नेपालको भूतल

कविता (छन्द: शार्दूलविक्रीडित)

 रे रे धातक जा फिरेर अब हा! नेपालको भूतल

पेवापात नठान वीरहरुको मातृत्वको आँचल

हाम्रो साँध सधैँ अकण्टक छ है कालीनदी निर्मल

गिद्धे दृष्टि कडा सहिन्न सहजै लाइन्छ सारा बल॥१

 

पर्दा आपत बस्न आश्रय दियौँ पायौ बडा हर्षले

धेरै काल बसेर नै विजयको आभा लियौ शोखले

माटो यो छ पवित्र वीरहरुको ढोगी पुजी प्रेमले

छोडी गौरवसाथ फर्क दुनियाँ यै भन्छ निष्कर्षले॥२

 

उस्तै हुन्छ अखण्ड राष्ट्रहरुको स्वाधीनताको बल

गाडे नेत्र सहेर बस्छ कसले अन्यायको त्यो पल?

सारा विश्व समाज मञ्च मिसियो देख्यौ कहाँ एकल

पर्ला आपत भो घमण्ड नगरी फर्की हटाऊ दल॥३

 

मत्ता हुन्न कुनै हुँदैन बबुरो यै भन्छ हो न्यायले

मान्छे मानव बन्छ सत्य पथमा सद्भावनामा चले

अर्काको धनमा तथा जमिनमा दाबी गरे लोभले

गर्छन् दुर्दुर ग्राह दुस्मन भनी थुक्छन् सदा लोकले॥४

 

पुस्तौँदेखि प्रगाढ जेजति थियो सद्भावना आखिर

जोगाऔँ दृढ साथ सत्य पथमा पारेर खुट्टा स्थिर

साँचो मानवता पलाउन सके उठ्ने छ हाम्रो शिर

नाता उत्तम भाइ-भाइ बिचको झाँगिन्छ चारैतिर॥५

Facebook Comments
neupane
Comments (0)
Add Comment