नशालु ती आँखा

कविता
नशादार आँखा, नशादार बोली
कलेजी जलाई रहन्छन् नपोली।
तिखा मर्मभेदी परेली रहेछन्
चलाई रहन्छ्यौ नबोली नबोली।
*
अँधेरी निशामा तिमी जून बन्छ्यौ
सधैं बाँसुरीको मिठो धून बन्छ्यौ
कसैले कसीमा चढाएर हेरे—
उजेली, पहेली सधैँ सून बन्छ्यौ।
*
तिमी स्वच्छ पानी भयौ जिन्दगीमा
बनी प्यास चर्को रह्यौ जिन्दगीमा।
तिमी कर्कलामा हुने शीत जस्ती
सधैं टल्पलाई रह्यौ जिन्दगीमा।
*
हुरी–हुन्डरीमा सतीसाल बन्नू
नदीमा उठेकी ठुलो छाल बन्नू
चुनौती परेमा कुनै दुर्दशामा
बनी ढाल चौडा महाकाल बन्नू।

 

(छन्द-भूजङ्गप्रयात )

Facebook Comments
Kaushik
Comments (0)
Add Comment