जनकवि केशरी धर्मराज थापा । आज उहाँको ९६ औं जयन्ती ।
स्वरका धनी जनकवि केशरी धर्मराज थापा विक्रम संबत् १९८१ साउने संक्रान्तिका दिन सुवेदार हर्क बहादुर र माता मनमायाको जेष्ठ सुपुत्रका रुपमा कास्कीको बाटुलेचौरमा जन्मनु भएको थियो । ९१ वर्षको उमेरमा काठमाडौंको स्वयम्भू स्थित आफ्नै निवासमा २०७१ साल असोज २८ गते उहाँको निधन भयो ।
राणाकालदेखिनै गीत गाउन थाल्नु भएका थापाले २००७ सालको प्रजातन्त्रपछि ‘प्रजातन्त्रको काफल पाक्यो बरिलै’ र तेन्जिङ शेर्पाले २०१० साल जेठ १६ गते शुक्रवारका दिन इतिहासमै पहिलो पटक सगरमाथा विजयी आरोहण गरेपछि ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरी’ गीत गाएर प्रसिद्धि कमाउनु भएको थियो । कलिलै उमेरमा देशका पचहत्तरै जिल्ला हिडेरै घुम्नु भएका थापाले गाउँले भाषा र भाकाहरु बुझ्नु भएको थियो । गाउँ गाउँका भाषा शैलीमा जनताका आँसु, हाँसो, दुखः, सुखलाई गीतमा उतारेर गाउँलेको मनमनमा बस्न सफल हुनु भएको थियो । नेपाल भित्र मात्र नभई प्रवासी नेपाली धेरै भएका भारतका दार्जिलिङ, आसाम, सिकिम, देहरादुन आदि विभिन्न ठाउँमा पुगेर लोक गीतबाट नेपालीलाई व्युँझाउन समेत उहाँ सक्रिय हुनुभयो ।
प्रतिभाका धनी थापाले गीत गाउनु हुन्थ्यो, लेख्नु हुन्थ्यो र संगीत समेत गर्नु हुन्थ्यो । यसका साथै साहित्यिक क्षेत्रमा समेत ठूलो योगदान पु¥याउनु भएको थियो । उहाँलाई जनताले जनकवि भनेर उपाधि नै दिएका थिए । उहाँ जनकविका उपनामले प्रख्यात भइसक्नु भएको थियो । पछि २०१३ सालमा श्री ५ महेन्द्रबाट उहाँलाई जनताले दिएको जनकवि उपाधिमा केशरी थपेर ‘जनकवि केशरी’ उपाधि प्रदान भयो ।
जनपक्षीय कलाकार साहित्यकार जनकवि केशरी धर्मराज २०१६ सालमा नेपाल प्रगतिशील लेखक संघको सभापति समेत हुनुभयो । जनकवि केशरी धर्मराज थापाले डा. के. आई. सिंहको विद्रोहमा “क्रान्तिकारी हे वीर के.आई. सिंह कहाँ गयौ जेल तोडेर…” भन्ने आफ्नै रचनाको गीत गाउँदै हिड्दा केही समय जेल पनि बस्नु परेको थियो । एक सयभन्दा बढी गीत गाउनु भएका थापाका “धुरु धुरु नरोउ आमा”, हाम्रो तन्जिङ शेर्पाले”, “आज मादल बजेको किन”, हरियो डाँडामाथि हलो जोत्ने साथी” जस्ता जनजनका धुकधुकीमा सांगीतिक आवाज र चेतना गुञ्जाउन सफल सिर्जनाहरु छन् ।
समाज दैनिक पहिलोपटक २०११ साल भदौ २४ गते प्रकाशित हुँदा पत्रिकाले आफ्नो प्रथम सम्पादकीयमा लेखेको थियो– “कसैकसैले काठमाडौंलाई हल्लाको खाल्डो नाम राखेका छन् जो पच्चिसै आना साँचो जस्तो लाग्दछ । दिनदिनै याहाँ यस्ता हल्ला फैलिन्छन् जसमा रुमलिएर मानिसहरुले तहल्का मच्चाउँछन्” । नभन्दै एकदिन यस्तै एउटा अशुभ हल्ला जनकवि केशरीसंग गाँसिएर चल्यो ।
सम्बत् २०११ साल झण्डैझण्डै अन्त्यतिरको कुरा हो । जनकवि केशरीको मृत्यूको हल्ला कसले कसरी चलायो थाहा भएन तर उहाँलाई गाउँघरमा हिडडुल गर्न समेत गाह्रो भयो । उहाँलाई देख्दा मानिस डरले तर्सिन थाले । हैरान भएपछि उहाँले केही उपाए नलागेर पोखराबाट काठमाडौंसम्म मानिस पठाइ त्यसबेलाको एकमात्र दैनिक पत्रिका दैनिक समाजको सहारा लिनु परेको थियो। कस्तो विडम्वना ! उहाँले आफ्नै हस्ताक्षरमा लेखेर आफू जीवितै भएको खबर दैनिक समाजमा पठाउनु प¥यो । दैनिक समाजले त्यो समाचार छापेपछि आफू जीवितै रहेको प्रमाणित गर्न गाउँगाउँ लगेर पत्रिका बाढ्न उहाँ बाध्य हुनुभयो । उहाँको भनाइ ‘समाज दैनिक’मा २०१२ साल बैशाख १० गते यसरी प्रकाशित भएको थियो :
श्री धर्मराज थापा सकुशल
अनिष्ट–सूचक समाचार निराधार
पोखरा, ६ वैशाख । ढिलो गरी प्राप्त समाचारमा भनिएको छ कि जनकवि श्री धर्मराज थापाको बारेमा फैलिएको अनिष्ट–सूचक समाचार एकदम निराधार छ । श्री धर्मराज सकुशल पोखारामा हुनुहुन्छ र वहा पोखरामै आफ्नो एउटा निजी भवनको निर्माण गर्न लाग्नु भएको छ । केही दिन अघि धर्मराज थापाले मनाङ, भोट आदि पश्चिमी पहाडको दौरा गरेर पोखरा फर्कनु भयो र नयाँ वर्षको अवसरमा जनताको अनुरोधमा एउटा ठूलो सभामा आफ्ना लोकगीत पनि सुनाउनु भएको थियो ।
त्यस्तै अर्को अविश्मरणीय प्रसङ्ग २०१७ सालमा उत्तरी सीमासम्बन्धी चीनसंग नेपालको सीमा विवाद भएर समाज दैनिकले सिलसिलेवार रुपमा समाचार प्रकाशित गर्दै आएको थियो । समाचार शिर्षकहरु यस्ता थिए– नेपालमाथि चिनियाँ हमला । चिनियाँ फौजले नेपालको सीमा नाध्ने छैन । नेपालको सार्वभौमिकतामा घाउ लागेको छ । सीमा घटनाबारे चीन अति चिन्तित छ । चीन नेपाललाई क्षतिपूर्ति दिन तैयार ।
दैनिक समाजले कोरघाँटीमा आफ्नो विशेष प्रतिनिधिनै पठाएर २०१७ साल असार १३ गते विशेषाङ्क निकालेको देखेपछि जनकवि धर्मराज थापा स्वयं समाज दैनिकको अफिस रञ्जना गल्ली, काठमाडौंमा आएर नेपालको सीमाना ‘ध्यूटे खोला’ रहेको कुरा बताउँनु भएको थियो । यसले उहाँमा राष्ट्रप्रेम अगाध थियो भन्ने पुष्टि गर्छ ।
उहाँले भन्नुभएको कुरामा आधारित दैनिक समाजमा प्रकाशित समाचार यस्तो थियो–
वि.सं. २०१३ सालमा श्री ५ महाराजा धिराज महेन्द्रको शुभराज्य भिसेकको शुभ अवसरमा म पनि सेनाका सीमान्त निरीक्षक दलको साथमा सहभागी थिएँ । जनरल श्री पदम बहादुरको नेतृत्वमा उत्तरी सीमातर्फ गएका हामीले ध्यूटे खोलावारि किनारमा आफ्नो सीमाना भएको हुनाले त्यसै किनारामा खोलाका ढुङ्गाहरु जम्मा पारेको थुप्रोमा आफ्नो राष्ट्रिय गौरवको झण्डा गाडी फर्केका हौं । श्री थापाले आज कोर घाँटी नै विवादग्रस्त क्षेत्र हुन आएको सुन्दा जिब्रो काट्नु हुँदै त्यसभन्दा धेरै उत्तर ध्यूटे खोलोसम्म नेपालको सीमा भन्ने थाहा पाएको र आफूले त्यसैलाई सीमा बनाई आएका हौं भन्नुभएको थियो ।
यो समाचार दैनिक समाजले २०१७ साल साउन १७ गते शुक्रवार ‘ध्यू खोलाको किनारसम्म नेपालको सीमा हो’ भन्ने शिर्षकमा प्रकाशित गरेको थियो ।
रञ्जना गल्लीमा दैनिक समाजको नेशनल प्रिन्टिङ प्रेस हुँदा उहाँ समाजका प्रधान सम्पादक तथा मेरा बुवा मणिराज उपाध्यायलाई भेट्न बाक्लै आउनेजाने गर्नुहुन्थ्यो भन्ने सुने पनि मैले त्यहाँ उहाँलाई भेट्न पाएको थिइन । म विद्यालय पढ्दा उहाँको “हरियो डाँडा माथि” गीत खुब मन पर्दथ्यो । त्यसबेला त्यो गीत धेरै चर्चित थियो । २०२५ सालमा समाज दैनिको प्रेस आफ्नै घर डिल्लीबजारमा सारिसकेपछि मात्र पहिलो पटक मैले उहाँलाई भेट्ने अवसर प्राप्त गरेको थिएँ । भेटका अवसरमा आफूलाई मन पर्ने गीत ‘हरियो डाँडा माथि’ हो भन्दा उहाँले दुईचार हरफ गाएर सुनाउनु हुँदा मलाई अचाक्ली गर्व महशुस भएको थियो । मैले सुनेको त थिएँ उहाँ युवाहरुसंग युवाकै रुपमा र परिपक्क व्यक्तिसंग सोही अनुरुप प्रस्तुत हुन सक्नुहुन्छ भन्ने । त्यो आफैंले महशुस गरेँ ।
आज मनमा बिझेको कुरा नभनौं भन्दाभन्दै पनि मनलाई रोक्न सकिरहेको छैन । यहाँ कवि, साहित्यकार, कलाकार, पत्रकारको कुरा गर्दा कुनै इज्जत छ भने त्यो क्षणिक समयका लागि मात्र छ जस्तो लाग्छ । वर्षमा एक पटक जयन्ती मनाइ दियो, पाखा लगाई दियो यस्तै झारा टार्ने परम्परा देख्छु । जस्तासुकै भए पनि यहाँ त नेता बनेकैलाई महान मानिन्छ । उनीहरुका सामुन्नेमा साहित्यकार, गीतकार, कवि कलाकारहरुको कुनै सम्मान नै छैन भने हुन्छ । यसैले जनकवि केशरी धर्मराज थापाको विषयमा बोलेर लेखेरभन्दा पनि उहाँका कृतिहरु बँचाएर राख्न सके सच्चा श्रद्धाञ्जली हुने थियो । जनकवि केशरी धर्मराज थापामा हार्दिक श्रद्धा सुमन ।