पश्चाताप

कविता (छन्द-भूजड़्गप्रयात)
न मैले कुनै ठाउँ तिघ्रा कमाएँ
शिखण्डी र नन्दी-भिरड़्गी नचाएँ।
झिकी सूर बेग्लै नयाँ ताल पारी
प्रख्याती, कुख्याती मजैले कमाएँ।
*
न चेला चपेटा सुवानी बनाएँ
लुटी ल्याउ भन्दै भुटी खान लाएँ।
ठुलो दम्भले घुर्की लाएर खालि
बिना अर्थ व्यर्थै म साह्रो कराएँ।
*
न यो देश राम्रो, रसीलो बनाएँ
न ता चाल नौलो, थिती नै चलाएँ
सधैं भाँडभैलो, सधै गोलमाल
गरेको हुनाले म साह्रो गनाएँ।
*
न रोटी पकाएँ न खाजा बनाएँ
बिना काम सन्तान मात्रै रुवाएँ।
सधैं द्रोह-विद्रोह विध्वंश गर्दै
बनेको थियो जो विसर्जन् गराएँ।
Facebook Comments
Kaushik
Comments (0)
Add Comment