सत्ताको फल (कविता)

छन्द-शार्दुलबिक्रीडित

सत्ताको फल पोषिलो छ, रसिला खानेहरू पुष्ट छन्

यस्तो सुन्दर कल्पवृक्षमुनिका मान्छे स्वयं रूष्ट छन्।

पाल्सी काम कुरा गरीकन जुरा ढल्काउने मस्त छन्

च्युँडाबाट तरक्क काढी पसिना खानेहरू त्रस्त छन्।।१

 

पोल्टाको पनि खस्न सक्छ भुइँको टिप्ने हुँदा लोभले

तारा झर्छ प्रताप पुण्य सकिँदा, मान्छे निचा कर्मले।

सत्ता सिर्जन शक्ति हो मुलुकको खाने कुरा होइन

गर्ने साधन हो टिपेर घरमा लाने कुरा होइन।।२

 

माखो मर्दछ टाॅसिएर महमा खाएर पो के भयो!

माछो मर्छ निलेर बल्छि मुखमा आएर पो के भयो!

चोक्टा खान हतारमा छ मनुवा मर्ला डुवी झोलमा

प्यारो जीवन मूल्य, गर्व, गरिमा बेच्यो भने मोलमा।३

 

जाहाॅ काफल पाक्छ सोहि रूखमा आई झुतिन्छन् चरी

तिम्रै हुन् हँसिला परी नगरका प्यारा सुरा–सुन्दरी।

मार्सी चामल छड्किएर भुइँमा पोखिन्छ कि झैँ भयो

छोप्ने चीज चिरा परेर बचरो देखिन्छ कि झैं भयो।।४

Facebook Comments
bannerKaushik
Comments (0)
Add Comment