धेरै पहिले चीनमा एक उच्च पदस्थ सैनिकलाई अदालतले मृत्युदण्डको घोषणा गर्यो ।
एकातिर त्यो सैनिक त्यहाँका सम्राटको दाहिने हात जत्तिकै थियो । तर अर्कातिर वस्तुपरिस्थिति, दसीप्रमाण र साक्षीहरुको बयानका आधारमा अदालतले गरेको निर्णयलाई सम्राट लगायत सबैले मान्नै पर्ने बाध्यता पनि थियो । सम्राटको अति बिश्वास पात्र हुँदाहुँदै पनि उसले फाँसी चढ्नुपर्ने दिन तय भइसकेको थियो ।
अनि उसले सारा गुत्थी सुल्झाउँदै भन्यो, ‘तिमीलाई थाहै छ, म निर्दोष थिएँ । तर सारा राज्य मेरा बिरुद्ध खनिएको थियो । मैले दुश्मनलाई भगाएको नभएर ऊ आफैँ मलाई परास्त गरेर भागेको थियो । तर युद्धको आगोमा झोँकिएकाहरुले उल्टै मलाई पो देशद्रोही भएको आरोप लगाए। कुनै उपाय थिएन । अनि अघि दिउँसो सम्राटको नयाँ घोडा देखेपछि तत्काल मलाई केही जुक्ति फुर्यो। भित्रैदेखि लाग्यो, यो घोडाले मलाई बचाउन सक्छ। अनि मैले सम्राटलाई एउटा कथा भन्न थालें। वायुपंखी घोडाको कथा। हुन त यो एक साधारण घोडा हो। तर यसको बारेमा मैले असाधारण पाराले सम्राटलाई बयान गरें। अनि म सम्मानपूर्वक उनको घोडा चढेर घर आएँ। जसलाई उडाउने एक वर्षको भाखा मलाई प्राप्त छ।’
राज्यमा एक किसिमको हलचल पनि मच्चिएको थियो । किनभने त्यो एक बहादुर र बफादार सैनिक थियो । नागरिकहरुले ठाने कि उसलाई नराम्रोसँग फँसाइयो । नत्र सम्राटको दाहिने हात जस्तो त्यो सैनिकले किन आफ्नो बचाउ गर्न सकेन भनेर ठाउँठाउँमा मान्छेहरु पक्ष र विपक्ष खडा गरेर बहस पनि गरिरहेका थिए । अथवा, अर्काथरी सवाल उठाउँथे, बिश्वासी सैनिक हुँदाहुँदै उसको बयानलाई केका आधारमा झुठ्ठा ठहर्याइयो त ?
तर त्यस्ता सबालहरु केवल जनताका खासखुस हुन्थे । त्यसै पनि राज्यमा बिद्रोहको आगो सल्किएको थियो । झोँसपोल हुँदा बिश्वासी सैनिक मात्रै नभएर जो पनि मृत्युदण्डको भागीदार बन्न सक्थ्यो ।
सैनिकलाई मृत्युदण्ड दिइनुभन्दा एक दिन अगाडि,
कसैले भर्खरै उपहारमा दिएको एउटा नयाँ घोडा चढेर सम्राट त्यो सैनिकलाई भेट्न कारागार पुग्यो । मृत्युदण्ड सजाय पाएकाहरुको प्राण छिनिनुभन्दा चौबिस घण्टा अगाडि सम्राटले अन्तिम इच्छा सोध्ने र जायज भए त्यसलाई पूरा गरिदिने चलन थियो ।
‘मलाई माफ गर, संविधान र कानूनले म पनि बाँधिएको छु। तर म हमेशा तिम्रो बहादुरी र वफादारीको सम्मान गर्छु। भन, तिम्रा अन्तिम इच्छाहरु म तिनलाई पूरा गरिदिने छु।’ सम्राटले सैनिकका आँखामा नियालेर हेर्दै करुणावान आवाजमा भन्यो।
सैनिक केही बोलेन । ऊ लगातार सम्राटभन्दा पछाडिको दृश्यमा चट्टान झैँ स्थिर थियो । उसका शुष्क आँखाहरु एकोहोरो त्यहाँ अनौठो दृष्टिपात गरिरहेका थिए। सम्राट धैर्यसाथ सैनिकको जवाफ कुरिरहेको थियो।
अचानक !
पिलपिल पिलपिल गरेर सैनिक रुन पो थाल्यो । सम्राट पछाडिको मैदानमा किलो ठोकेर बाँधिएको एउटा सेतो घोडालाई नियालेर हेर्दै ऊ अकस्मात रुन थालेको थियो । उसका आँखाबाट आँशुका बलिन्द्र धारा बग्न थाले । ऊ डाँको छोडेरै रोयो ।
‘तिमी जस्तो बहादुर सैनिक पनि रोइरहेको देखेर म आश्चर्यमा परेको छु,’ सैनिकको त्यस्तो हालत देखेर सम्राटले भावविभोर हुँदै भन्यो, ‘तिमी त मर्न कहिल्यै डराएनौ। मैले देखेको छु युद्धका मैदानमा तिमी कसरी पेश आउँथ्यौ। हमेशा आफ्नो टाउकोलाई हत्केलामा बोकेर हिँड्ने ए वीर सैनिक, तिमी रुन छाड । यो रोदन तिमीलाई सुहाइरहेको छैन । तिमी कायर होइनौ।’
‘म आफ्ना लागि रोइरहेको छैन, महाराज !’ हिक्का रोकेर आँशु पुछ्दै सैनिकले सुस्तरी आवाज ओकल्यो।
सम्राटले तिल्मिलाउँदै सोध्यो, ‘त्यसो भए कसका लागि त ?’
‘त्यो घोडा । तपाईंले ल्याएको त्यो सेतो घोडा!’ सैनिकले उसैगरी सम्राट पछाडिको मैदानमा बाँधेको घोडामा चट्टानी नजर टिकाएर भन्यो, ‘म त्यो घोडाका लागि रोइरहेको छु, महाराज !’
‘घोडाका लागि ?’ सम्राटले थप आश्चर्यको तेजिलो झट्का खायो ।
‘हो, घोडाकै लागि । तपाईंलाई थाहा छ, म कैयौँ वर्षदेखि एउटा खास र विशेष घोडाको तलासमा थिएँ । वायुपंखी घोडा ! यो त्यही जातको घोडा हो। यसलाई ठीकसँग तालिम दिने हो भने यो घोडा उड्न सक्छ। तर अब यो घोडा उडेको देख्ने मेरो भाग्य कहाँ ?’ सम्राटपछाडिको सेतो घोडामा वलिष्ठ नजर टिकाएर सैनिकले भन्यो र एकदुई पटक हिक्कहिक्क गर्यो।
अवाक नै रहेको सम्राटको शरीरभरी काँडाहरु उम्रिए। उड्ने घोडा ? अनि उसले पछाडि फर्केर एकफेर दाना खाइरहेको आफ्नो घोडालाई हेर्यो। उसलाई लाग्यो, घोडालाई तालिम दिनु जरुरी छ। किनभने यो एक अलौकिक घटना हुने छ । उड्ने घोडा ! दुनियाँभरका कुनै पनि सम्राटहरुसँग नभएको घोडा मसँग?!
यस्तो लाग्यो कि शक्तिका अलावा दुनियाँभरका महङ्गा, चित्ताकर्षक र चमत्कारिक कुराहरु केवल कुनै सम्राटलाई नै चाहिने गर्छन्। र, यस्तै लालसामा उनीहरु एकदिन सकिन्छन् पनि। वा धेरै सकिएका छन्।
‘कति समय लाग्छ ?’ सम्राटले घोडाबाट नजर घुमाएर सैनिकलाई सोध्यो।
‘कम्तिमा एक वर्ष !’ निकैबेरदेखि सास रोकेर लगातार सम्राटमाथि नजर स्थिर गरेको सैनिकले भन्यो।
‘मञ्जूर छ । तिम्रो मृत्युदण्ड एकवर्षलाई स्थगित ! म भिटो प्रयोग गरेर भए पनि तिम्रो मृत्युदण्ड रोक्छु।’ सम्राटले भन्यो र त्यहाँ अवस्थित सुरक्षाकर्मीहरुलाई केही आदेश दियो।
एकैछिनमा सम्राटले घोडा सैनिकको जिम्मा लगायो र दरवार फर्कियो। सैनिक घोडा चढेर आफ्नो घरतिर लाग्यो । कारागारका सारा सुरक्षाकर्मी र अन्य कैदीहरु ट्वाँ परे। अचानक यो उल्कापात कसरी? सम्राट बहुलाएका त छैनन् नि? त्यहाँका प्रायः सबैले यस्तै ठाने।
ढकढक !
उसले आफ्नो घरको ढोका ढक्ढक्यायो । श्रीमतीजीले ढोका खोलिन्। बालबच्चाहरु ह्वारारा निस्किए। आशा मारिसकेको अभिभावक त्यसरी घोडा चढेर घर आएकोमा उनीहरु आश्चर्यजनक मुद्रामा त्यहाँ खडा थिए।
‘तपाईं कसरी यहाँ? कि भागेर आउनु भयो? लौ न नि अब के हुने हो?’ रुँदारुँदा आँखा सुन्निएकी श्रीमतीजीले आफ्नो पुरानै भावमा शंका र सबालहरुले एकसाथ आक्रमण गरिन्।
‘हाहाहा …’ ऊ हाँस्यो।
दिल खोलेर हाँस्यो। उसको बेजोड हाँसोले झण्डैझण्डै घरको छानो नै उडाउला जस्तो भएपछि ऊ शान्त भयो। केटाकेटी र उनीहरुकी आमा आश्चर्य, भय र खुशी एकसाथ प्रकट गरिरहेका थिए।
अनि उसले सारा गुत्थी सुल्झाउँदै भन्यो, ‘तिमीलाई थाहै छ, म निर्दोष थिएँ। तर सारा राज्य मेरा बिरुद्ध खनिएको थियो। मैले दुश्मनलाई भगाएको नभएर ऊ आफैँ मलाई परास्त गरेर भागेको थियो। तर युद्धको आगोमा झोँकिएकाहरुले उल्टै मलाई पो देशद्रोही भएको आरोप लगाए । कुनै उपाय थिएन। अनि अघि दिउँसो सम्राटको नयाँ घोडा देखेपछि तत्काल मलाई केही जुक्ति फुर्यो। भित्रैदेखि लाग्यो, यो घोडाले मलाई बचाउन सक्छ। अनि मैले सम्राटलाई एउटा कथा भन्न थालें। वायुपंखी घोडाको कथा। हुन त यो एक साधारण घोडा हो । तर यसको बारेमा मैले असाधारण पाराले सम्राटलाई बयान गरें। अनि म सम्मानपूर्वक उनको घोडा चढेर घर आएँ। जसलाई उडाउने एक वर्षको भाखा मलाई प्राप्त छ।’
‘तर तपाईं घोडा उडाउन सक्नुहुन्न । फेरि एक वर्ष त फटाफट बितिहाल्छ। त्यसपछि के गर्ने?’ श्रीमतीजीले लगभग डाँको छोड्दै सोधिन्।
‘मर्नु त एक दिन छँदैछ । तर एक वर्ष भनेको निकै नै लामो समय हो खासगरी त्यस निर्दोष व्यक्तिका लागि जसको आयु केवल चौबिस घण्टा बाँकी रहेको थियो! बरु गन्थन छाड । खाजा बनाऊ। भोक लागेको छ।’ सैनिकले बडा आनन्दविभोर भएर भन्यो र झ्यालबाट एकपटक बाहिर बाँधिरहेको घोडालाई हेर्यो र मुस्कुरायो। घोडा मस्त उग्राइरहेको थियो।
सैनिकको मुखबाट एउटा आवाज सुस्तरी फुत्कियो, ‘धन्यवाद वायुपंखी घोडा, तिमीले मलाई नयाँ जीवन प्रदान गरेका छौ।’
भोलिपल्टै सैनिकले परिवारसहित आफ्नो ठेगाना बदल्यो। अनि ऊ अलिक निम्न पहिचान कायम गरेर नयाँ स्थानमा बस्न थाल्यो। श्रीमती र बालबच्चालाई उसले बाहिरफेर जथाभावी नहिँड्न र हिँडिहाल्नु परे चनाखो भएर हिँड्न सुझायो।
उसले भन्यो, ‘अब हाम्रो जीवन पहिले जस्तो सहज छैन। पाइलापाइलामा सचेत हुनु जरुरी छ।’
एक वर्ष बित्दा नबित्दै त्यहाँ सरकार विरोधी आन्दोलनहरु तिब्र भए। पहिल्यैदेखि राज्यमा छापामार युद्ध भइरहेको थियो। धेरै प्रयासपछि राज्यमा प्रजातन्त्र आयो। सम्राट फालिए। प्रधानसेनापति, प्रधानन्यायधीश र अन्य कैयौँ उच्चपदस्थ अधिकारीहरु परिवर्तन भए। त्यो सब सहन नसकेर हृदयाघातले सम्राटको निधन भयो । एक वर्ष पुग्दानपुग्दै धेरै थोक भइसकेको थियो।
अब सैनिक आफ्नो परिवार र त्यो घोडा लिएर टाढाको एउटा विरानो बस्तीतर्फ लाग्यो। तर बाटामा केही सुरक्षाकर्मीहरुले उसलाई छेके र नयाँ शासकले उसलाई दरवारमा डाकेको आदेश सुनाए।
सैनिक दरवार जान बाध्य भयो । उसको मनमा कैयौँ शङ्का र उपशङ्काहरु मडारिन थाले। स्वयंलाई सम्हालेर ऊ परिवार, झिटिगुन्टा र त्यो सेतो घोडासहित दरवारमा दाखिला भयो।
उसलाई देख्नासाथ नयाँ शासकले भन्यो, ‘तिमी त गुप्तवास नै पो बस्यौ त? सत्ता कब्जा भएदेखि नै यहाँ तिम्रो कत्रो खोजी भइरहेको छ। आज जब तिमी आफ्नो गुप्त ठेगानाबाट निस्कियौ, मेरा जासुसहरुले खबर दिइहाले। अनि अबेर नगरी तिमीलाई यहाँ झिकाएको।’
सैनिकलाई चिटचिट पसिना आए । पूर्वसम्राटसँग उसले घोडा उडाउन राखेको भाखाको समय लगभग आइसकेको थियो। कतै यिनीहरुले मलाई …?
तत्काल उसले छेउछाउका कसैले थाहा नपाउने गरी घड्याप्पै सास रोक्यो। केहीबेर रोकिराख्यो। र, आफ्नो इच्छाशक्तिलाई तीब्र पार्यो। अनि बिस्तारै सास छाड्यो।
उसको मौनतालाई पलभरमा पढ्ने प्रयास गर्दै नयाँ शासकले भन्यो, ‘तिमीलाई जुन मुद्दामा फसाईयो त्यो हामीसँग सम्बन्धित थियो। याद गर, त्यो रात तिमीले पक्राऊ गरेर पनि हामीलाई सुम्पिएको छापामार। त्यो देशद्रोही नभएर हाम्रो लडाकू थियो। त्यसलाई मार्नु पर्नेमा भाग्न दिएर राज्यलाई घात गरेको आरोप तिमीलाई लागेको थियो।’
सुनेर राहतको सास फेरेको सैनिकले भन्यो, ‘तर ऊ त मैले वशमा लिँदालिँदै भाग्न सफल भएको थियो। मैले उसलाई भगाएको थिईँन। ऊ त आफ्नै बलले मलाई परास्त गरेर भागेको थियो।’
नयाँ शासकले भन्यो, ‘म त्यही त कुरा गर्दैछु । तिमी जस्तो वफादार सैनिकलाई पनि दुश्मनसँग मिलेको आरोप लगाउने त्यो पुरानो सत्ता ढलेको राम्रै भयो । भो छाडिदेऊ पुराना कुरा। अब तिम्रा लागि खुशीको कुरा के हो भने, हामी तिमीलाई बढुवा गरेर पुनर्वहाली गर्न चाहन्छौँ। तिमी आजैबाट काममा आउन सक्छौ।’
सैनिकका आँखा रसाए । उसले खल्तीबाट रुमाल निकालेर आँशु पुछ्यो। अनि नयाँ शासकलाई एउटा जोडदार सलाम ठोकेर हँसिलो मुद्रामा बाहिरियो। बाहिर पुरै परिवार सशङ्कित र त्रस्त चेहरा लिएर उसलाई कुरिरहेको थियो । अविलम्ब उसले सबैलाई एकमुष्ठ अँगालोमा बाँध्यो र खुशीको खबर सुनायो।
यसप्रकार तत्काल फुरेको एउटा जुक्तिका कारण त्यो निर्दोष सैनिक मृत्युदण्डको सजायबाट आफूलाई जोगाएर जिन्दगीलाई पुनर्बहाली गर्न सफल भएको थियो।