नेपाललाई निम्नमध्यम आयको विन्दुमा पुर्‌याउन १० वर्षसम्म वार्षिक २० खर्ब लगानी आवश्यकः वाग्ले

काठमाडौं। समृद्ध नेपाल निर्माणको लागि अहिलेको एक दशक सबै हिसाबले उपयुक्त भएकाले त्यसको सक्दो सदुपयोग गर्नुपर्ने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले बताएका छन्। मदन भण्डारी मेमोरियल कलेजले आज आयोजना गरेको वेविनार कार्यक्रममा बोल्दै अहिले नेपालमा २४ वर्ष उमेरमुनिका युवा जनसंख्या कूल जनसंख्याको करिब आधा रहेको र यही युवा पुस्तालाई सहभागी गराएर देशलाई समृद्धितर्फ लैजान सकिने वाग्लेले बताएका छन्।

मदन भण्डारी मेमोरियल कलेजले ‘सन् २०३० मा नेपालः कोभिड–१९ पछिको विकासको बाटो’ शीर्षकमा बेविनार आयोजना गरेको थियो।

नेपालले आगामी एक दशकभित्र पूरा गर्ने गरी मुख्यगरी तीन वटा लक्ष्य लिएको बताउँदै वाग्लेले भने, “नेपालले अल्पविकसित मुलुकको सूचीबाट माथि उक्लिने प्राविधिक योग्यता पूरा गरेको छ। सन् २०२१ मा नेपालले अल्पविकसित मुलुकबाट माथि उक्लिएको घोषणा गर्न सक्छ।”

त्यसबाहेक, सन् २०३० भित्र निम्न मध्यम आय भएको मुलुकहरूमध्ये सम्मानजनक स्थानमा पुग्ने र दीगो विकास लक्ष्यमा अधिकांश लक्ष्यहरू पूरा गर्ने योजना नेपालले तय गरेको छ। वार्षिक प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पु¥याउँदा मात्रै नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीको सम्मानजनक स्थानमा रहन सक्ने वाग्लेले बताए।

यी लक्ष्य पूरा गर्नको लागि आगामी एक दशकमा प्रत्येक वर्ष २० खर्ब रूपैयाँ नेपालले परिचालन गर्न सक्नुपर्ने वाग्लेको भनाइ छ। “सात प्रतिशतको आर्थिक वृद्धिदर आगामी १० वर्षसम्म निरन्तर हुँदा नेपाल निम्न मध्यम आयको सम्मानजनक विन्दुमा पुग्छौं। त्यसबेला नेपालको प्रतिव्यक्ति आए करीब तीन हजार अमेरिकी डलर बराबर पुगेको हुन्छ।”

विश्व बैंकले एक हजारदेखि चार हजार अमेरिकी डलर प्रतिव्यक्ति आय भएको मुलुकलाई निम्नमध्यम आय भएको मुलुकमा सूचिकृत गर्छ। गत आर्थिक वर्षमा नेपालको प्रतिव्यक्ति आय बढेर एक हजार चार डलर पुगेको छ। सोही आधारमा नेपाल अहिले निम्न मध्यम आय भएको मुलुकमा सूचीकृत भएको छ।

“नेपालमा अहिले युवा जनशक्तिको बाहुल्य छ। यस्तो अवसर हरेक मुलुकमा एक पटक आउँछ। अहिले समृद्ध भएका मुलुकले पनि यस्तो युवा शक्तिको परिचालन गरेर समृद्धि हासिल गरेका हुन्”, वेविनारमा वाग्लेले भने, “सन् २०२८ सम्ममा नेपालमा युवा जनशक्तिको बाहुल्य रहन्छ। त्यसपछि हामी बुढ्यौलो समाजतिर जान्छौँ। सन् २०५० पछि नेपाल पनि बुढो समाजतिर जान्छ। त्यसैले यो ३० वर्षमा विकासको गति जति दौडाउन सक्यो, नेपाल त्यति नै समृद्ध बन्दै जान्छ।”

अहिले नै नेपालको ६३ प्रतिशत जनसंख्या नगरपालिकामा बसोबास गर्न थालेको तथ्यांक प्रस्तुत गर्दै वाग्लेले भने, “नेपाल गाउँको देश हो भन्ने भाष्यमा नै परिवर्तन आउन थालेको छ। औद्योगिकरण नभईकन शहरीकरणतर्फ उन्मुख हुन थालिएको छ।” नेपालको समृद्धिको लागि जनसांख्यिक बनोट, कनेक्टिभिटी र संघीय प्रणाली प्रमुख सहयोग आधार रहेको उनले बताए।

अल्पविकसित मुलुककै सूचीमा भएको कारण अहिले नेपालले विदेशी दातृ निकायहरूबाट सस्तो व्याजमा प्रशस्त ऋण लिन सक्ने अवस्था भएकाले सस्तोव्याजका सकेसम्म धेरै ऋण परिचान गर्न सक्नुपर्नेमा जोड दिए। नेपालीहरूको प्रतिव्यक्ति आयमा सुधार आउने र देश पनि अल्पविकसित मुलुकबाट स्तरोन्नती हुँदा विदेशी निकायले पनि सस्तो ब्याजमा ऋण नदिने भएकाले अहिले नै त्यस्ता ऋण विकास गतिविधिमा परिचालन गर्नुपर्ने वाग्लेले बताएका छन्।

आगामी तीन दशकमा नेपाल समृद्ध मुलुक बन्न सक्ने आधार बन्दै गएको भएपनि ठूला प्राकृतिक प्रकोप, वातावरणीय परिर्वन र महामारीहरू समृद्धिको अवरोधक बन्न सक्ने उनले बताए। त्यसबाहेक, नेपालको दक्षिणतर्फ असाध्यै ठूलो जनसंख्या रहेकाले त्यसबाट हुने फाइदाको उपयोग गरी आर्थिक वृद्धिमा सहयोग पुग्ने योजना तय गर्नुपर्ने वाग्लेले बताएका छन्।

त्यसैगरी, बाढी नियन्त्रणका योजना सहित नेपालबाट दक्षिणतर्फ बग्ने पानीको सदुपयोग गर्न सक्दा पनि समृद्धि यात्रा छिटो र सजिलो हुने वाग्लेको भनाई छ।

Facebook Comments
mbm
Comments (0)
Add Comment