सन्यासी झैं

कविता (छन्द: शार्दूलविक्रीडित)
सन्यासी झैं हिमशिखरका काखमा खेल्न पायौं
डल्ला पारी हिउॅ रसभरी लड्डु पेडा चढायौं।
हुस्सू हाली सिरक डसना वादलुका बनायौ।
बिर्सी सारा कलुष मनका शैलमाथि रमायौं ।
 
 
वेला हेरीकन समयले फूलमा हाल्छ लाली
चढ्दो बढ्दो वनकुशुमले हेर्छ मुन्टो उचाली।
मौरी आई रस अधरमा यत्नले टिप्छ मीठो
छोई छामी तन वदनमा चल्छ चिसो सिरेटो।
कल्ले पोख्यो हरितवनका पातमा रंग रातो
को मान्छेले यस तरहको सिल्प भेट्यो समात्यो।
डाँडा पाखा वनफूल फुले वासनामा रमाए
कुन् जादूले शरद ऋतुको वैंस बोकेर आए।।

 

यस्तो शोभा कुन पुरुषले भूइँमा पोख्न ल्यायो
वेला हेरी शुभ समयमा लालिमा मुस्कुरायो।
खोली वाहाॅ शरद ऋतुले हाल्छ क्यारे अंगालो
सुस्केराले गिरीचरणमा चुम्छ खोलो भँगालो।
Facebook Comments
Kaushik
Comments (0)
Add Comment