भानु छचल्किँदा

कविता विशेष (सन्दर्भ: २०७ औँ भानु जयन्ती)

गाग्रीकाे पानी छचल्किँदा

वरिपरिको भुईँ भिजाउँछ

बलेसीको पानी झर्दा

तप्केनीले रुझाउँछ 

टुकीको प्रकाश पर्दा

वरिपरिको अन्धकार हराउँछ ।

 

भानु, तिमी त यसरी छचल्कियौ—

तिम्रा पानीका छिटा 

महादेश कटे

सात समुद्र कटे । 

गाग्री छचल्किएको पानीले

र, बलेसीको तप्केनीले 

भिजाएको भुइँ

समयसँगै सुकेर जान्छ

तर रम्घादेखिको तिम्रो छचल्क्याइ त

समय क्रमसँगै झन् पर झन् पर

झन् बढी, झन बढी पो भिजाउँदै गयो 

झन् बढी, झन बढी फैलिँदै–फैलिँदै गयो 

सुवास छर्दै छर्दै गयाे

समुद्रपारिपारिसम्म पुग्यो

जसरी रामको नाम लिएर 

वीर हनुमानले समुद्र तरेथे ।

वीर हनुमान जस्तै

तिमी पनि रामभक्त भयौ 

अझ एक कदम अगाडि बढेर

तिमी त नेपाली भक्त पो भयौ ।

 

भानु, तिमीभन्दा पहिले पनि त

टुकीहरू बलेकै थिए

प्रकाश छरेकै थिए

तर टुकीको प्रकाशले 

केवल छेउछाउको अन्धकार हटाएको थियो ।

 

तर भानु,

तिमी त घाम पो बन्यौ

जो माथिबाट लाग्दा 

संसारै उज्यालो बनाउँछ ।

 

भानु, तिमी त्यस्तो छचल्किएको पानी हौ

जसका छिटाले समुद्र र सीमाका बारहरू भत्कायो

तिमी आकाशमा लाग्ने त्यस्तो घाम हौ

जसले नेपाली भाषाका किरण

धर्तीभरि फिँजायो ।

 

कहिलेकहीँ त सूर्यमा पनि 

ग्रहण लाग्छ नि भानु !

तर सूर्य त सूर्य नै हुन्छ—

प्रकाश छरी नै रहन्छ

न्यानो दिई नै रहन्छ ।

 

रम्घादेखि छचल्किएको

त्यो पानीको छिटालाई सलाम

आकाशबाट किरण छरिरहने

त्यो भानु (घाम) लाई सलाम !

रामका भक्तलाई सलाम

नेपालीका भक्तलाई सलाम !

Facebook Comments
Luitel
Comments (0)
Add Comment