सत्ता मोह

छन्द-शार्दुलविक्रीडित

सत्ता शासन फेरियो तर अझै आएन नौलो पन
वैले झैं छ सधैँ, भएन हरियो, पाएन यो सप्रन।
हेरी मौसम फेदमा जिवनको को हाल्छ पानी मल
अल्छी गर्नु छ, मिल्छ आज कसरी खोजेर ठूलो फल!

भोका पेट जुका पसे, लहसिए, ताने, चुसे शौरभ
पारे दुर्वल, निम्छरो, अधमरो गर्ला कसोरी वल।
बेचीए बलिया ठुला सहरका उद्योग धन्दा कल
हल्लेको छ हिमाल दान गरीए खोला नदीका जल।

कल्ले गर्दछ रंगरोगन यहाॅ बुट्टा भरेको र खै?
यस्को वृध्दि विकासमा रत भई को लाग्छ निर्लिप्त भै!
माया–मोह सुसार छैन तनमा, छाला परे चाउरी
पश्चाताप भयो नसोचि पहिले मारी दिँदा न्याउरी।

दुख्छन् अंग–प्रत्यंग चस्स मुटुमा, पस्छन् विदेशी छुरा
रोपिन्छन् किन कानमा जहरिला, तीता विषैला कुरा!
तिम्रो शासनमा सबै चिज दियौ, बाॅकी रह्यो के दिन?
सत्ता मोह विचित्रको छ, अरूले मिल्दैन रे ढिम्किन!

Facebook Comments
bannerKaushik
Comments (0)
Add Comment