ज्येष्ठ नागरिकप्रति युवा पुस्ताको जिम्मेवारी

‘मातृदेवो भवः पितृदेवो भवः’ उपमाले ज्येष्ठ नागरिकलाई सम्बोधन गर्ने हाम्रो पुरानो परिपाटी रहेको छ । हामी ठूलालाई सम्मान र सानालाई माया गर्नु पर्छ भन्ने मान्यतासँगै समाजमा हुर्किंदै आएका छौं । जहाँ हाम्रो धर्म, परम्परा र व्यवहारले हामीलाई उनीहरूको सेवा गर्न र उनीहरूप्रति गर्नु पर्ने कर्तव्यको बोध गराएको छ । ज्येष्ठ नागरिक हाम्रा लागि बोझ होइनन्, उनीहरू त हाम्रो समाजका बहुमूल्य गहना हुन् भन्ने मान्यता रहेको छ ।

जब एउटा व्यक्ति जन्मन्छ, उसले बालक, युवा र प्रौढ जस्ता जीवनका चरणहरू पार गर्दै वृद्ध अवस्थामा प्रवेश गर्दछ र अन्ततः परलोक जानै पर्दछ, जुन प्रकृतिको नियम हो । हामीले यही प्राकृतिक नियमभित्र रहेर नै ज्येष्ठ नागरिकप्रति गरिने सम्मानजनक र उपयुक्त वातावरणको श्रृजना गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ । यसो भएता पनि वर्तमान आधुनिक समाजमा उनीहरूलाई झ्याउरी बुढी, सन्की थाङ्ने बुढा, गनगने, जस्ता तुच्छ शब्दहरूको प्रयोग भइरहेको पाइन्छ ।

ज्येष्ठ नागरिक भन्नाले ६० वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरूलाई बुझिन्छ । नेपालको सन्दर्भमा भन्नु पर्दा वि. सं. २०६८ को जनगणना अनुसार, नेपालको कुल जनसंख्याको ८ प्रतिशत ज्येष्ठ नागरिकहरू रहेका छन् । वि. सं. २०७८ सम्म आइपुग्दा सो संख्यामा वृद्धि भई लगभग १२ प्रतिशतभन्दा बढी हुने अनुमान गरिएको छ । पछिल्लो समयमा आइपुग्दा बाल मृत्युदर घटिरहेको र औसत आयुमा वृद्धि भइरहेको छ । यसबाट के बुझ्न सकिन्छ भने दिन–प्रतिदिन ज्येष्ठ नागरिकहरूको संख्यामा वृद्धि हुँदै गइरहेको छ ।

ज्येष्ठ नागरिकको हक, हितको संरक्षण गर्नु र उनीहरूमाथिको दुव्र्यवहारलाई हटाउँदै सभ्य समाजको निर्माण गर्नु भनेको हामी सबैले आफ्नो वृद्ध अवस्थालाई सुरक्षित राख्नु पनि हो । यसो हुन सक्ने हो भने पक्कै पनि समाजलाई शारीरिक वा मानसिक हिसाबले स्वस्थ राखी सन्तुलन कायम गराउन सकिने देखिन्छ ।

कुना कन्दरामा रहेका ज्येष्ठ नागरिकहरूको पीडा र सुगम शहरी क्षेत्रमा बस्नेहरूको आ–आफ्नै छुट्टै कथा र व्यथाहरू छन् । यस्तै साक्षर, निरक्षर, अपाङ्ग, गरिब र धनी सबैको समस्या बेग्लै छ । यसैबीचको केही मुख्य समस्याहरू भने उनीहरूको सीप र क्षमताको कदर गर्न नसक्नु, उचित अवसरबाट वञ्चित गर्नु र वृद्ध वृद्धाहरूमाथि अहिलेका बाल–बालिका र युवा पिंढीले गर्ने अपमान र दुव्र्यवहार पनि एक हो । यसरी सबै वर्गको पीडालाई समेट्दा उनीहरूको मुद्दालाई सम्बोधन गर्न कन्जुस्याइँ गरेको देखिन्छ ।

प्रत्येक व्यक्तिले आफ्नो सन्तानको पालन–पोषण, शिक्षा–दीक्षा र सामाजिक दायित्व पूरा गर्दै परिवार, समाज र राज्यका लागि विशेष योगदान पुर्याएका हुन्छन् । जब उनीहरू मानसिक र शारीरिक रूपमा असक्षम हुन्छन, त्यतिबेला उनीहरूमाथि आफ्नो सन्तानको माया ममता, स्याहार–सुसार र राज्यद्वारा उचित सेवा सुरक्षा वा सुविधा उपलब्ध गराउन नसकिएको देखिन्छ ।

ज्येष्ठ नागरिकहरूमा पनि अधिकांश दक्ष नागरिकहरू रहेका छन् तर बिडम्बना उनीहरूसँग भएको ज्ञान, सीप र क्षमतालाई समाज वा राज्यले उपयोग गर्न सकिरहेको छैन । वृद्ध–वृद्धालाई हेला वा दुव्र्यवहारको पात्रको रूपमा हेरिनु, निहत्था र निकम्मा सोचिनु र यिनीहरूसँग भएका सीपलाई प्रयोग गर्न नसक्नु हामी सबैको दुर्भाग्य बन्न पुगेको देखिन्छ । यस्तै, राज्यले पनि यस गम्भीर विषयमा कुनै ठोस नियम कानून नबनाइनु र दीर्घकालीन सोच लिन नसक्नुलाई पनि एउटा खड्किएको पक्षको रूपमा देखिन्छ ।

कतिपय ज्येष्ठ नागरिकहरू विभिन्न पदबाट अवकाश पाउँछन् । उनीहरूको क्षमता र सीप अनुसारको उचित स्थान प्रदान गर्न सक्ने हो भने यति लामो कार्यकालमा उनीहरूले भोग्दै आएका व्यवहार र आर्जन गरेका ज्ञान र सीपबाट समुदाय वा राष्ट्रले अझै धेरै फाइदा लिन सक्ने देखिन्छ ।

अहिले विकसित हुँदै गएका प्रवृत्तिहरू हाम्रो परम्परा र मूल्य मान्यता अनुरूप नहुनु पनि समाजमा ज्येष्ठ नागरिकहरू बाल–बालिका र युवा पुस्ताबाट बढी दुव्र्यवहारित हुनु परिरहेको एउटा कारण हुनसक्ने देखिन्छ । यस्तै अवस्था रहिरहने हो भने अवश्य पनि भोलि हामी आफूले आफैंलाई दुव्र्यवहारित हुन निमन्त्रणा गर्नु हो । आजका बालबालिका नै भोलिका भविष्य हुन् । त्यसैले हाम्रा भोलिका कर्णधारहरूको भविष्य कस्तो बनाउने भन्ने वारेमा हामीले आजै सोच्नुपर्ने देखिन्छ ।

ज्येष्ठ नागरिक हाम्रा अग्रज र जिउँदो इतिहास पनि हुन् । अहिलेको माहामारीको समयमा उनीहरूमाथि कोरोनाको बढी प्रभाव परिरहेका कुराहरू आइरहेका छन् । यस्तो परिस्थितिमा घर–परिवार र समुदायले उनीहरूको शारीरिक, मानसिक र संवेगात्मक पक्षको बारेमा विशेष ख्याल राख्नु जरुरी देखिन्छ । विश्व स्वास्थ्य संगठनले पनि यस्तो परिस्थितिमा उनीहरूको विशेष सुरक्षा गर्न आग्रह गरिरहेको छ ।
विभिन्न कारणबाट पारिवारिक रूपमा सँगै बस्न नपाएको हाम्रो पछिल््लो पुस्ताले उनीहरूमा रहेका विषयमा जानकारी प्राप्त गर्ने अवसर पाएका हुँदैनन् तर अहिले भएको लकडाउनको अवधिलाई उनीहरूमा भएको ज्ञान, सीप र अनुभवलाई आदान–प्रदान गर्ने सुअवसरको रूपमा प्रयोग गर्न पनि सकिन्छ ।

विगत ३ महिनादेखि हुँदैआएको लकडाउनको समयमा ज्येष्ठ नागरिकहरू अझ बढी दुव्र्यवहारित हुनु परेको देखिन्छ । परिवारका सबै सदस्य सँगै भएर पनि आफूहरूले भने एक्लो महसुस गर्नु परिरहेको गुनासो प्रशस्त सुनिन्छ । घरमा भएका बालबालिका र युवा पुस्ताहरू कम्प्युटर, मोबाइल र इन्टरनेटमा व्यस्त रहने, घरका अन्य सदस्यहरू आ–आफ्नो काममा व्यस्त रहनाले उनीहरूमाथि कसैले चासो नराखेको देखिन्छ ।

केही कुरा सोध्न खोजे झर्कोेफर्कोे गर्ने, कुनै कुरा भन्न वा अह्राउन खोजे ‘कति कचकच गरेको? चुप लागेर एकठाउँमा बस्नु नि वा डिस्टर्ब नगर्नु र तपाईहरूलाई केही थाहा छैन’ जस्ता शब्दहरू प्रयोग गर्नाले उनीहरूले आफूहरू अपमानित र दुव्र्यवहारित भएको महसुस गरेको देखिन्छ ।

घरमा आफ्ना बुवाआमाले अग्रजहरूलाई गर्ने व्यवहारबाट बालबालिकाहरूले पनि सोही अनुरूपको संस्कार सिकेका हुन्छन् । ज्येष्ठ नागरिकहरूप्रति गर्नुपर्ने असल व्यवहार, उनीहरूमाथिको दायित्व र कर्तव्य सम्बन्धी कुराहरू सिकाउने ज्येष्ठ नागरिकहरूसँग समय बिताउने, उनीहरूका कुरा सुन्ने आदि जस्ता क्रियाकलाप गर्ने हो भने उनीहरूले पनि त्यस्तै वातावरण सिक्नेछन् । त्यस्तै अपमान, अनादर, भेदभाव र दुव्र्यवहारको बीचमा हुर्केकाहरूले त्यस्तै सिकेका हुन्छन् । बालबालिका, युवा र ज्येष्ठ नागरिकहरूबीच सुमधुर सम्बन्ध बनाउने वातावरण हामीले नै तयार गर्न सक्नुपर्छ । ज्येष्ठ नागरिकहरूबाट बालबालिकाहरूले धर्म, परम्परा, नैतिकता र उनीहरूले भोगेका जीवनका महत्त्वपूर्ण पक्षहरूका बारेमा ज्ञान प्राप्त गर्दछन् भने आफ्ना विचार, भावना र सिकाइहरू प्रदान गर्न पाउँदा ज्येष्ठ नागरिकहरूले पनि आत्मसन्तुष्टि पाउनुको साथै आफूलाई एक्लो महसुस नगर्ने हुनाले वातावरण सौहार्दपूर्ण बन्ने र मर्यादित जीवन जिउन समेत सहयोग पुग्दछ ।

यसैगरी परिवारका सदस्यहरूले बाल–बालिकालाई ज्येष्ठ नागरिकहरूसँग समय विताउन प्रेरित गर्ने, उनीहरूका हरेक काममा सहयोग गर्न लगाउने, जस्तैः उनीहरूलाई औषधी खान, नुहाउन, पूजा गर्न मद्दत गर्ने, उनीहरूसँगै बसेर रमाइलो गर्ने, टहलिने आदि काममा सहयोग पु¥याउने जस्ता क्रियाकलापमा बेलैदेखि लगाउने हो भने युवा अवस्थामा आइपुग्दासम्म उसले ज्येष्ठ नागरिकहरूलाई बोझको रूपमा होइन, आफ्नो पथप्रदर्शकको रूपमा स्वीकार गर्ने दिन नआउला भन्न सकिंदैन । आज हामीले उपयोग गरिरहेका हरेक चीजहरू हाम्रा अग्रजहरूका देन हुन् भनेर कदर गर्ने दिन पनि अवश्य आउनेछ भनेर आशा गर्न पनि सकिएला ।

यसका लागि राज्यले पनि ज्येष्ठ नागरिकहरूको हक, हित र उचित सरोकारको विषयमा उचित कानुनको निर्माण र कार्यान्वयन गर्नु जरुरी छ । उनीहरूको हक, हित सुरक्षित गर्न र मृत्युपर्यन्त सम्मान गर्न सक्ने खालको कानूनी व्यवस्था र कार्यान्वयनको पक्षमा समेत ढिलाइ गर्न नहुने देखिन्छ । ज्येष्ठ नागरिकको हक, हितको संरक्षण गर्नु र उनीहरूमाथिको दुव्र्यवहारलाई हटाउँदै सभ्य समाजको निर्माण गर्नु भनेको हामी सबैले आफ्नो वृद्ध अवस्थालाई सुरक्षित राख्नु पनि हो । यसो हुन सक्ने हो भने पक्कै पनि समाजलाई शारीरिक वा मानसिक हिसाबले स्वस्थ राखी सन्तुलन कायम गराउन सकिने देखिन्छ ।

Facebook Comments
Manju
Comments (0)
Add Comment