शिखण्डी

कविता (छन्द-शार्दूलविक्रीडित)

तिम्रा ताक परे तिवारी बनियौ, ऐले भयौ गौतम

यस्तो औसर छोपुवा बनिदियौ को गर्छ आलिंगन !

आफ्नै आङ कनाउँदै बल झिकी छारो उडायौ कति

हानी झम्पल बारबार घरको गाह्रो लडायौ कति।।१

 

शत्रूका मलबाट पोषित बनी आमा लछार्ने तिमी

डाकी दुश्मन दाइभाइ घरका ठेल्ने, पछार्ने तिमी।

भान्सामा किचलो झिकी कलहले मानो फुटायौ जब

अर्काको भतुवा, अचार चखुवा नाता टुटायौ अब।।२

 

पर्दाभित्र कुनै धनुर्धर थिए आफू शिखण्डी बन्यौ

अर्काकै सरले पितामह ढले, मैले गरेको भन्यौ।

मायामोह पराइको छ, घरको छानो उधार्ने तिमी

छाती चस्स बिझाउँदै हृदयमा बल्झेर दुख्ने तिमी।।३

 

बैह्रीको भर पाउँदातक थिए तिम्रा कुरा धारिला

सुन्थे मानिसले बढो गजबले ठानेर पत्यारिला।

तिम्रो कम्मर भाँचिएन र भन्यौ टेढो छ यो आँगन

दिल्लीको दिल सम्झँदै विरहमा पार्यौ अमीलो मन।।४

Facebook Comments
Kaushik
Comments (0)
Add Comment