सम्बत् २०३५ साल घटस्थापनापछिको पांचौ दिन । पश्चिम फर्किएको कोटवाडाको पूर्वी पाटोलाई, अस्ताउंदो घामको किरणले रातो पार्दै थियो । हिउँ पर्ने छेक भएकोले छेउछाउ बारीका गराहरुमा लगाएका अफिमका बोटका मुन्टा र पातहरु देउडा नाचको हातखुट्टा चालमा झुमिरहेका थिए । गृहस्थीहरु घांस, दाउरा, वस्तुभाउ चराउन काममा गएका थिए । म भने कोठामै बसेर खप्तड स्वामीको ‘बिचार विज्ञान’ पुस्तक पढ्दै झ्यालबाट देखिएको स्कूल पारीको पाताल (जंगल) छेउ बाख्रा धपाउँदै दाउराको भारी बोकेर आउदै गरेको आकृतिलाई ठम्याउने कोशिस गर्दै थिएँ ।
घटनाको विवरण सुन्दा र घाउको अवस्था हेर्दा त कुनै जान्ने सर्जनले मात्रै हात हाल्न तथा पार लाउन सक्ने देखिन्थ्यो । कमसेकम उचित ढङ्गले धोइपखाली गरी सिलाई गर्नुपर्ने गरी । मसंग न पर्याप्त ज्ञान थियो, न त सामग्री नै । अनकण्टार वस्तीका निरुपाय ती अबोध गाउँलेका अगाडि उनीहरुको कथित डागडर र देशी आखतीप्रतिको विश्वासले वास्तविकता बताउने नाममा म उहाँहरुलाई निराश बनाउने अवस्थामा थिइन ।
ढोकैछेउ कसैले ‘डागडर साब, डागडर साब’ भन्दै अलिक आँत्तिएर बोलाएको सुनें । उठेर ढोकाबाट बाहिर हेर्दा कछाड भोटो लगाएको एकजना अधबैंशे खाली खुट्ट्ै आएका देखें र ‘कसलाई खोज्नु भएको ?’ भनी सोधें ।
झारफुक, जडिबुटी तथा धामी–डाँग्रीको उपचार चलेको त्यो भेकमा राविसेसंग भएका प्राथमिक उपचार बाकस मार्फत तत्कालीन शाही औषधी लिमिटेडले उत्पादन गरेका सिटामोल, एस्पिरीन, पिप्रासाइट, भिटामिन सी जस्ता सामान्य औषधिले पनि एलियोपेथी उपचार विधी कहिल्यै प्रयोग नगरेका स्थानीयमा प्रभावकारी असर दिन्थ्यो । स्वास्थ्य चौकी पनि नभएको जिल्लाको त्यो भेगमा गाउँलेहरुलाई मसंग भएका र उहाँहरुलाई आवश्यक औषधी उपलव्ध गराएका कारण मलाई ‘डागडर साब’ भन्ने गरेको कुरा सुनेको थिएँ ।
मेरै ढोका अगाडि आएर एकजना अपरिचितले सोही विशेषणले सम्बोधन गरेर बोलाउनु अनि दैनिकीको हिसाबमा गृहस्थीहरु घर फर्किने समय हुदै मात्र गरेकोले मलाई नै खोजेको भनी अन्दाज लगाउन सकिन्थ्यो ।
‘कति कामले आउनुभएको थियो ?’ मैले औपचारिक हिसाबमा सोधें ।
‘बित्यास परीकन आको डागडरसाब । मेरा साथ जौं न, हिडीहाल्नुपर्छ । छोराकन अभर परिगयो ।’ उहाको आत्तिएको मनस्थितिले कुनै गम्भीर अवस्थाको अनुमान लगाउन सकिन्थ्यो ।
मेलाबाट धामीघरका बिष्टबाका परिवार आएपछि उहाँहरुले ती आगन्तुकसंग विवरण लिएर मलाई घटनाको सविस्तार व्याख्या गर्नुभयो।
पत्थरखानीमा बारुद पड्काएर पत्थर झिक्न जांदा माथिबाट झरेको पत्थरको फल्ली (ठूलो टुक्रा) ले लागेर खुट्टामा निकै चोट लागेको रहेछ ।
कडा चट्टानी भूभाग भएको कर्णाली प्रदेशमा घरको गारो लगाउन तथा छानो छाउन स्थानीय रुपमा उपलव्ध ढुङ्गा प्रयोग गरिन्छ । जडिबुटी र रसायन मिसाएर स्थानीय प्रविधिको प्रयोग मार्फत यहाँ बारुद बनाइन्थ्यो र भरुवा बन्दुक एवं चट्टान चिर्नमा प्रयोग गरिन्थ्यो। त्यसरी चिरिएको चट्टानलाई ठुलठुला फलामे खन्ती, झम्पल र गैंतीको मद्दतले बल प्रयोग गरेर पत्रैपत्र उक्काएर पत्थर, स्लेट आदि निकालिन्थ्यो ।
मलाई पुग्नुपर्ने दुरीको अन्दाज थिएन । ‘भोलि उहाँ मात्रै फकिर्नुहोला’ भनेकोले म झोलामा दाँतमाझ्ने सामान र रेडियो बोकेर आगन्तुकको पछि लागें । बाटाभरी हामीले घांस–दाउराका भारी बोकेर मेलाबाट घर फकिर्ने गाउँलेहरुलाई भेट्यौं । कुमालगाऊँबाट अगाडि बढेपछि, मेहलमुडी र रुप्सातागडा छुट्टिने बाटोको कान्ला मुनीतिर उन्ले मलाई डोर्याए । म उनलाई पछ्याउँदै गएँ ।
भुंई खारेर पाखो सम्म बनाएको एउटा गरामा अवस्थित घरमा उनी पसे । ढुंगाको सिढी हुँदै चोटामाथि उक्लिदा एकजना २०–२२ वर्षे युवा भुंइमा ओछ्याइएको ओछ्यानमाथि खुम्चिएको देब्रे घुंडोमाथि हात राखेर दाहिने खुट्टा् पसारेर बसिरहेका थिए । अस्ताउँदै गरेका घामको उज्यालोमा देखिएको उनको अनुहारमा असीम पीडा भोगिरहेको भाव झल्किरहेको थियो ।
सदा झैं त्यो दिनपनि ती घाइते युवा आफ्ना साथीसंग बारुद, झम्पल लगायत ढुंगा निकाल्ने सामग्री सहित पत्थर खानी गएका रहेछन् बिहानको खाना खाएर । स्थानीय प्रविधि मुताबिक सानो चिरा परेको ठाममा बारुद हालेर, बारुद पड्किसकेपछि फिजारिएको धाँजामा झम्पल, गैंती छिराएर बाहिरी बल प्रयोग गर्दै विभिन्न आकारका ढुंगे पत्र निकाल्दै रहेछन् । सोही क्रममा मास्तिरबाट ढुङ्गाको एउटा पत्र झरेर धारपट्टिबाट दाहिने खुट्टाको बुढीऔंला र चोर औंलाको काप बीचमा बज्रिन पुगेछ । तोडले बज्रिएको त्यो ढुंगाको पत्रले पैतालाको अग्र भागको झण्डै एक तिहाई चिरिएछ । साथीभाईहरुले जङ्गलमै उपलव्ध जडिबूटी लगाइदिएर झुम्रोले पैतालादेखि पन्जासम्म पट्टी बाँधेर हतेर्दै घर ल्याइपु¥याएछन् । घरमा भएका स्थानीय जडिबूटीको उपचारपछि दलानमा घाइते छोरो सुताएर छरछिमेकीेको सल्लाह मुताबिक मलाई बोलाउन घाइतेका बा जानुभएको रहेछ ।
घटनाको विवरण सुन्दा र घाउको अवस्था हेर्दा त कुनै जान्ने सर्जनले मात्रै हात हाल्न तथा पार लाउन सक्ने देखिन्थ्यो । कमसेकम उचित ढङ्गले धोइपखाली गरी सिलाई गर्नुपर्ने गरी । मसंग न पर्याप्त ज्ञान थियो, न त सामग्री नै । अनकण्टार वस्तीका निरुपाय ती अबोध गाउँलेका अगाडि उनीहरुको कथित डागडर र देशी आखतीप्रतिको विश्वासले वास्तविकता बताउने नाममा म उहाँहरुलाई निराश बनाउने अवस्थामा थिइन ।
असफल अभिनय गरेर म आफैंप्रति बेइमान पनि हुन सक्दिनथें । मानवीय संवेदनाको त्यो घडीमा उहाँहरुको दुखमा कमसेकम सकारात्मक प्रयत्न गर्ने एकमात्र उपाय मेरो विवेकले देख्यो । घटना घटेको करीब चार घण्टा भइसकेको थियो, म घाइते सामु पुग्दा । रगत बगेको थिएन । सुन्निएको ठाउँ करीब करीब बसिसकेको थियो । त्यत्रो डरलाग्दो चोट समेत आधुनिक रसायनरहित औषधी र सरसफाईको ख्याल नगरी प्रयोग गरिएको झुम्रोले बांधेर पनि विसेक भएको देख्ता म भने मनमनै ताजुब भएको थिएँ र जान्ने कौतुहुलले उतैको लवजमा ‘ओख्तो के लगाउनुभएको थियो त’ भनेर सोधें ।
फक्लक्क छुट्टिएको त्यो घाइते भागतिर देखांउदै ‘पाँचऔंले र कुट्कीको जरा पिसेर बनाएको लेप लगाएर माथिबाट झुम्रो बांध्या हुन डागडरसाब् ।’
स्थानीय जडिबूटीबाट गरिने उपचारको ज्ञान र त्यस्को प्रभावकारीताको बावजूद देशी ओखतीप्रतिको कृत्रिम छाप देखाउँथ्यो त्यो अबोधपना सहित मप्रति गरिएको सम्बोधनले ।
१०–१२ वर्ष अगाडिको घटना झट्ट सम्झना आयो । जन्मथलो धरान विजयपुरकै कुरा हो, गाउँले साथीभाइहरुसंग खेल्दा रुखबाट हाम फाल्दा मेरो आफ्नै दाहिने खुट्टाको बुढी औंला र चोर औंला बीच सीसा गढेर त्यस्तै तर अलिक सानो चोट लाग्दा भाइहरुले पंधेरा छेउबाट भृंगिराजको मुन्टा निचोरेर लगाइदिएपछि रगत बग्न बन्द भएको र जेठी आमाको पछ्यौरा च्यातेर बांधिदिएको घटना। जडीबूटी लगायत बनौषधीले गर्ने कामको स्मरण ताजा भयो।
मानवीय संवेदना र समय सापेक्ष विवेक प्रयोग गर्नु सिवाय मसंग अर्को विकल्प थिएन । ज्ञान र औषधीको पनि सिमितता थियो । घाइते विमारी र उनका बुबाको याचनायुक्त हेराइले भने मैले केही न केहीगर्नै पर्ने नैतिक दवाब थियो । पानी तताई मागें र कटौरामा खन्याए । झुम्रोमाथिबाट तातोपानीमा चोबेको गज र कपासले घाउमाथिको मैला सफा गरें । फ्युरासिन मल्हम थियो मेरो प्राथमिक उपचार बाकसमा । गजमा मल्हम लगाएर जोडिएको घाउमा लगाइदिएँ र खुट्टाको पन्जादेखि नै एउटा ब्याण्डेज लगाइदिएँ । मनले भने स्थानीय जडिबूटीले गर्ने काममा मेरो प्रयास पनि थपियोस् भन्ने कामना गर्देथिएँ ।
उहाँहरुले विश्वास गरेको उपचार कार्य सकिएपछि भात भान्साको सुरसार हुन लाग्यो । मलाई लिन कोटवाडा जानुभएको व्यक्ति अथवा घाइतेको बुवा भान्से हुन तयारी गर्न लाग्नुभयो । आंगमा लगाएको भोटो र कछाड फुकालेपछि उहाँको शरीरमा एकसरो मैलो लगौंटीमात्र बाकी रह्यो । आफुहरु बटाला थरको तागाधारी भएको, त्यसैले छोट्टी, बैकनी (आइमाई) ले चुलामा पकाएको भात भान्सा नचल्ने र स्थानीय चलन एवं पाहुना समेत तागाधारी भएको तथा धानकै भात खुवाउन जोहो गरेकोले चुला चढ्नु परेको कुरा उहाँले विस्तारमा व्याख्या गर्नुभयो ।
मझेरीको बीचमा राखिएको ओदानको तीनैतीरबाट दाउरा हालेर, ओदानमाथि कसौंडीमा उहाँ खाना पकाइरहनुभएको थियो । हत्तपत्त धानको भात खान नजुर्ने म भने हिंडाई र थकाई पश्चात् प्राप्त हुन लागेको खानाप्रति मनमनै लोभ्भिदैं थिएँ । मेरो ध्यान चुलो र भान्सेप्रति नै केन्द्रित थियो । त्यत्तिकैमा मेरा आँखा उनका हाततिर गए । दाहिने हातको बुढी औंला र चोर औंला जोडेर, मयलले कालो भइसकेको उनको आंगमा टांस्सिएको जनैलाई देब्रे काखी भागबाट तान्दै दाहिने कम्मरसम्म ल्याएपछि उन्ले आफ्ना दुइ औंलालाई बलिरहेको आगोमाथि लगेर खाली गरे । चटट्ट गरेर आवाज आयो एकछिन् । जनैका जुम्रा उनले अग्नीमा होम गरेका रहेछन् ।
त्यस्तो गम्भिर चोटको घाइते ओठमा निश्छल मुस्कान सहित मलाई बिदा गर्दैथिए । उच्च हिमाली भेगको जडीबुटीको प्रत्यक्ष असर देखेर मलाई परेर जानेको ज्ञान प्राप्त भएको थियो, शायद त्यो निश्छल मुस्कानले भने देशी ओखतीलाई धन्यवाद दिंदै थियो ।’ मलाई भने विश्वासमा अडेको त्यो अवोध जीवन आफैंमा अति पवित्र र सुन्दर लागिरहेको थियो ।
भात पाकेपछि कांसको थालमा मार्सी चामलको भात र सिमीको दाल पस्किए। पाहुना भएकोले पहिला मेरो भाग लाग्यो । चुलो छेउमै ओछ्याएको भेडाको रौंबाट बनेको ओछ्यान (लीउ) माथि बसेपछि थाल र पानीको अंखोरा मप्रति सारे भान्सेले । पेटको भोक, मार्सी चामलको भातले थपेको आकषर्ण र जनैका जुम्राको हवन मेरा दिमागमा पालैपालो घुम्दै थिए । जीत भोककै भयो। पस्किएको थालको भात मैले खाइ सिध्याएँ। बाँकी भात बाबुछोराले बाँडेर खाए। परीवारका बाँकी सदस्य छोट्टी, बैकनीले के खाए, म एकराते पाहुनालाई थाहा हुने कुरै भएन ।
खानपीन सकिएपछि ओदान हटाएर चुलोको तातो आउने गरी सोही स्थानमाथि मलाई ओछ्यान लगाइदिएको रहेछ । दियालोको उज्यालो धेरै बेर बाल्न मिल्दैनथ्यो । म सुत्ने तर्खरमा लागें । लेकाली भेगको लाग्दो हिंउद । चिसो बढ्न थालिसकेको थियो । अंगेनाले तताएको भुंइमाथि उनको ओछ्यानमा सुतेको मलाई मीठो निद्रा लाग्दैथियो । अंध्यारोमा नरम भुत्ला भएको केही मसंगै टांसिएर सुत्न आएको महसुस भयो । एकैछिनपछि मेरो टाउकोदेखि खुट्टासम्म केही सलबलाउदैं चिलाउन थाल्यो । तातो खोज्दै बिरालो छेउमा घुस्रिन आएको रहेछ र तातो भएपछि बिरालाको जीउको उपिया रगत खान मेरो जीउमा सर्दा रहेछन् ।
जसोतसो रात काटेँ । उज्यालो भएपछि पहिलो काम घाइतेलाई हेरें । अनुहारबाट पीडाभाव पुरै हराएको थियो, खुट्टा पनि सजिलो गरी पसारेर बसेका थिए ।
म कोटवाडा फकिर्ने सुरसार गर्न लागें । ती अबोध मनुवाका आँखामा एक प्रकारको कृतज्ञ भाव देखिन्थ्यो ।
‘एकैछिन पख्नु भए म गोठबाट गोरस लिइ आउने थिएँ’ बाबु चाँहिले भनें ।
बिहानको हिंडाइ सहज मानेर मैले हिड्ने कुरामा बाबुछोरा दुबैलाइ मनाएँ ।
त्यस्तो गम्भिर चोटको घाइते ओठमा निश्छल मुस्कान सहित मलाई बिदा गर्दैथिए । उच्च हिमाली भेगको जडीबुटीको प्रत्यक्ष असर देखेर मलाई परेर जानेको ज्ञान प्राप्त भएको थियो, शायद त्यो निश्छल मुस्कानले भने देशी ओखतीलाई धन्यवाद दिंदै थियो ।’ मलाई भने विश्वासमा अडेको त्यो अवोध जीवन आफैंमा अति पवित्र र सुन्दर लागिरहेको थियो ।