म जन्मेको माटो

कविता (छन्द: शिखरिणी)
म जन्मेको माटो पवित बहुतै चन्दन सरि
भुली माटोलाई छिनभर कहाँ बस्छु कसरी?
रमाएँ पोल्टोमा यस मुलुकको जे जति गरि
म मा माटोपुज्ने अभिमत भयो आज यसरी॥१

 

छिमेकीको कालो करतुत कुनै याद नगरी
गरे हाम्रा थानी लुटुपुटु उनैका वरि परि
सिमानामा हाम्रा कतिपय भए घाउ यसरी
सबै नेपालीको सुखद सपना पुग्छ कसरी?॥२

 

भयो धोका मात्रै हरसमयमा यो जगतमा
लुछातानी गर्छन् फगत नरको नै रगतमा
यहाँ हाकाहाकी धन र पदको लूट छ भनी
नजान्ने को होला बुझदछ भुरे बालक पनि॥३

 

सबै डाँडा पाखा विपुल सुनको भाल छ यहाँ
हिमाली गङ्गाको अतुल पयको छाल छ यहाँ
तराई बेसी त्यो अति उपजको खाल छ यहाँ
अझै आँसु यस्तो किन गरिबको ताल छ यहाँ?॥४

 

सबैको पूर्जामा घर जमिनको बास पनि होस्
खटी खानेलाई हरदिन मिठो गाँस पनि होस्
दुराचारी पापी कन पल पलै त्राश पनि होस्
सबैलाई ताजै यस मुलुकको आश पनि होस्॥५

 

भयो सामन्तीकै किन जगजगी शोषण यहाँ
सबैले पाएनन् किन विजयको पोषण यहाँ?
जितेकाले हारे मनुज बिच नै भो छल यहाँ
बनाए मान्छेका बिच अति ठुलो खाडल यहाँ॥६
Facebook Comments
neupane
Comments (0)
Add Comment