जीवन

कविता (छन्द: मन्दाक्रान्ता)

हेरी गैह्रा जल लहरमा फूल गाँस्छे पियार
माया लाई कन रहरले चुम्दछे बारबार।
नीलो पानी हर तरहले रंग फेर्दैछ ऐले
बासन्ती यो वन कुशुमले वास्ना छर्छे मजैले।

आओ मेरा प्रिय जनहरू सृष्टिको स्वागतार्थ
हेरौं भोगौं जनजिवनको सत्य तथ्यै यथार्थ।
कोईलीको मृदु बचनको स्वादिलो शान पारी।
चाखौं मीठो रस अधरको दिव्य माया उमारी।

एकार्कामा दु:ख र सुखमा गर्नु है देखभाल
साटी मीठो प्रणय रसिलो गर्नु है अंकमाल।
को हो को हो नभन मनले प्यारले वात मारी
दुख्ता, पोल्दा सरल मनले प्रीत लाउ मुसारी।

खोले फाँडो घिउ र हलुवा खीर पाकोस् तथापि
दिन्छन् आफ्ना पृय स्वजनले खानु है हात थापी।
ऐंचोपैचो भर-अभरमा लाउने गर्नु ज्यानी
मर्दा पर्दा दु:ख विपतमा हेरुँ झर्को नमानी।

Facebook Comments
Kaushik
Comments (0)
Add Comment