरण बेलैमा नगर्ने हो भने स्वच्छ हावाको खडेरी नपर्ला भन्न सकिदैन । जसको फलस्वरुप काठमाडौंका वासिन्दाले स्वच्छ हावाको खोजीमा वरिपरिका डाँडाकाँडामा भौतारिने स्थिति आउन सक्छ ।

काठमाडौंमा मात्र नभई देशका विभिन्न शहरहरुमा वातावरणीय समस्याहरु बढ्दै गइरहेका छन् । यस परिप्रेक्षमा वातावरणीय समस्या न्यूनीकरण तथा समाधानका लागि स्थानीय, प्रदेश तथा केन्द्रीय स्तरमा पहल कदमी नभएका होइनन् तर समाधान हुन सकिरहेको छैन । यस स्थितिमा काठमाडौं लगायत प्रादेशिक राजधानी र देशका विभिन्न शहरहरुमा हरित छत प्रणाली उपयुक्त विकल्प हुनसक्छ । आजसम्म काठमाडौंमा न त आधुनिक हरित छतको प्रयोग गरिएको छ न वातावरण सम्बन्धी नीति नियममा यो विषय समेटिएको छ ।

तसर्थ, काठमाडौं उपत्यका लगायत देशका विभिन्न शहरहरुमा शुक्ष्म अध्ययन अनुसन्धान गरी हरित छत प्रविधीलाई जलवायु परिवर्तन, शहरी तापमान र वातावरणीय समस्याहरुको समाधानका रुपमा विकास गर्न सकिन्छ । किनकी स्वच्छ शहरी विकासले दिगो विकासको लक्ष प्राप्तिको बाटो तथा हामीले कल्पना गरेको हरित शहर अर्थात जलवायु अनुकुलित शहर निर्माणमा सहयोग गर्दछ ।

Facebook Comments
Binod
Comments (0)
Add Comment