आज भारतको छाँयाबाट मुक्त हुने प्रयासमा छिमेकी राष्ट्रहरु लागिपरेका छन् । नेपाल सातसालको क्रान्ति अघि भारतीयहरुको मालिकका रुपमा रहेका इष्टइन्डिया कम्पनीको छाँयामा नेपाल थियो भने सातसालदेखि आजको मितिसम्म पनि समय अनुसार घना छाँया र पातलो छाँया पर्दै आएको छ । छाँयाबाट मुक्त हुने कोसिसमा टंकप्रसाद आचार्यको सरकार, वि.पि. कोइरालाको २०१५ सालमा निर्वाचित सरकार, राजा महेन्द्रको चीन र भारत कार्ड को खेल, राजा वीरेन्द्रको शान्ति क्षेत्रको प्रस्ताव, गणेशमान, मदन भण्डारीको महाकाली सन्धीको विरोध, केपी ओलीको २०७४ सालमा भारतले गरेको नाकाबन्दीको प्रतिवाद र अहिले के.पी. ओलीको नेतृत्वमा कालापानी, लिम्पियाधुराको नक्सा प्रकरणलाई चोटिलो जवाफको रुपमा लिन सकिन्छ।
हुन त आज विश्वमै लोकतन्त्रको नाममा तानाशाहीपन बढ्दै गएको छ । मौजुदा शासन र उसको नीतिको आलोचनात्मक दृष्टिकोण राख्दा पनि खतरा महसुस भइरहेको छ । शक्ति सम्पन्न राष्ट्रहरुले आफ्नो राष्ट्रिय स्वार्थको आधारमा मानव अधिकारको व्याख्या भैरहेको छ । हामीले प्रजातन्त्र स्थापना, लोकतन्त्र स्थापना र गणतन्त्र स्थापनामा भारतको सहयोग लिए वापत पिडि दरपिडिले व्याज चुक्ता गर्नु परेको अवस्था छ।
भारतमा गान्धीलाई सराप्ने राजनीतिको समयमा नेपालको चीनसँगको पारवहन सन्धी, लिपुलेकको मामलालाई आफ्नो राष्ट्रिय अस्मितासँग जोडेपछि उपनिवेस हो भन्ने सम्झेका भारतका शासकहरुलाई चीडचिडाहट हुनु नौलो होइन । अमेरिका सँगको आजको भारतको निकटता नेहरुकालीन परराष्ट्र नीतिको फरक धारको रुपमा लिन उपयुक्त हुन्छ । अमेरिका एसियामा भारत र चीनको युद्धको कामना गरिरहेको छ जसबाट अमेरिकाको महाजनी व्यवस्था सुपर नै रहोस् भनी चाहनेहरु पनि उत्तिकै छन् । यिनै पृष्ठभूमी बिच नेपालप्रति हेर्ने दृष्टिकोणमा अंग्रेजद्वारा शासित र प्रशिक्षित भएका भारतीयहरुको दृष्टिकोणमा चाहे नेहरु सरकार, वल्लभ भाई पटेल या इन्दिरादेखि आजका मोदीसम्म र नोकरशाहहरुमा पनि सारमा नेपालले हामीले भनेको मान्नु पर्छ, भारतीय सुरक्षा रणनीति हिमालसम्म भएकाले त्यो सुरक्षाको जिम्मा भारतले पाउनु पर्छ, निर्वाध रुपमा नेपाली जलको आफूखुशी प्रयोग गर्न पाउनु पर्छ भन्ने नै छ।
छरिएर रहेको देशलाई मुसलमान र अंग्रेजहरुले एकीकरण गरे र पुनः अंगे्रजले दुई भागमा देश टुक्राएर गए । यसमा भारत, पाकिस्तान बन्नुमा चीनको र नेपालको कुनै भुमिका थिएन । टुक्राउने भुमिका थियो भने नेहरु, पटेल, जिन्ना, मौलाना आजाद लगायतको थियो । भारत टुक्रिएपछि भुटान, नेपाल जस्ता देश गाभेर सोधभर्ना गर्ने पटेलवाद अन्तराष्ट्रिय जगतको बलियो अडानका कारण सफल हुन सकेन । यस प्रति नेपाली देशभक्तहरुको पनि ठूलो योगदान छ । भारतकै सहयोगमा पाकिस्तानमा भाषिक आन्दोलनको रुपलाई मलजल र सैनिक सहयोग सहित वंगलादेशको जन्म भयो । स्वाधानिताको लडाई आ–आफ्नै होलान् । आ–आफ्नै तरिका होलान् । अल्पसंख्यक सीमान्तकृत वर्गहरुबाट अलग गर्दै धर्मविशेषको आडमा भारतले वर्तमान राजनीतिमा कब्जा जमाएको छ । वर्तमान भन्दा अतित मिठो होइन, दुवै नै तिता थिए नेपालको सन्दर्भमा । नेपाल सहित गाभेर वृहत्तर भारतको कल्पना गर्ने आर.ंएस.एस आज भारतको राजनीतिको सिंहासनमा छ । जो सुकै होउन सिंहासनमा सार्वभौम नेपाललाई चासो त हुदैन तर मिहिन अध्यनय गर्ने आवश्यक छ । भारतको स्वतन्त्रता संग्राम, गान्धी, नेहरु, जयप्रकाश, राम मनोहर लोहिया, इन्दिरा गान्धी लगायतका सम्बन्धमा आ–आफ्ना खालका अध्ययन नेपालको वौद्धिकले गरेकै होलान ।
लिपुलेकको सवाल ९२ स्थानको सिमा मिचाई, डुवानले क्षत विक्षित नेपाल, सुस्ता महेशपुर, सन् १९५० को सन्धीको सेरोफेरोमा भारतको सत्ताधारी दलको जानकारी लिदा र दिदा भावी रणनीति बनाउनका लागि आधार पत्र त होइन सामान्य ज्ञान चाँहि हुन सक्छ । उसको चिन्तन, उसको विकास क्रमलाई छोटकरीमा सामान्य ज्ञान भएको नाताले सामान्य नै परिचय दिने कोसिस गरेको हुँदा अन्यथा नहोला । कास्मिर मामला, पाकिस्तान भारतको तनाव भारत र पाकिस्तानले फ¥याउने हो । नेपालले प्राय अन्तराष्ट्रिय मञ्चमा भारतलाई साथ सहयोग र सद्भाव दिइरहेको छ । लिपुलेकको विवाद हुँदा हुदै पनि संयुक्तराष्ट्र संघको सुरक्षा परिषद्को अस्थायी सदस्यमा नेपालले भारतलाई हालसालै समर्थन गरेको छ ।
हुन त आज विश्वमै लोकतन्त्रको नाममा तानाशाहीपन बढ्दै गएको छ । मौजुदा शासन र उसको नीतिको आलोचनात्मक दृष्टिकोण राख्दा पनि खतरा महसुस भइरहेको छ । शक्ति सम्पन्न राष्ट्रहरुले आफ्नो राष्ट्रिय स्वार्थको आधारमा मानव अधिकारको व्याख्या भैरहेको छ । हामीले प्रजातन्त्र स्थापना, लोकतन्त्र स्थापना र गणतन्त्र स्थापनामा भारतको सहयोग लिए वापत पिडि दरपिडिले व्याज चुक्ता गर्नु परेको अवस्था छ ।
हालै नेपालको नक्सा सच्याउने प्रहलमा एकतावद्ध राष्ट्रवादको नमुना जुन नेपालको संसदमा देखियो त्यसले झन् भारतलाई आफ्नो स्वार्थमा असुरक्षाको भाव पैदा भएको प्रष्टता महाजनी भारतीय मिडिया र पूर्व जर्नेलहरुको भावभङ्गिमा र प्रस्तुतिबाट प्रष्ट भैसकेको छ। यिनै सन्दर्भमा भारतीय जनता अमेरिकी गोरा जति सम्पन्न छैनन् । गरिवी छ, विभेद छ, यिनै पृष्ठभूमीमा सायद भारतले समाजवादी अवधारणालाई संविधानमा समेटेको होला । वर्तमान भारतको भारतीय जनता पार्टी सन् १९५० मा स्थापित राष्ट्रिय स्वयं सेवकसंघको भाइ संगठन हो । त्यो पार्टीको समाजवादी चिन्तनप्रति कुनै साइनो छैन । उ मूलतः वनिया र महाजनहरुको हित गर्ने पार्टी हो भनेर त्यहँका वामपन्थी, बुद्धिजीवी र विपक्षीहरु तर्क गर्छन् । सन् १९२९ मा काँग्रेसको लाहौर सम्मेलनले पूर्ण स्वराजको प्रस्ताव पास ग¥यो र २६ जनवरी १९३० मा स्वतन्त्रता दिवसको कार्यक्रममा तिरंगा झण्डा जो भारतको झण्डा छ त्यो फहराउने निर्णय ग¥यो । त्यो झण्डा त्यसबेला अंग्रेज विरोधी आन्दोलनको प्रतिकको रुपमा रहेको थियो । सो झण्डालाई तत्कालीन राष्ट्रिय स्वयं सेवक संघका प्रमुख हेडगेवारले सो संघको शाखाहरुमा तिरंगा झण्डाको वदलामा हिन्दुत्वको प्रतिकको रुपमा रहेको भगवा झण्डा फहराउन आदेश दिए । भारत र पाकिस्तानको स्वतन्त्रता आन्दोलनमा हिन्दु र गैह्र हिन्दु सबैको सहभागिता थियो । नागपुरमा १४ जुलाई १९४६ मा संघका अर्का नेता गोलवलकरले भगवा झण्डालाई भगवानको रुपमा मान्दै सो नै फहराउनु पर्ने जिकिर गरे । राष्ट्रिय स्वयं सेवक संघले भारतीय स्वतन्त्रता आन्दोलनमा भाग लिएन । सन् १९४२ मा आन्दोलनको तिव्रतामा पनि संघका कार्यकर्ता निष्क्रिय रहे । राष्ट्रिय आन्दोलनमा भाग नलिए वापत त्यहाँका कम्युनिष्टहरु भारतभरी फैलिन नसकेको इतिहास पनि सबैका सामुनै छ ।
वीर सावरकरले विट्रिश सत्ताको खिलाफको विरुद्ध लडाई लड्नेभन्दा आन्तरिक दुस्मन मुसलमान र इसाईसंग लड्ने प्रण गरे । जोधपुरमा सम्पन्न हिन्दू महासंघको सम्मेलनमा गोलवलकरले जबसम्म देशको राजनीतिलाई हिन्दुकरण र हिन्दुलाई सैनिकीकरण गरिदैन तबसम्म भारतको पूर्ण स्वाधिनता प्राप्त हुँदैन भन्ने घोषणा गरे । यसैको राजनीतिक एजेण्डा भित्र जनसंघ हुँदै भारतीय जनतापार्टी गठन भयो । अयोध्याको राम मन्दिर नै प्रमुख मुद्दा हिन्दुवादी संगठन र भाजपाले लिदै तत्कालीन भाजपाका सुप्रिम नेता लालकृष्ण आडवानीको नेतृत्वमा वावरीमस्जीद भत्काउने कार्य भयो ।
त्यही स्कुलमा प्रशिक्षित त्यही विचारधाराको प्रवल कार्यकर्ता नै सन् २०१४ मा पूर्ण वहुमतका साथ गुजारत मोडेलका नरेन्द्र मोदी सत्तामा आए । यसको निरन्तरता २०१९ को चुनावमा पनि भयो । अन्ध राष्ट्रवाद, मुसलमान र अन्य धर्मावलम्वीहरुको विरोध, पाकिस्तानप्रति घृणा, दलित र आदिवासीको आरक्षणको विरोधीको विम्वको रुपमा विरोधी दलहरुले लिने गर्दछन् ।
भारतीय सैन्यकरणको नमुना हो नेपाली भूमी लिपुलेकप्रतिको भारतीय धारणा । यो धारणाको मलजलमा पूर्व सत्तामा रहेका राजनीतिक दलहरु पनि उत्तिकै जिम्मेवार छन् । तथापि भारतीय जनतापार्टी टुट र फुटको राजनीतिको माहिर खेलाडीको रुपमा भारतीय काँग्रेसआइ जस्तै खेलाडी हुन पुगेको छ । हुन त राजधर्मको पालनाका सन्दर्भमा मोदीका पूर्व नेता अटलविहारी वाजपेयीले गुजरात काण्डमा सम्झाउने प्रयत्न नगरेका होइनन् तर भारतीय जनता पार्टीको मूल विचार राष्ट्रिय स्वयंसेवक संघ नै भएकोले पहिले विचार त्यसपछि संविधान अनुसारको सत्ता भन्ने मानसिकता रहेको देखिन्छ ।
आज भारतको राष्ट्रिय स्वयंम सेवक संघको कार्यालय नागपुरमा तिरंगा झण्डा राजनीतिका लागि फहराईएको छ । धार्मिक राष्ट्रवादको विचारले ओतप्रोत भाजपाको सरकार ९०% भन्दा बढी ओमकार परिवार रहेको वैदिक सनातनी धर्मावलम्वीको आधारभूमी नेपालप्रति असहिष्णुता किन? यहाँका मुस्लिम, प्रकृतिपूजक, अन्य धर्मावलम्वीहरु धार्मिक सहिष्णुता भएको राष्ट्रको नागरिक हुनुको गौरव गर्छन् । एक अर्काप्रति गौरव गर्छन् । नेपाल न चीनको न भारतको सुरक्षा सवालमा खतरा बन्न चाहँदैन । कसैको सेनाको परेड नेपाली भूमि हुँदै अन्य राष्ट्रप्रति आक्रमण गर्न नदिने स्पष्ट नीतिमा रहेको छ । ९० प्रतिशत ओमकार परिवार मोदीको उदयमा खुशी नै थिए होलान् । तर संविधान बनाउने बेलामा भारतीय हस्तक्षेप, भारतको नाकावन्दीको कुराले इन्दिरा गान्धी, रजिव गान्धी र मोदी बिच कुनै फरक देखिएन । फ्रान्स र वेलायत दुवै क्रिश्चियन मुलुक थिए तर पनि वारम्वार युद्ध भए । मोदी भारतका हुन, उनले भारतीय हित गर्छन्, हामी नेपाली हौं, नेपाली हित गर्छौं ।
राष्ट्रिय स्वयंसेवक संघको भारतमा नेपाल समेत समेटिएको नक्सा नागपुरमा प्रकासित भएको धेरै वर्ष भएको छैन । त्यो मानसिकता मोदीमा छैन भनेर भन्न सकिदैन । भारतको हिन्दू सैन्यकरण भारतका लागि हो नेपाली हिन्दूहरुले यसमा गर्व गर्नु पर्ने कुनै कारण छैन । स्वतन्त्रता आन्दोलनमा भाग लिएका पनि नलिएका पनि जति पनि भारतीय राष्ट्रिय स्तरका दल छन् तिनले नेपालप्रति लिने यथार्थ दृष्टिकोणमा केही फरवदल हुने छैन ।
एमालेको पाँचौं राष्ट्रिय महाधिवेशन ताका सुरजित सिंहले मनमोहन अधिकारीलाई हेपेर वोलेको कुरा तत्कालीन मिडियामा खोजे अझ पनि पाइन्छ होला । मदन भण्डारीलाई ज्योति वसु गरेको व्यवहार पनि चर्चामै थियो । चीनको छायाँ पनि उत्तिकै घातक हुन्छ । नेपाली राजनीतिमा कोही काँग्रेस आई नजिक, कोई भारतीय कम्युनिष्ट पार्टी नजिक कोही भाजपा नजिक रहेर राजनीति गर्न दिन जबसम्म खतम हुँदैन तबसम्म भारतीय छाँयाबाट नेपाल मुक्त हुन सकिदैन । भारत छिमेकी राष्ट्र हो । भारतको चारधाम र पशुपतिको आखाबाट मात्र हेरेर पुग्दैन, रोटी वेटीको कुरोले पनि पुग्दैन । राष्ट्रिय दलहरु, बुद्धिजीवीहरुको परामर्शमा आजको राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय परिवेसको आधारमा सम्बन्धलाई पुनरावलोकन गर्दै नयाँ उच्चस्तरको सम्बन्धको विकास नै आजको आवश्यकता हो ।