बूढाको इभिनिङ वाक

चट्याङ–प्रहार (व्यङ्ग्य विधा)

मात्तिएको युवा, पात्तिएको बूढो र आत्तिएकी बूढी जब देख्छ
मान्छेको त के हविगत, भगवान डराउँछ,  काल रमाउँछ 
चट्याङ–प्रहारमा उही  पात्तिएका बुढाको प्रसङ्ग आउँछ —

 

बुढाले मर्निङ वाक छोडेर इभिनिङ वाक गर्न थाले
जङ्गल, चऊर, शान्त ठाउँ छोडेर बजार घुम्न थाले
सल्लाह दिन बोलाएँ, ‘सुन्नुस् न ए बुढा बा यता ।
हिँड्नु त खाली चउर या जङ्गलतिर पो राम्रो हुृन्छ
बजारमा घुम्नुहुन्न, यहाँको हावा नै प्रदूषित हुन्छ ।’

 

लामो स्वास फेर्दै, हातको घडी हेर्दै बुढा बा भन्छन्—
‘तिमीले भनेको सही हो बाबु, अरु पनि त्यसै भन्छन्
तर पुत्ले सुन्दरी त लुगा पसलमै सजिएर उभिन्छन्—
भन, त्यस्ता प्लाष्टिकका सुन्दरी अन्त कहाँ पाइन्छन् ?’

 

‘जुम, एरियल, सोझो, छड्के जसरी हेरे पनि कसैले वास्ता गर्दैन
मन नअघाइन्जेलसम्म ट्वालट्वाल्ती स्वाद फेर्छु, केही फरक पर्दैन
कसैले किन हेरेको भनेर पनि सोध्दैन
हेरेर मसक्क मस्किए पनि फरक पर्दैन
हड्डीदेखि मुस्काउँदै पनि इज्जत झर्दैन
आँखै झिम्क्याउँ न, कसैले आँखा तर्दैन
भित्रै व्यस्त पसलेले बाहिर हेर्नै पदैन !’

 

बुढाबाले घुइरो–घुइरो पाराले छड्के पर्दै  थपे—
‘पसलेले देखिहालेछ भने लुगाको भाउ सोध्ने हो
जब ऊ भाउ बताउँछ, आफू कुलेलम ठोक्ने हो
अलि अगाडि अर्को पसलछेउ फेरि पुत्ले–सुन्दरी भेट्न पाइन्छ
समय पनि सजिलै बित्छ, आँखाको तिर्सना पनि मेट्न पाइन्छ
त्यसैले क्या बाबु, त्यो मर्निङ वाक–स्वाकमा चउर–जङ्गल गइन्न
बरु, घाम अस्ताउन नपाउँदै इभिनिङ वाकमा बजारै आइन्छ !’

Facebook Comments
Comments (0)
Add Comment