हाम्रो नेता अमर रहोस् !

चट्याङ–प्रहार (व्यङ्ग्य बिधा)

देशले रगत मागे दिन सब तैयार छन्

देशले मेहनत मागे विदेशमा फरार छन्

भ्रष्टाचार माग्दैन देश तर दिन सब तैयार छन्

जसले ठग्यो धेरै देशलाई तिनै यहाँ महान छन्

 

उद्योग खोल्दैन नेताले, न त हलो चलाउँछ

आफू काम गरौँ भन्छु, ऊ जुलुस जान बोलाउँछ

भाषण राम्रै, ठूलै गर्छ, ताली पिट्न लगाउँछ

हामी दुब्लाउँदै जान्छौँ, त्यो चाहिँ किन मोटाउँछ?

 

एउटा त्यस्तै नेता भयो स्वर्गे कर्यकर्तो रुँदै थियो

मैले भने— नरोऊ साथी  ईश्वर कृपा यही भयो !

उसले भन्यो— बुझेँ हजुर, तर थाम्नै गाह्रो भयो यो मन्

जम्मा एउटा मर्यो भर्खर्, हेर्नोस् त कति बाँकी छन् ?

 

ज्यूँदा धेरै नेता अझै देखेर रुन थाले जनताहरू

बल्लतल्ल त मर्यो एउटा, मलामी जाउँ खुरुखुरु

अर्को बोल्यो— म त जान्न, गएर पाउनु के छ र?

मैले भनेँ— यो नेता हो, ब्यूँतेर आउन के बेर ?!

 

मलामी जान सबै तयार नेतो ब्यूँतने डर सुनेपछि

अघिअघि बढ्यो मुर्दा, लाग्यौं ज्यूँदा पछिपछि

त्यहीँ पुगियो जहाँ  पुगिन्छ, नेताको पछि लागेपछि

अमर रहोस् भन्यौँ सबले, खरानी त्यो भएपछि  !

Facebook Comments
Comments (0)
Add Comment