‘सुनेऊ, बुढा आज विश्व प्रेस स्वतन्त्रता दिवस अरे ।’ आफ्नै तलमा मेरी झुम्री बोल्न थाली ।
लकडाउनको बेला केको विश्व प्रेस स्वतन्त्रता दिवस ! पर्तकारहरु कहिले स्वतन्त्र छैनन् र । मनपरी लेखेकै छन् ! कसैले त केपी ओली बहिरगमन पछिको बाटो भनेरसम्म पनि लेख्या भ्याए । ज्योतिष बनेर लेख्नसम्म लेखेकै छन् । बरु मुवाइलको नेटमा हेरेर भन्त हिजो नेकपाको बैठकमा के भए छ ?
‘तिमीलाई चै खाली राजनीतिकै चासो ! त्यसमा पनि नेकपाको ! ल सुन …..’ भन्दै बाहुनले पुराण भने जस्तै गरी झुम्री भट्याउन थाली :
अभूतपूर्वक एकता, वामदेवको अनुहारमा रौनक, दुवै अध्यक्षको कुर्सी मिलाएर राखियो, प्रचण्ड विजयी मुद्रामा, माधव नेपाल निन्याउरो बन्नु भयो, प्रधानमन्त्री ओली प्रफुल्ल….!
‘लु…..भो बन्द गर यस्ता वकबास ! निर्णय चैं के भो त्यो चैं सुनान ।’ मलाई रिस उठ्यो । अनि कड्केर झुम्रीलाई निर्णय सुनाउन भने ।
विचरा झुम्रीले पनि के सुनाओस् । हाम्रा नेताहर्ले जे गरेको हो त्यही सुनाउँदै छ ।
आत्मा आलोचना गरे अरे । वामदेवलाई उपयुक्त समयमा प्रतिनिधि सभा सदस्य बनाउने निर्णय पनि गरेछन् ।
ए झुम्री पर्खी पर्खी ! आत्मा कुन चै नेताको थियो र आलोचना गरे ! अनि उपयुक्त समय भनेको कुन समय हो ? यो दुईवटा कुरो स्पष्ट पार त ।
कता यस्ता कुरा स्पष्ट पार्नु ! पाङ न पुच्छरका कुरा ! लु…..मुवाइल । आफैं पढ !’
मुवाइल मलाई थमार झुम्री त बाख्राको टाट्नातिर लागि । अब भने म आफैं विभिन्न व्यक्तिका स्टाटस् हेर्न थालें ।
कृष्ण कुमार अर्यालको स्टाटसमा आँखा पुग्यो । लेख्नु भाको रेछ ‘फुसा ख्याये, म फुसा ग्याये’ । अब यो के भनेको हो ! म त नेकपाका नेताहरु जस्तै अरकच्चमा परें । त्यसमै लेखिएको थियो ‘यो नेपाल भाषाको उखान को । आ–आफ्नो दृष्टिकोण र बिचार अनुसार पढ्न र बुझिदिन नम्रता पूर्वक अनुरोध गरें ।
बाहुनको छोरो आफैंलाई नेपाल भाषाको उखानको अर्थ लगाउन आएन होला अनि छोडी दिनु भएछ पढ्नेले नै अर्थ लागोस् भनेर । म पनि कमको छु र ! पल्याट् पल्टाएँ मनको डिक्सनेरी र फुत्त निकाले अर्थ । अर्थ त यस्तो पो र छ – ‘सके तर्साउने नसके तर्सिने’ । सायद नेकपाका नेताहर्लाई भनेका हुनन् । हैन कहाँका मान्छे हुनन् यी कृष्ण भन्ने कुरो त बेमनासिव लागेन है । फुसा ख्याये, म फुसा ग्याये ।
हो त साँची अँधेरी खोलाको घट्ट जति घुमे पनि जहाँ को तँही । हिजोसम्म सानु हैन हावा–हुँण्डरी । आमसञ्चार माध्यमले समेत ज्योतिषलाई सोधेरै लेखे । भविष्यवाणी पनि एकोहोरो शङ्ख फुकेको तालमा प्रधानमन्त्री विरुद्धमा नै थियो । आजदेखि के लेख्दा हुनन् यिनार्ले !
कसैलाई प्रचण्ड प्रधानमन्त्री नबनेकोमा आत्महत्या नै गर्न मुन लाग्ने, कसैलाई वामदेव प्रधानमन्त्री बने भने कानकाटेर बुच्चै हुने सनक चल्ने, कसैलाई माधव नेपाल प्रधानमन्त्री नबन्दा विरक्त लागेर आउने र कसैलाई ओली प्रधानमन्त्री भएकोमा आक्रोस उम्लिएर बान्ता हुने । कतिपय पत्रिका र अनलाइन त ओलीको बिरुद्धमा लेखेर पनि मनग्गे कमाई रहेका छन् । यो बैठक पछि एक दुई दिन त ठूला पर्तकार सरहर्को सातो ठेगानामा नआउला जस्तो पो भयो भन्दैथ्यो हाम्रो हर्के ।
‘लु च्या खाउ’ भन्दै झुम्रीले एक गिलास च्या दिई र छेउमै बसेर चामल केलाउन थाली ।
यो चामल पनि नेकपा जस्तै छ । कनिका उस्तै छ, बियाँ टिपेर सकिदैन, हेर त मल्लिडों पनि छ । कसरी टिपेर सक्ने ।
त्यस्तै हो झुम्री ! एउटै खेतमा फलेको एउटा जात र वर्ग तर गुण र चरित्र भने बेग्लै । छुट्याउन त छुट्याउनै पर्छ नत्र अपच हुन्छ ।
‘के नेकपा होर छुट्याउने ? आ–आफ्नो झोली तुम्वा बोकेर बाटो लाग भन्ने !’
त्यसो भनेको होइन झुम्री ! निफननाफन गरेन भने कसिँगरहरु रहन्छ दुःख दिन्छ भनेको पो त ।
अब के को दुःख ! दश वर्षे महान जनयुद्धले लखेटेर यहाँसम्म ल्याई पु¥यायो । प्रचण्ड कामरेडलाई लालकार्पेट बिछ्याएर सत्ताले लग्यो । घनघोरी विरोधी
ओलीसँग त्वम् शरणम्……! आ छोड यो कुरा । अब अर्को चुनावदेखि देउवाको भाग्य चम्किने भयो ।
त्यस्तो आश नगर चम्किदैन । त्यसबेला पनि हुनचाहिँ ‘फुसा ख्याये, म फुसा ग्याये’ कै नीति लागू हुन्छ ।