विक्रम सम्बत् २०७७ साल, असारे संक्रान्तिको दिन, महामारीको बेला।
लगातार चौरासी दिनको बन्दाबन्दी पछि मेरा मीत्बालाई घर बस्दा–बस्दा दिक्क लाग्नु पनि स्वभाविकै हो। झन् यति लामो समयसम्म दिनदिनैको मुख हेराहेर पछि बेलुकी बुढाबुढीको ठ्याक्कठुक्क परेको रहेछ।
मितिनी आमाले उसै बेला मान्छे हुनु त “पारी गाउँको सिरान्घरे सम्धी जस्तो सज्जन र मेहनेती हुनु“ भनेर भन्न पनि भ्याए कि रहिछिन्। त्यसैले होला, मनमा कुरा खेलाएरै मित्बाको रात बित्यो। जब बिहान भयो, मीत्बाले पनि उनै सम्धीलाई सम्झे।
(बुढीमाउले भने जस्तै सिरान्घरे बुढा पनि असाध्यै भलो मान्छे हुन् । दयालु, भद्र, मेहनेती, मृदुभाषी, सज्जन, सप्पै। लोकैले मानेको मान्छे।)
***
ए बुढीमाउ, सुन त ! कति बस्नु घर मात्रै ? असारमा अलिकति पनि अल्छी गर्न हुन्न भन्थे, पुर्खाले। म यस्सो पारीसम्म पुगेर सम्धीज्युलाई भेटेर आउँछु।
***
मितिनी आमाले पनि आफ्नै पाराले उत्तर फर्काइन् ः
“भइहाल्छ नि! भात पनि उतै खानि होला! बरु गाइगोठ हिलो भा’छ, फर्कदा एक भारी स्याउला बटुलेर ल्याउनू। सोत्तर राख्न हुन्छ।”
***
“लौ, लौ, थाहा छ।”
सबेरै हातमा खुर्पा र काँधमा नाम्लो बोकेर मीत्बा घरबाट निस्के। दुई घण्टाको ओरालो हिँडेपछि खोलो आयो। खोलो तरेपछि फेरि अर्को उकालो। यस्तै त हो नि पहाडको बाटो। भोक र थकाइ दुबैले होला, मीत्बा जब जब प्रत्यक पाइला उक्लन्थे, खुइय गर्थे। आफ्ना छोरी ज्वाँइ विदेशतिर बस्ने भए पनि छोरीको घर जति नजिक आउँथ्यो उनको खुशी र साहस बढ्थ्यो।
***
सिरान्घरे बुढाले पनि एक्कासी यसरी खुर्पा र नाम्लो बोकेर सम्धीज्यु आफ्नो घर तिर उक्लदै गरेको टाढैबाट देखे।
उनी ठुलो स्वरमा आफ्नी बुढीसंग चर्किएः
“हैन यो घरमा के हुन लागेको भन्या? उ हेर त! भान्छा सान्छा भ्याएर पारीदेखि सम्धीज्यू आइसक्नु’भो। हाम्री बुढीमाउ भने जहिले पनि झुम्सी, जहिले पनि ढिलो ! लौ छिटो गर, म भान्छामा आइहालेँ।” र उनले थपेः
“दर्शन सम्धीज्यू! हजुर खाटमा आराम गर्दै गर्नुहोला। म भित्रबाट यस्सो चारगाँस टिपेर आउँछु।”
घरकी बुढीमाउको मनको सज्जन सम्धी सम्झँदै मीत्बाले मनमनै भने–
“अहो, भरे घर गएर बुढी माउलाई के भन्नु के नभन्नु?
भोगेको जिन्दगी सोचेको सपना भन्दा त धेरै नै फरक पो हुनेरहेछ।”