पुरानो घाहा

 कविता (छन्द: मेघाविस्फुर्तिजा)

नलेखौँ मान्छेका अवगुण सबै लेख्नलाई छ गाह्रो

सबै आफ्नाआफ्नै गुटतिर पसे छेक्नलाई छ गाह्रो

भयो मान्छे योद्धा फगत मुखको कर्मको भो लबारो

 

पुगी मेची काली विगलित धरा टेक्नलाई छ गाह्रो॥१

नगर्दामा आफ्नो पवित धरणीमाथि श्रद्धा पियारो

भयो आफ्नै पाटो छुन कठिन हा व्योमको तुल्य तारो

खिचे वैरी आई झन मनपरी हाल्न थाले तगारो

उता एक्ली आमा धुरुधुरु रुँदा आँसुको झर्छ धारो॥२

 

बनेका छन् संस्था कतिपय यहाँ राष्ट्रकै हीतमा जो

गराऔँ मौकामै सबसित मिली न्यायको स्थापना हो

जमान यो नौलो सबतिर सबैको छ चिन्ता र चासो

लिई फिर्ता आफ्नो हक अघि बढौँ हुन्न केही गुनासो॥३

 

सबै डुङ्गा माटो पवित छ यहाँ देवता बास गर्ने

मिठो हावा पानी पवप्रकृतिको दिव्य सौन्दर्य छर्ने

छ है जादू यौटा सकल जनको आँतमा मात भर्ने

चुमी आभा उर्जा द्रवित मनले को छ लठ्ठै नपर्ने॥४

 

नजागे नेपाली यस मुलुकको हुन्न पक्कै भलाई

फलेका हाँगाका मधुरम फलै लान्छ कौवा छलाई

कहाँ होला सन्चो डर भर लिँदै रोग राखे लुकाई

पुरानो घाहा यो सइन हुन गो ओखती नै चुकाई॥५

Facebook Comments
neupane
Comments (0)
Add Comment