‘ए डोल्मा ! आजको महत्वपूर्ण समाचार के छ भन भन !
के को समाचार ! ‘एउटा गर्छ कामैकाम, गति छाड्छ बाबुराम’ भने जस्तो । खुरुक्क भेडा हेर्न जाउन । के को समाचार !
कता बाबुरामको कुरा गर्छे ! लाक्पाले सुन्यो भने रिसाउँछ ।
लक्पा किन रिसाउँथ्यो । हिजो भन्दै थियो– हाम्रो नेता बाबुराम नेपालका सबैभन्दा विद्वान नेता भनेर । उहाँले भस्मासुर विषयमा सिद्धि प्राप्त गर्नु भा’छ रे !
ठिकै भने छ लाक्पाले ! बाबुरामजी जुन पार्टीमा गयो त्यो पार्टीको नामोनिशाना रहँदैन । अहिलेसम्मको इतिहास त्यस्तै छ । समाचार सुनान । बाबुरामको कुरो अब कस्ले सुन्छ ! ओलीको कुरा सुना ।
ओलीलाई जसरी पनि हटाउनु पर्छ भनेर उनकै पार्टीका नेताहरु बेतोड राष्ट्रवादी बनेर लागेका छन् । यी यो समाचारमा चैं । राष्ट्रवादी तीन करोड जनताका ढुकढुकी युवा नेता ज्ञानबहादुर शाहको नेतृत्वमा रावल, केसी, लामिछाने, कर्ण, मिश्र लगायतको टोली खुकुरी बोकेर लिम्पियाधुरा जाने तयारीमा भनेर लेखेको छ ।
एकैछिन पर्खि त डोल्मा ! त्यहाँ गगन, बाबुराम, राजेन्द्र महतो, भरत दाहाल जस्ता महान राष्ट्रवादीहर्को नाम छ कि छैन ?
उनार्को छैन ! बरु प्रखर राष्ट्रवादी भन्दै अरुहरुको नाम छ ।
खुकुरी बोकेर भारतीय सैनिक क्याम्प मै पस्ने रा’न कि काठमाडौंको माइतीघर मण्डलामा रक्सी धोकेर उफ्रिने रा’न । अलि राम्रो हेर्त !
‘उ…! लाक्पा आइपुग्यो । उसैलाई सोध’ भन्दै डोल्मा छाप्रो भित्र पसी । म र लाक्पा बसेर कुरा गर्न थाल्यौं ।
ओऊ लाक्पा ! लु भन हौ काठमाडौंमा राजनीति केके हुँदैछ । नेकपाको खबर के छ ? अनि कोरोना र लिम्पियाधुरा लगायतका विषयमा ‘स्टोटेजी’ के बनाए छन् ? खासमा नेपाल भारत किचलोको इतिहास कहिलेदेखि सुरु भयो ?
ल काका ! मैले जानेको चै भन्छु ग्रीष्मबहादुर देवकोटाबाट लिखित ‘नेपालको छापाखाना र पत्र–पत्रिकाको इतिहास’ भन्ने पुस्तकमा मणिराज उपाध्यायको सम्पादकत्वमा प्रकाशित समाज भन्ने नाम गरेको पत्रिकाको २०१४ साल कार्तिक २ गतेको अंकमा भारतको थिचोमिचोका बारेमा लेखिएको छ । ‘पत्रकारिताका सतिसाल’ मणिराज उपाध्याय स्मृतिग्रन्थको पेज नं. १६३ मा पनि वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठले १४ सालमा प्रकाशित समाज पत्रिकामा छापिएका समाचार र संपादकीय समावेश गर्नु भएको छ ।
हो है लाक्पा ! कोशी र गण्डक सम्झौता पछि भारतले नेपाल माथि हस्तक्षेप सुरु ग¥यो ।
हो, ठिक भन्यौ काका ! २०१४ सालको कार्तिक २ गतेको एउटा समाचारको शीर्षक नै ‘नेपालमाथि भारतको अर्को मार– नेपाल र नेपालीत्व नै खतरामा’ र सम्पादकीयको शीर्षक ‘खतराको घण्टी’ लेखिएको छ । त्यो पढ्दा भारतले कहिलेदेखि नेपाल लुच्छ्न थालेको हो थाहा पाइन्छ ।
अनि त्यो पत्रिका कहाँ पाइन्छ । लौ त ठेगाना भन ।
पत्रिका त पाइँदैन नि काका अहिले त । ग्रीष्मबहादुर देवकोटोको ‘नेपालको छापाखाना र पत्र–पत्रिकाको इतिहास’ साथै ‘पत्रकारिताको सतिसाल’ मणिराज उपाध्याय स्मृतिग्रन्थ खोजेर पढ्नु पर्छ ।
हो त्यो किताबहरु त किनेर पढ्नु पर्ने र’छ । अनि हौ भतिज ! अहिले हाम्रो नेपालमा भरमार उम्रिएको राष्ट्रवादी भाइरसहर्ले यस्ता किताबहरु पढ्यो कि पढेन होला !
हे काका ! पढेर राष्ट्रबादी हुने होइन त ! माइतीघर मण्डलामा गएर आवेशमा आए जस्तो गर्दै, राष्ट्रको मायाले बर्रर्र आँशु झारे जस्तो देखिदै, च्याँठिएको स्वरमा प्रधानमन्त्री लगायतका नेतालाई तथानाम भन्दै १०÷२० जना मान्छेलाई मख्ख पारेपछि ठूलो राष्ट्रवादी कहलाइन्छ ।
अनि खुकुरी बोकेर लिपुलेकतिर जाने अरे त !
के भन्छौ हौ काका ! कताको लिपुलेक ? काठमाडौको भट्टीको लिपुलेक !
छोड्दे यस्ता राष्ट्रवादीका कुरा । बरु नेकपा भित्र चैं के हुदै छ नि !
भएको पनि केही थिएन, भई रहेको पनि केही छैन र हुनेवाला पनि केही छैन । कसको लागि के चैं भई दिनु पर्ने ? कसैले मन्त्री, कसैले राम्रो ठाउँमा नियुक्ति र कसैले पार्टीको उपल्लो पद ‘वार्गेनिङ्ग’ गरिरहेका छन् । अहिलेसम्म नीतिगत र सैद्धान्तिक कुरामा कुनै बहस छैन । अनि केको विवाद !
अनि कोरोना त झन् झन् फैलदै छ भन्दै छन् नि !
अब कोरोना पनि हाम्रो जीवन पद्धति बन्छ । किनभने यो कोरोना पनि विस्तारो विस्तारो डेंगु, कालाजार, औलो, एड्स जस्तै बन्छ । सधैं लकडाउन भनेर दुनियाँलाई थुन्न सकिदैन । जीवन पद्धतिमा परिवर्तन गरेर भौतिक दुरी सहित कामममा निस्कनै पर्छ । कि कसो काका !
सोह्रै आना मनासिव भतिज, मनासिव !
लु है काका, म लागे अब ।
जै नेपाल !