कोरोना र जेष्ठ नागरिक

कविता (छन्द: शार्दूल विक्रीडित)
कोरोना बीच जेष्ठ नागरिकको भारी सुरक्षा गरौँ
श्रद्धाभाव ठूलो लिएर दिलमा सद्भावनाले भरौँ
बस्दा आपस भीडभाड नगरौँ सर्वत्र चासो धरौँ
धोई हात सधैँ सुरक्षित बनी तौलेर देखा परौँ॥१

 

कोरोना यदि फैलिए कहरले यो रोग लागे भरे
प्राणै हर्छ बुढाबुढी र बिचरा बच्चाहरूको अरे
बस्दा रोग भिरेर गुप्त गृहमा बाधा बिछट्टै छ रे
ढल्दा जर्जरदेह सञ्चय गरी को दिन्छ टेवा हरे?॥२

 

कोरोना कहरै भयो दिनदिनै फैलेर आयो यहाँ
छाडी यो घरबार जङ्गजविषे भागेर जाने कहाँ?
को आफन्त, पराइ भन्न नहुने बेला भयो खासमा
राखी आपसमा दूरी पर परै बस्ने गरौँ जो जहाँ॥३

 

छोप्नैपर्दछ नाक औ मुख दुबै बाटोविषे निस्किँदा
धोका हुन्छ जुटेर धेर मनुवा छाडाबनी जिस्किँदा
रोगीको नजिकै हुँदा र रहदा खाँदा सँगै गाँसिदा
कोरोना खुद सर्छ एक अरुमा आडालिँदा टाँसिदा॥४

 

पारौँ शुद्ध समस्त वस्तु घरका राखौँ सफा सर्वदा
खाना पोषणयुक्त नै सकलले खाऔँ, खुवाऔँ सदा
जोगाऔँ सब जोगिओँ कहर यो खेदौँ, भगाऔँ यदा
बाँचे जीवन भोलि आर्जन खुदै होला ठूलो सम्पदा॥५
Facebook Comments
neupane
Comments (0)
Add Comment